सामसङसँग नयाँ कस्टम चिपबारे छलफल गर्दै एन्थ्रोपिक

  • Technology Khabar | २० असार २०८३, शनिबार
सामसङसँग नयाँ कस्टम चिपबारे छलफल गर्दै एन्थ्रोपिक

काठमाडौं ।

गत अप्रिलमा एन्थ्रोपिकले चिप अभावको समस्याको समाधानका लागि आफ्नै एआई चिप विकास गर्ने सम्भावनाबारे विचार गरिरहेको समाचार बाहिर आएको थियो। अब भने कम्पनी यस योजनालाई गम्भीर रूपमा अघि बढाइरहेको देखिएको छ।

बिहीबार द इन्फर्मेशनले एन्थ्रोपिकले निर्माणको तयारीमा रहेको चिपका लागि सम्भावित सहकार्यबारे सामसङसँग छलफल गरिरहेको जनाएको छ। तर उक्त रिपोर्टअनुसार एन्थ्रोपिकले यो चिप केका लागि प्रयोग गर्ने, सर्भरमा यसलाई कसरी समावेश गर्ने वा यसको क्षमता कति हुने भन्नेबारे अझै निर्णय गरिसकेको छैन।

यस विषयमा प्रतिक्रिया माग्दा एन्थ्रोपिकले गुगल, अमेजन र एनभिडियाका चिपहरू समेटिएको विविध हार्डवेयर संरचना आफ्नो कम्प्युट रणनीतिको महत्त्वपूर्ण हिस्सा रहने जनाएको छ। सामसङसँग सम्भावित साझेदारीबारे भने कम्पनीले थप टिप्पणी गर्न अस्वीकार गरेको छ।

रोयटर्सका अनुसार धेरै एआई कम्पनीहरूले विशेष कम्प्युटिङ कार्यका लागि उपयुक्त हार्डवेयर विकास गर्न र चिप उद्योगको निर्विवाद अग्रणी एनभिडियामाथिको निर्भरता केही हदसम्म घटाउन आफ्नै कस्टम चिप विकास गर्ने प्रयास गरिरहेका छन्।

एन्थ्रोपिकको यो कदम गत साता यसको प्रमुख प्रतिस्पर्धी ओपनएआईले ब्रोडकमसँग मिलेर “जालापेनो” नामको आफ्नै कस्टम इन्फरेन्स प्रोसेसर सार्वजनिक गरेपछि आएको प्रतिक्रिया पनि हुनसक्ने बताइएको छ।

ओपनएआईका अनुसार उक्त चिप प्रतिस्पर्धी चिपहरूको तुलनामा प्रति वाट राम्रो प्रदर्शन गर्ने र बढी दक्ष छ। अमेजन र गुगलले पनि आफ्ना क्लाउड सेवामार्फत कस्टम टीपीयू उपलब्ध गराउँदै आएका छन्।

सामसङ पहिले नै एआई उद्योगमा सक्रिय छ र एनभिडियाको प्रमुख साझेदारका रूपमा कम्पनीलाई एआई मोडेल प्रशिक्षण र सञ्चालनका लागि आवश्यक चिप उत्पादन गर्छ। त्यसबापत सामसङले आफ्ना चिप निर्माणमा एनभिडियाको सफ्टवेयर प्रयोग गर्छ।

दुवै कम्पनी दक्षिण कोरियामा एआई चिप कारखाना निर्माणमा पनि सहकार्य गरिरहेका छन्। सामसङले चिप निर्माणसम्बन्धी योजनामा गुगलसँग पनि साझेदारीबारे छलफल गरेको छ।

प्रकाशित: २० असार २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार