काठमाडौं ।
न्युयोर्क टाइम्स, न्युयोर्क डेली न्युजसहितका समाचार संस्थाहरूले अमेरिकी अदालतमा ओपनएआईविरुद्ध कडा कारबाहीको माग गरेका छन्। उनीहरूले ओपनएआईले एआई प्रशिक्षणका क्रममा आफ्ना लाखौं समाचार सामग्रीको दुरुपयोग गरेको प्रमाण खोज्न सक्ने क्षमताबारे अदालतलाई झुटो जानकारी दिएको आरोप लगाएका छन्।
समाचार संस्थाहरूले बिहीबार म्यानहट्टनको संघीय अदालतमा दायर गरेको निवेदनमा ओपनएआईले आफ्नो ठूलो भाषा मोडेलमा उनीहरूको प्रतिलिपि अधिकारयुक्त सामग्री खोज्न नसकिने दाबी गरेको तर पहिलो समाचार संस्थाले मुद्दा दायर गर्नुअघि नै त्यस्तो खोज गरिसकेको तथ्य लुकाएको उल्लेख गरेका छन्।
उनीहरूले ओपनएआईले च्याटजीपीटीका अर्बौं सम्बन्धित संवादहरू मेटाएको वा खोज्न नसकिने बनाएको पनि आरोप लगाएका छन्। समाचार संस्थाहरूले वकिलको शुल्क असुल गराउनेलगायत कारबाही गर्न र च्याट लगले कम्पनीले उनीहरूको प्रतिलिपि अधिकारयुक्त सामग्री दुरुपयोग गरेको पुष्टि हुने निष्कर्ष निकाल्न अदालतसँग माग गरेका छन्।
ओपनएआईले यसअघि च्याटजीपीटीका संवाद अभिलेख उपलब्ध गराउँदा प्रयोगकर्ताको गोपनीयता उल्लंघन हुन सक्ने तर्क गरेको थियो।
ओपनएआईका प्रवक्ता ड्रु पुसातेरीले समाचार संस्थाहरूको दाबीको जवाफ दिँदै न्युयोर्क टाइम्सको मुद्दा कमजोर बन्दै गएपछि र केही दाबी फिर्ता लिनुपरेपछि यस प्रकरणसँग सम्बन्ध नभएका व्यक्तिहरूको गोपनीयतामा हस्तक्षेप गर्ने प्रयास जारी राखिएको तथा झुटा आरोप लगाइएको बताएका छन्।
न्युयोर्क टाइम्सले गत महिना संशोधित उजुरी दायर गर्दै ओपनएआईविरुद्धको एउटा सहायक प्रतिलिपि अधिकार उल्लंघन सम्बन्धी दाबी फिर्ता लिएको थियो।
रोयटर्सका अनुसार सन् २०२३ मा दायर गरिएको यस मुद्दामा न्युयोर्क टाइम्सले ओपनएआई र यसको प्रमुख लगानीकर्ता माइक्रोसफ्टले अनुमति बिना आफ्ना लाखौं समाचार लेख प्रयोग गरी च्याटजीपीटी सञ्चालन गर्ने ठूलो भाषा मोडेललाई प्रशिक्षण दिएको आरोप लगाएको छ।
लेखक, दृश्य कलाकार र सङ्गीत कम्पनीहरूले पनि ओपनएआई, एन्थ्रोपिक र मेटा प्लेटफर्म्सजस्ता प्रविधि कम्पनीविरुद्ध एआई प्रणालीलाई प्रशिक्षण दिन आफ्ना सामग्रीको दुरुपयोग गरेको आरोप लगाउँदै यस्तै प्रकारका मुद्दा दायर गरेका छन्।
न्युयोर्क टाइम्सका प्रमुख वकिल इयान क्रस्बीले दुई वर्षभन्दा बढी समयदेखि ओपनएआईले न्युयोर्क टाइम्स, न्युयोर्क डेली न्युज, सर्वसाधारण र अदालतलाई झुक्याएको आरोप लगाए।
उनका अनुसार कम्पनीले च्याटजीपीटीका नतिजामा समाचार सामग्री खोज्नु सम्भव छैन, धेरै कठिन छ र प्रयोगकर्ताको गोपनीयतामा असर पर्छ भन्ने दाबी गरे पनि त्यही समयमा त्यस्ता खोजहरू गरिसकेको तथ्य लुकाएको थियो।
न्युयोर्क डेली न्युजका वकिल स्टिभन लिबरम्यानले अदालतसमक्ष दायर गरिएको निवेदनमा च्याटजीपीटी चोरी गरिएका समाचार सामग्रीबाट प्रशिक्षण गरिएको प्रमाण लुकाएको र नष्ट गरेको आरोपमा ओपनएआईलाई सजाय दिन माग गरिएको बताएका छन्।
समाचार संस्थाहरूका अनुसार ओपनएआईले यसअघि अदालतलाई आफ्नो डाटासेट र आउटपुट लगमा प्रतिलिपि अधिकारयुक्त सामग्री खोज्ने उपकरण नभएको बताएको थियो।
प्रकाशित: २७ असार २०८३, शनिबार