विद्युतीय गाडीबाट धेरैभन्दा धेरै रेञ्ज कसरी पाउने? अपनाउनुहोस् यी तरिका

  • Technology Khabar | १६ असार २०८३, मंगलवार
विद्युतीय गाडीबाट धेरैभन्दा धेरै रेञ्ज कसरी पाउने? अपनाउनुहोस् यी तरिका
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

विद्युतीय गाडीहरुले ब्याट्री क्षमतालगायतका प्राविधिक पक्षका आधारमा विभिन्न रेञ्ज प्रदान गर्ने गर्छन्। तर कम्पनीहरुले दावी गरेको रेञ्ज भने लगभग उपलब्ध हुने गर्दैन। यसको पछाडि हामीले आफ्ना ईभीलाई चलाउने तरिका नै कारक हुन सक्छ।

यस हिसाबले विद्युतीय गाडी एकपटक चार्ज गर्दा अझ धेरै दूरी तय गर्न केही सामान्य उपाय अपनाउन सकिन्छ। आधुनिक ईभीको रेन्ज पहिलेको तुलनामा निकै बढे पनि लामो यात्रा वा चार्जिङ स्टेशन कम भएका क्षेत्रमा यात्रा गर्दा यी उपाय उपयोगी हुन सक्ने इन्ग्याजेटले उल्लेख गरेको छ।

रिजेनेरेटिभ ब्रेकिङ

पहिलो उपाय भनेको रिजेनेरेटिभ ब्रेकिङको प्रयोग गर्नु हो। सामान्य पेट्रोल वा डिजेल गाडीमा ब्रेक लगाउँदा ऊर्जा खेर जान्छ। तर ईभीमा ब्रेक लगाउँदा उत्पन्न हुने ऊर्जालाई फेरि विद्युतमा रूपान्तरण गरेर ब्याट्रीमा सञ्चित गर्न सकिन्छ। अमेरिकी ऊर्जा विभागका अनुसार यस प्रविधिबाट सहर र राजमार्गको मिश्रित यात्रामा करिब २२ प्रतिशतसम्म ऊर्जा पुनः प्राप्त गर्न सकिन्छ।

एयर कन्डिसनर (एसी) को प्रयोग कम गर्ने

दोस्रो उपाय एयर कन्डिसनर (एसी) को प्रयोग कम गर्नु हो। ईभीमा एसी चलाउँदा ब्याट्रीकै ऊर्जा प्रयोग हुने भएकाले रेन्ज घट्न सक्छ। घरमा चार्ज गरिरहेको अवस्थामा गाडीको तापक्रम पहिले नै मिलाउने, सनसेड प्रयोग गर्ने, झ्याल खोलेर तातो हावा बाहिर निकाल्ने वा भेन्टिलेटेड सिट प्रयोग गर्ने उपायले ब्याट्रीको बचत गर्न सकिन्छ।

अत्यधिक चिसो मौसममा सम्भव भएसम्म यात्रा नगर्नु

तेस्रो उपाय अत्यधिक चिसो मौसममा सम्भव भएसम्म यात्रा नगर्नु हो। चिसो तापक्रमले ब्याट्रीभित्र हुने रासायनिक प्रक्रिया सुस्त बनाउने भएकाले रेन्ज घट्छ। अमेरिकी ऊर्जा विभागका अनुसार अत्यधिक चिसोमा ईभीको रेन्ज ३२ प्रतिशतसम्म घट्न सक्छ।

इन्ग्याजेटका अनुसार कन्ज्युमर रिपोर्ट्सको परीक्षणले पनि करिब १६ डिग्री तापक्रममा चलाउँदा सामान्य मौसमको तुलनामा करिब २५ प्रतिशत रेन्ज कम भएको देखाएको छ।

गाडीमा अनावश्यक सामान नराख्ने

चौथो उपाय गाडीमा अनावश्यक सामान नराख्नु हो। छतमा राखिने र्याक, बाइक क्यारियर, क्रसबारजस्ता उपकरणले हावाको प्रतिरोध बढाउँछन्, जसले ऊर्जा बढी खर्च हुन्छ। बुटमा अनावश्यक तौल राख्दा पनि गाडीको दक्षता घट्ने भएकाले सकेसम्म हल्का राख्नु हुँदैन।

उच्च गतिमा गाडी नचलाउने

पाँचौं उपाय उच्च गतिमा गाडी नचलाउनु हो। तीव्र गतिमा एक्सेलेटर थिच्दा ब्याट्रीबाट धेरै ऊर्जा खर्च हुन्छ। इको मोड वा क्रुज कन्ट्रोल प्रयोग गरेर स्थिर गतिमा यात्रा गर्दा रेन्ज बढाउन सकिन्छ।

कार एन्ड ड्राइभरको परीक्षणअनुसार किआ ईभी९ लाई ५५ माइल प्रतिघण्टा र ७५ माइल प्रतिघण्टाको गतिमा चलाउँदा रेन्जमा १०० माइलभन्दा बढीको अन्तर देखिएको थियो।

 

प्रकाशित: १६ असार २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार