काठमाडौं ।
स्पेनले विद्युत् आपूर्ति अवरुद्ध हुँदा पनि मोबाइल नेटवर्क सञ्चालनमा रहने व्यवस्था अनिवार्य बनाउने भएको छ। सन् २०२६ को अन्त्यसम्म स्वीकृत हुने शाही आदेश (रोयल डिक्री) अनुसार मोबाइल नेटवर्क अपरेटर (एमएनओ) र पूर्वाधार कम्पनीहरूले ब्ल्याकआउटको अवस्थामा कम्तीमा चार घण्टासम्म सेवा सञ्चालनमा राख्न ब्याट्री वा अन्य ब्याकअप प्रणाली जडान गर्नुपर्नेछ।
इन्ग्याजेटका अनुसार यो नियम कम्तीमा पाँच लाख प्रयोगकर्तालाई सेवा दिने वा वार्षिक ५ करोड यूरो (करिब ५ करोड ६९ लाख अमेरिकी डलर) भन्दा बढी आम्दानी गर्ने कम्पनीहरूमा लागू हुनेछ।
आदेशअनुसार पहिलो वर्ष देशको आधा जनसंख्यालाई यस्तो ब्याकअप सेवाले समेट्नुपर्नेछ। दोस्रो वर्षमा यो दायरा ६५ प्रतिशत र तेस्रो वर्षमा ७५ प्रतिशत जनसंख्यासम्म विस्तार गर्नुपर्नेछ।
गत वर्ष स्पेनसँगै पोर्चुगल र फ्रान्सका केही भागमा असर पारेको ठूलो विद्युत् अवरोधजस्ता घटनाको प्रभाव कम गर्न स्पेनले यस्तो कदम चाल्न लागेको हो। विद्युत् आपूर्ति बन्द हुँदा पनि कम्तीमा केही समय मोबाइल सेवा सञ्चालनमा राख्ने व्यवस्था उपयोगी मानिएको छ।
यद्यपि भविष्यमा मोबाइल नेटवर्कमा प्रत्यक्ष फोनसँग जडान हुन सक्ने उपग्रह प्रविधि समावेश हुँदै जाँदा यसको आवश्यकता केही कम हुन सक्ने अनुमान गरिएको छ।
उक्त आदेशले अन्य महत्वपूर्ण पूर्वाधारलाई पनि विद्युत् अवरोधपछि निश्चित समयसम्म सञ्चालनमा राख्नुपर्ने व्यवस्था गर्नेछ। उदाहरणका लागि, देशव्यापी असर पार्न सक्ने नियन्त्रण केन्द्रहरू कम्तीमा २४ घण्टासम्म सञ्चालनमा रहनुपर्नेछ। साथै, आपत्कालीन कल केन्द्रहरूले पनि सेवा निरन्तरता कायम राख्ने योजना तयार गर्नुपर्नेछ।
प्रकाशित: १३ असार २०८३, शनिबार