काठमाडौं ।
अमेरिकामा हालै सम्पन्न भएको एडब्लूएस-३ स्पेक्ट्रम लिलाममा सबैभन्दा धेरै खर्च भेरिजोनले गरेको छ। कुल ३.५७ अर्ब डलरको बोलकबोलमध्ये ३.१६ अर्ब डलर भेरिजोन (सेल्को पार्टनरसिपका नाममा) ले मात्रै खर्च गरेको हो।
अमेरिकामा नयाँ र उपयोगी स्पेक्ट्रम दुर्लभ भइरहेका बेला हालैको AWS-3 लिलाममा ठूलो रकम खर्च गर्न भेरिजोन मात्र तयार देखिएको थियो। उसले उपलब्ध २०० लाइसेन्समध्ये ८२ वटा प्राप्त गरेको छ। उच्च मूल्य भएका सहरी क्षेत्रका लाइसेन्समा बढी ध्यान दिएका कारण त्यसले तिरेको रकम पनि धेरै भएको हो।
टेलिकम्स डटकमका अनुसार बाँकी अधिकांश स्पेक्ट्रम टी–मोबाइल र केही हदसम्म एटीएन्डटीले प्राप्त गरेका छन्। स्थलीय मोबाइल सेवामा विस्तार गर्ने योजना देखाइरहेको स्पेसएक्सले भने अपेक्षाकृत निकै कम रकम खर्च गरेको छ। उसले प्राप्त गरेका लाइसेन्स गत नोभेम्बरमा प्राप्त स्पेक्ट्रमलाई पूरक रूपमा प्रयोग गरिने विश्वास गरिएको छ।
“धेरै वर्षपछि एफसीसीको स्पेक्ट्रम लिलाम फेरि सुरु भएको छ,” एफसीसीका अध्यक्ष ब्रेन्डन कारले भने। “यस सफल लिलामबाट प्रतिस्पर्धात्मक बोलकबोलमार्फत अर्बौं डलर उठेको छ, जसले स्पेक्ट्रमलाई प्रभावकारी व्यावसायिक प्रयोगमा ल्याउन र वायरलेस बजारमा प्रतिस्पर्धा बढाउन सहयोग गर्नेछ। अब हामी आगामी वर्ष हुने अपर सी–ब्यान्ड लिलामको तयारीलाई पनि अघि बढाउनेछौं।”
एफसीसीका अनुसार लिलामबाट प्राप्त आम्दानीमध्ये ३.३ अर्ब डलरसम्मको रकम एफसीसीको “रिप एन्ड रिप्लेस” कार्यक्रम तथा वाणिज्य विभागका अन्य कार्यक्रमका लागि लिइएको ऋण तिर्न प्रयोग गरिनेछ।
यस लिलाममा १६९५–१७१० मेगाहर्ज, १७५५–१७८० मेगाहर्ज र २१५५–२१८० मेगाहर्ज ब्यान्डका २०० वटा स्पेक्ट्रम लाइसेन्स उपलब्ध गराइएको थियो। यी लाइसेन्स २०१४ को लिलाममा बोलकबोल रद्द वा फिर्ता भएकाले त्यसयता प्रयोगविहीन रहेका थिए।
नयाँ स्पेक्ट्रम खरिदमा गरेको ठूलो लगानीबारे भेरिजोनले सार्वजनिक रूपमा कुनै टिप्पणी गरेको छैन। तर यसबाट कम्पनीको प्रतिस्पर्धात्मक क्षमता अझ बलियो हुने अपेक्षा गरिएको छ।
अर्कोतर्फ प्रतिस्पर्धी कम्पनीहरू आफ्नो हालको स्पेक्ट्रम अवस्थाबाट सन्तुष्ट भएकाले भेरिजोनले खर्च गरेको अर्बौं डलर अन्य क्षेत्रमा प्रयोग गर्न उपयुक्त ठानेका हुन सक्ने विश्लेषण गरिएको छ। पाँच वर्षअघि स्पेक्ट्रममा खर्च गरिएको ५३ अर्ब डलर पनि पर्याप्त नभएको देखिएको छ।
प्रकाशित: १६ असार २०८३, मंगलवार