काठमाडौं ।
डिशहोम डिजिटल प्रालिअन्तर्गत सञ्चालित डिजीओ ओटीटी नेपालकै पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने ओटीटी प्लेटफर्म बनेको छ।
कम्पनीले आज एक विज्ञप्ति प्रकाशित गरी यो उपलब्धिले नेपालको डिजिटल मनोरञ्जन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त बनाउने र डिजीओको विश्वव्यापी डिजिटल उपस्थिति मजबुत बनाउने अपेक्षा गरिएको छ।
डिजीले चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, प्रत्यक्ष प्रसारण, खेलकुद, वृत्तचित्र तथा बाल सामग्रीलगायत विविध डिजिटल मनोरञ्जन सामग्री सुरक्षित र आधिकारिक माध्यमबाट दर्शकमाझ उपलब्ध गराउँदै आएको विज्ञप्तिमा उल्लेख छ।
डिजोसँग रहेको आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकारले अन्तर्राष्ट्रिय मापदण्डअनुसार डिजिटल सामग्री वितरण गर्ने कम्पनीको क्षमता, विश्वसनीयता र दीर्घकालीन प्रतिबद्धतालाई थप पुष्टि गरेको कम्पनीको दाबी छ। यसले नेपाली ओटीटी प्लेटफर्मलाई विश्वव्यापी डिजिटल मनोरञ्जन बजारसँग जोड्न महत्वपूर्ण आधार तयार गरेको पनि कम्पनीले जनाएको छ।
यसैक्रममा डिशहोम डिजिटलले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागबाट प्रचलित राष्ट्रिय प्रसारण नियमावलीबमोजिम ओटीटी प्रसारण सेवासम्बन्धी आवश्यक प्रसारण इजाजतसमेत प्राप्त गरेको जनाएको छ।
उक्त इजाजतले कम्पनीले नेपालको कानुनी तथा नियामकीय व्यवस्थाअनुसार आधिकारिक रूपमा ओटीटी सेवा सञ्चालन गरिरहेको तथ्यलाई थप पुष्टि गरेको कम्पनीको बुझाई छ।
यो उपलब्धिले डिशहोम डिजिटललाई अन्तर्राष्ट्रिय डिजिटल सामग्री वितरण क्षेत्रमा सक्षम र विश्वसनीय संस्थाका रूपमा स्थापित गर्नुका साथै डिजोलाई चलचित्र, सिरिज, प्रत्यक्ष प्रसारण, खेलकुद तथा अन्य मनोरञ्जन सामग्री उपलब्ध गराउने अग्रणी नेपाली ओटीटी प्लेटफर्मका रूपमा विकास गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ।
डिशहोम डिजिटलले आगामी दिनमा अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रयोगकर्ता अनुभव, आधिकारिक डिजिटल सामग्री तथा अन्तर्राष्ट्रिय साझेदारीमार्फत दर्शकलाई विश्वस्तरीय मनोरञ्जन सेवा प्रदान गर्दै डिजोलाई प्रतिस्पर्धी नेपाली डिजिटल स्ट्रिमिङ प्लेटफर्मका रूपमा थप विकास गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।
प्रकाशित: ९ असार २०८३, मंगलवार