काठमाडौं ।
भोडाफोनथ्रीले आफ्नो नेटवर्क स्तरोन्नतिलाई तीव्र बनाउन भिडियोमा आधारित एआई प्रविधि प्रयोग गर्न भाइन्टेलिजेन्ससँग सहकार्य गरेको छ।
बेलायतको टेलिकम कम्पनी भोडाफोनथ्रीले हालै भोडाफोन र थ्रीका कोर तथा रेडियो एक्सेस नेटवर्क (आरएएन) पूर्वाधारको एकीकरण पूरा गरेको छ। अहिले कम्पनीले देशभर १० हजार साइट साझा गरिरहेको छ। गत वर्ष अगस्टमा यो संख्या ६ सयभन्दा केही बढी मात्र थियो भने पहिलो वर्षभित्र ९ हजार साइट एकीकृत गर्ने लक्ष्य राखिएको थियो।
अपेक्षाभन्दा छिटो नेटवर्क एकीकरणमा भाइन्टेलिजेन्सको पनि भूमिका रहेको हुन सक्ने अनुमान गरिएको छ।
भाइन्टेलिजेन्सले ‘एजेन्टिक भिडियो इन्टेलिजेन्स वर्क प्लेटफर्म’ उपलब्ध गराउँछ। यसमा फिल्ड इन्जिनियरले आफूले गरिरहेको कामको भिडियो रेकर्ड गर्दै त्यसको व्याख्या गर्न सक्छन्। त्यसले अन्य इन्जिनियरका लागि मार्गदर्शकको काम गर्छ र लामो कागजी म्यानुअलको आवश्यकता कम गर्न मद्दत पुर्याउँछ।
यो प्लेटफर्मले एआईको प्रयोग गरेर भिडियोको विश्लेषण पनि गर्छ। त्यसक्रममा थप जाँच वा सुधार आवश्यक पर्ने विषय तथा सुरक्षा जोखिमसम्बन्धी सम्भावित समस्या स्वतः पहिचान गर्छ।
टेलिकम्स डटकमका अनुसार यसले म्यानुअल अडिटको आवश्यकता घटाउनुका साथै इन्जिनियरमाथिको प्रशासनिक भार पनि कम गर्छ, जसले उनीहरूलाई अर्को साइटमा छिटो काम गर्न सहयोग पुग्ने कम्पनीले जनाएको छ।
भोडाफोनथ्रीका नेटवर्क विकास तथा पूर्वाधार निर्देशक इयान मिलिगनले यति ठूलो स्तरको नेटवर्क स्तरोन्नतिका लागि विभिन्न साझेदार र फिल्ड टोलीबीच प्रभावकारी सहकार्य आवश्यक पर्ने बताए।
उनले भने, “भाइन्टेलिजेन्ससँगको सहकार्यले इन्जिनियरलाई आफ्नो काम सहज रूपमा रेकर्ड गर्न र साझा गर्न मद्दत गर्नेछ। यसले समय लाग्ने म्यानुअल प्रक्रिया घटाउने, सबै साइटमा समान गुणस्तर कायम राख्ने, कार्यक्षमता र सुरक्षा सुधार्ने तथा नेटवर्क विस्तारलाई अझ छिटो अघि बढाउन सहयोग गर्नेछ।”
भाइन्टेलिजेन्सले यसअघि ग्रामीण फाइबर नेटवर्क विस्तारका क्रममा गिगाक्लियरसँग तथा ओपनरिचसँग पनि काम गरिसकेको छ। ओपनरिचका अनुसार कम्पनीको प्लेटफर्म प्रयोगपछि त्रुटिरहित निर्माणको दर ५८ प्रतिशतबाट करिब ९८ प्रतिशत पुगेको थियो।
भाइन्टेलिजेन्सका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत कपिल सिंघलले बेलायतका सबैभन्दा महत्वाकांक्षी पूर्वाधार परियोजनामध्ये एकमा सहकार्य गर्न पाउँदा गर्व लागेको बताए।
उनले भने, “हामी फिल्डमा हुने गतिविधिको प्रत्यक्ष जानकारी उपलब्ध गराएर भोडाफोनथ्रीलाई बेलायतकै उत्कृष्ट नेटवर्क निर्माण र राष्ट्रिय नेटवर्क निर्माण तथा मर्मतसम्भारका लागि नयाँ विश्वव्यापी मापदण्ड स्थापना गर्न सहयोग गरिरहेका छौं।”
भाइन्टेलिजेन्सले सार्वजनिक गरेको घोषणाअनुसार यो सहकार्य भोडाफोनथ्रीको ५जी नेटवर्क स्तरोन्नतिमा केन्द्रित हुनेछ।
भोडाफोनथ्रीले ११ अर्ब पाउन्डको लगानी योजनाअन्तर्गत सन् २०३० सम्म बेलायतको ९९ प्रतिशत जनसंख्यामा ५जी स्ट्यान्डअलोन (एसए) सेवा उपलब्ध गराउने र सन् २०३४ सम्म यो पहुँच ९९.९६ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ।
यद्यपि यस्ता सहकार्यबारे कम्पनीहरूले प्रायः परियोजनाको केही समयपछि मात्र जानकारी सार्वजनिक गर्ने भएकाले भाइन्टेलिजेन्सको प्रविधिले नेटवर्क एकीकरणलाई अपेक्षाभन्दा छिटो सम्पन्न गर्न कति योगदान दियो भन्ने विषयमा भने औपचारिक पुष्टि भएको छैन।
प्रकाशित: २० असार २०८३, शनिबार