मेटा प्लेटफर्म्सले सेप्टेम्बरदेखि एआई चिप उत्पादन सुरु गर्ने

  • Technology Khabar | २७ असार २०८३, शनिबार
मेटा प्लेटफर्म्सले सेप्टेम्बरदेखि एआई चिप उत्पादन सुरु गर्ने

काठमाडौं ।

मेटा प्लेटफर्म्सले आगामी सेप्टेम्बरदेखि कृत्रिम बुद्धिमत्ता (एआई) चिप उत्पादन सुरु गर्ने योजना बनाएको छ। कम्पनीले अर्को वर्ष आफ्नो कुल कम्प्युटिङ क्षमता १४ गिगावाट पुर्‍याउने योजनाअन्तर्गत यो कदम चाल्न लागेको रोयटर्सले प्राप्त गरेको आन्तरिक मेमोमा उल्लेख छ।

डाटा सेन्टरका लागि बनाइएको यो चिपको कोडनेम ‘आइरिस’ राखिएको छ। यो मेटाको ‘मेटा ट्रेनिङ एन्ड इन्फरेन्स एक्सेलेरेटर’ (एमटीआईए) को चार पुस्ते परियोजनाको हिस्सा हो, जसलाई कम्पनीले आफैं डिजाइन गरिरहेको छ। फेसबुक र इन्स्टाग्राम सञ्चालन गर्ने एआईलाई अझ प्रभावकारी बनाउन कम्पनीले आफ्नै चिप प्रयोग गर्ने योजना बनाएको हो।

मेमोका अनुसार चिपको परीक्षण केवल छ हप्तामा सम्पन्न भएको थियो र कुनै ठूलो समस्या फेला परेन। यसले पाँच वर्षभन्दा बढीअघि सुरु भएको मेटाको आफ्नै चिप विकास प्रयासले सकारात्मक गति लिएको संकेत गरेको छ।

मेटाले आफ्नै आवश्यकता अनुसार चिप तयार गरेको हो। यसको डिजाइनमा ब्रोडकमले सहयोग गरिरहेको छ भने उत्पादन ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) ले गर्नेछ। यसबाट कम्पनीले कम्प्युटिङ लागत घटाउनुका साथै एनभिडिया र एड्भान्स्ड माइक्रो डिभाइसेज (एएमडी) जस्ता चिप आपूर्तिकर्तामाथिको निर्भरता कम गर्न सक्ने अपेक्षा गरिएको छ।

रोयटर्सका अनुसार चिपको परीक्षण सफलतापूर्वक सम्पन्न भएको र उत्पादन सुरु हुने समयबारे यसअघि सार्वजनिक जानकारी आएको थिएन। मेटाले यस विषयमा कुनै टिप्पणी गरेको छैन।

मेमोका अनुसार मेटाले यस वर्ष ७ गिगावाट कम्प्युटिङ पूर्वाधार सञ्चालनमा ल्याउने योजना बनाएको छ। यस लक्ष्यका लागि कम्पनीले वर्षको पहिलो आधामा १ गिगावाट क्षमता थपिसकेको छ भने वर्षको अन्त्यसम्म थप ५.५ गिगावाट क्षमता थप्ने अनुमान गरेको छ।

१ गिगावाट विद्युत् करिब ८ लाख घरमा आपूर्ति गर्न पर्याप्त हुने बताइएको छ।

मेमोका अनुसार कम्पनीले अर्को वर्ष क्षमता दोब्बर बनाउँदै सन् २०२७ सम्म कुल १४ गिगावाट पुर्‍याउने योजना बनाएको छ।

कम्पनीले यस वर्ष एआई पूर्वाधारमा अधिकतम १४५ अर्ब अमेरिकी डलरसम्म खर्च गर्ने अपेक्षा गरेको छ। यो रकम ठूला प्रविधि कम्पनीहरूले एआईमा गर्ने अनुमानित ७०० अर्ब डलरभन्दा बढी लगानीको महत्वपूर्ण हिस्सा हो।

कम्प्युटिङ पूर्वाधार विस्तारका लागि मेटाले दीर्घकालीन बहुवर्षीय आपूर्ति सम्झौताहरू पनि गरेको मेमोमा उल्लेख छ। ती सम्झौतामा मेमोरी चिपका लागि सामसुङ इलेक्ट्रोनिक्स, फ्ल्यास स्टोरेजका लागि स्यानडिस्क र फाइबर अप्टिक उपकरणका लागि सुमितोमो इलेक्ट्रिक समावेश छन्।

मेमोरी चिपको अभावका कारण एप्पलजस्ता कम्पनीहरूले मूल्य बढाउन थालेपछि डेटा सेन्टर विस्तारका लागि यस्ता दीर्घकालीन सम्झौताहरू महत्वपूर्ण बनेका छन्। स्यानडिस्कले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ भने सामसुङ इलेक्ट्रोनिक्स र सुमितोमो इलेक्ट्रिकले कुनै प्रतिक्रिया दिएका छैनन्।

प्रविधि कम्पनीहरू एआईका लागि आवश्यक कम्प्युटिङ क्षमता बढाउन डेटा सेन्टर विस्तारमा जुटेकाले मेमोरी र एआई चिपजस्ता उपकरणहरूको माग तीव्र रूपमा बढेको छ।

मोर्गन स्ट्यान्लीका विश्लेषकहरूका अनुसार मेमोरी तथा अन्य चिपको मूल्य तीव्र रूपमा बढेकाले ‘चिपफ्लेसन’ अहिले व्यापक आर्थिक चिन्ताको विषय बनेको छ।

प्रकाशित: २७ असार २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार