सुरक्षा चिन्तापछि ओपनएआईलाई नयाँ मोडेलको सार्वजनिक रिलिज ढिला गर्न ह्वाइट हाउसको आग्रह

  • Technology Khabar | १३ असार २०८३, शनिबार
सुरक्षा चिन्तापछि ओपनएआईलाई नयाँ मोडेलको सार्वजनिक रिलिज ढिला गर्न ह्वाइट हाउसको आग्रह

काठमाडौं ।

ओपनएआईको नयाँ एआई मोडेल जीपीटी ५.६ को सार्वजनिक रिलिज अघिल्ला संस्करणजस्तो नहुन सक्ने बताइएको छ।

द इन्फर्मेशनको रिपोर्टअनुसार ओपनएआईले यो मोडेल सर्वसाधारणका लागि तत्काल उपलब्ध नगराई सीमित साझेदारहरूलाई मात्र दिने योजना बनाएको छ, जसका पछाडि ह्वाइट हाउसको आग्रह रहेको बताइएको छ।

यस साता भएको एक बैठकमा ओपनएआईका प्रमुख साम अल्टम्यानले कर्मचारीहरूलाई पूर्वावलोकन अवधिमा सरकारले “ग्राहक–ग्राहक आधारमा पहुँच स्वीकृत गर्ने” जानकारी दिएको प्रतिवेदनमा उल्लेख छ। सीमित परीक्षण सफल भएमा केही सातापछि मोडेललाई व्यापक रूपमा सार्वजनिक गर्ने आशा कम्पनीको रहेको बताइएको छ।

यसको अर्थ, ट्रम्प प्रशासनले ओपनएआईलाई त्यही प्रकारको सावधानी अपनाउन दबाब दिएको देखिन्छ, जुन एन्थ्रोपिकले आफ्ना सबैभन्दा शक्तिशाली एआई मोडेलहरूमा स्वेच्छाले अपनाउँदै आएको छ।

प्रतिवेदनअनुसार नयाँ मोडेलको समीक्षा प्रशासनले मात्र गरिरहेको छैन, ओपनएआईका कर्मचारीहरूले पनि आगामी रिलिजका लागि सरकारी निकायहरूसँग नजिकबाट काम गरेका छन्। सीमित रिलिजको सुझाव दिने निकायमा राष्ट्रिय साइबर निर्देशकको कार्यालय र विज्ञान तथा प्रविधि नीति कार्यालय रहेको बताइएको छ।

टेकक्रञ्चका अनुसार सुरुआतमा एआई क्षेत्रमा न्यून हस्तक्षेपको नीति लिएको बताउने ट्रम्प प्रशासनले पछिल्ला महिनाहरूमा नयाँ एआई मोडेलमाथि संघीय निगरानी बढाउने प्रयास गरिरहेको छ।

यसै महिनाको सुरुआतमा डोनाल्ड ट्रम्पले केही एआई कम्पनीहरूलाई नयाँ मोडेल सार्वजनिक गर्नुअघि स्वेच्छाले सरकारी परीक्षण तथा मूल्याङ्कनका लागि पेश गर्न निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

यस वर्षको सुरुआतमा एन्थ्रोपिकले आफ्नो नयाँ साइबर मोडेल क्लोड माइथोज सीमित साझेदारहरूलाई मात्र “प्रोजेक्ट ग्लासविङ” कार्यक्रममार्फत उपलब्ध गराउने घोषणा गर्दा व्यापक बहस भएको थियो।

कम्पनीले उक्त मोडेल अत्यन्त शक्तिशाली भएकाले गलत हातमा परे हानिकारक हुन सक्ने तर्क गरेको थियो। त्यसपछि एन्थ्रोपिकको यो दाबी वास्तविक सुरक्षा चिन्तासँग सम्बन्धित हो वा केवल प्रचार रणनीति हो भन्ने विषयमा बहस चलिरहेको छ।

साइबर अपराधीहरूले लामो समयदेखि स्वचालित उपकरण प्रयोग गर्दै आएका भए पनि जेनेरेटिभ एआईको युगमा उनीहरूसँग पहिलेभन्दा धेरै डिजिटल क्षमता पुगेको छ। ठूला भाषा मोडेलहरूले मालवेयर लेख्न सक्ने क्षमता प्रदर्शन गरिसकेका छन् भने केही मोडेलहरूले स्वतः रूपमा र्यान्समवेयर आक्रमण सञ्चालन गर्न सक्ने क्षमता समेत देखाएका छन्।

मिथोसजस्ता उन्नत साइबर मोडेलबारे मुख्य चिन्ता भनेको तिनीहरूले सफ्टवेयरका कमजोरीहरू पत्ता लगाउन र तिनको दुरुपयोग गर्न मानव विश्लेषकभन्दा धेरै छिटो काम गर्न सक्ने सम्भावना हो।

धेरै सफ्टवेयर प्रणालीमा लुकेका त्रुटिहरू हुने भएकाले ती कमजोरीमार्फत संस्थागत नेटवर्कमा प्रवेश गर्न सकिन्छ। यद्यपि यस्ता मोडेलहरू सर्वसाधारणका लागि खुला नभएकाले तिनीहरू वास्तवमा कति ठूलो खतरा हुन् भन्ने कुरा स्वतन्त्र रूपमा पुष्टि गर्न कठिन रहेको छ।

प्रकाशित: १३ असार २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...