काठमाडौं ।
तीन वर्षअघि सेक्वोइयाका साझेदार डेभिड कानले सिलिकन भ्यालीले एआई पूर्वाधारमा गरिरहेको विशाल लगानीको आर्थिक प्रभावको पहिलोपटक हिसाब गर्दै त्यसको मूल्याङ्कन गरेका थिए।
सन् २०२३ मा उनले एनभिडियाको वार्षिक जीपीयू आम्दानी ५० अर्ब डलर पुगेको प्रतिवेदनलाई आधार मानेका थिए। त्यसमा डाटा सेन्टर सञ्चालन खर्च र सञ्चालकहरूको नाफा समेत जोडेर उनले प्रारम्भिक लगानी फिर्ता गर्न कम्तीमा २०० अर्ब डलर आम्दानी आवश्यक पर्ने निष्कर्ष निकालेका थिए।
उनले त्यसलाई चुनौतीका रूपमा प्रस्तुत गर्दै उद्यमीहरूलाई त्यति ठूलो पूर्वाधारको उपयोग गर्ने र त्यसबाट आम्दानी ल्याउने एआई उत्पादन तथा सेवा विकास गर्न आग्रह गरेका थिए। तीन वर्षको तीव्र विस्तारपछि अहिले कानले सन् २०२६ का लागि एआई पूर्वाधारमा हुने लगानीको नयाँ अनुमान १.५ ट्रिलियन डलर रहेको बताएका छन्।
उनका अनुसार चिप र डाटा सेन्टरमा भएको यो सम्पूर्ण लगानी उचित ठहरिन एआई उद्योगले कुल ३ ट्रिलियन डलर आम्दानी गर्नुपर्ने हुन्छ। तर यो अनुमान पनि कम हुन सक्ने उनको भनाइ छ। मेमोरीको बढ्दो लागत र विशेष प्रकारका तथा इन्फरेन्सका लागि बनाइएका चिपहरूको प्रयोग बढ्दै जाँदा आवश्यक आम्दानी अझ बढ्ने उनले उल्लेख गरेका छन्।
उनले लेखेका छन्, “हालै डाटा सेन्टर निर्माण लागत र आपूर्ति अवरोधका कारण पूँजीगत खर्चको प्रत्येक गिगावाटका लागि आवश्यक आम्दानी उल्लेखनीय रूपमा बढेको छ।”
अर्कोतर्फ, एन्थ्रोपिकले वार्षिक आम्दानी एआरआर ६० अर्ब डलर पुगेको अनुमान गरिएको छ। ओपनएआईले सन् २०२५ मा १३ अर्ब डलर आम्दानी गरेको बताइएको थियो, यद्यपि नोभेम्बर २०२५ मा कम्पनीले आफ्नो एआरआर २० अर्ब डलर पुगेको जनाएको थियो। यस वर्ष त्यो अझ बढ्ने अनुमान गरिएको छ। तर आवश्यक ३ ट्रिलियन डलरको तुलनामा यो रकम अझै निकै कम छ।
टेकक्रञ्चका अनुसार यो अन्तरप्रति ध्यान दिइरहेका व्यक्तिमध्ये एक हुन् एसेट म्यानेजमेन्ट कम्पनी अपोलोका प्रमुख अर्थशास्त्री टोरस्टेन स्लोक जसले हालै सार्वजनिक गरेको टिप्पणीमा गुगल, मेटा, माइक्रोसफ्ट र अमेजनजस्ता हाइपरस्केलर कम्पनीहरूले सन् २०२८ सम्म स्वतन्त्र नगद प्रवाहमा ठूलो वृद्धि हुने अपेक्षा गरेको उल्लेख गरेका छन्। अर्थात्, उनीहरू एआई चिपमा गरिएको लगानीबाट प्रतिफल आउने विश्वासमा छन्।
त्यसो भएन भने के हुन्छ?
स्लोकका अनुसार अहिले धेरै संस्था महँगा एआई मोडलभन्दा सस्ता, विशेषगरी चिनियाँ मोडलतर्फ आकर्षित भइरहेका छन्। साथै, एआई टोकनको मूल्य पनि निरन्तर घटिरहेको छ।
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानका अनुसार कम्पनीको पछिल्लो मोडल कोडिङ कार्यमा ५४ प्रतिशत बढी टोकन–दक्ष बनेको छ। यसले एआई एजेन्ट प्रयोग गर्ने ग्राहकको लागत घटाउन मद्दत गर्छ, तर यदि प्रयोगकर्ताको कुल टोकन प्रयोग उल्लेखनीय रूपमा नबढेमा टोकनमा आधारित व्यवसाय गर्ने कम्पनीका लागि यो चुनौतीपूर्ण बन्न सक्छ।
स्लोकले हाइपरस्केलर कम्पनीहरूले अपेक्षित नगद प्रवाह हासिल गर्न नसके त्यसको प्रभाव गम्भीर हुन सक्ने चेतावनी दिएका छन्।
उनले लेखेका छन्, “यति धेरै कुरा सीमित कम्पनीहरूमा निर्भर भएकाले अपेक्षाभन्दा ढिलो प्रतिफल आयो भने त्यो केवल प्रविधि क्षेत्रको समस्या मात्र हुनेछैन, यसले अर्थतन्त्रलाई मन्दीतर्फ धकेल्न र एस एन्ड पी ५०० सूचकांकमा पनि उल्लेखनीय गिरावट ल्याउन सक्छ।”
सस्ता टोकन प्रयोग गर्ने एआई एजेन्टतर्फ प्रयोगकर्ता आकर्षित भइरहेका बेला यो पक्ष पनि ध्यान दिनुपर्ने विषय भएको विश्लेषकहरूको भनाइ छ।
प्रकाशित: २७ असार २०८३, शनिबार