सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न विज्ञापन बोर्डको चेतावनी

  • Technology Khabar | ९ असार २०८३, मंगलवार
सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न विज्ञापन बोर्डको चेतावनी

काठमाडौं ।

विज्ञापन बोर्डले सामाजिक सञ्जालमार्फत औषधिजन्य पदार्थ तथा सामग्रीहरूको भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न सम्बन्धित सबै पक्षलाई सचेत गराएको छ।

बोर्डले हालै एक सूचना जारी गर्दै फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, टिकटक र युट्युबलगायत सामाजिक सञ्जालमा प्रचलित कानुनले निषेध गरेका, आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ र सामग्रीहरूको विज्ञापन भइरहेको तथा त्यसबाट आम नागरिक भ्रमित हुने, ठगीमा पर्न सक्ने र जनस्वास्थ्यमा असर पर्ने गुनासो प्राप्त भएको जनाएको छ।

सूचनाअनुसार विशेषगरी कपाल उम्रने, कपाल लामो वा बाक्लो बनाउने, हड्डी तथा नसासम्बन्धी पीडा कम गर्ने, शरीरको बोसो घटाउने, मृगौला सफा गर्ने तथा शरीरका विषाक्त पदार्थ हटाउने दावी गरिएका औषधिजन्य सामग्रीहरूको आधारहीन र भ्रामक विज्ञापन सामाजिक सञ्जालमा बढ्दो रूपमा देखिएको छ।

विज्ञापन बोर्डले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ तथा अन्य प्रचलित कानुनविपरीत कुनै पनि विज्ञापन प्रकाशन वा प्रसारण नगर्न/नगराउन सम्बन्धित सबैलाई निर्देशन दिएको छ।

बोर्डले भ्रम वा अफवाह फैलाउने, आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका र चिकित्सकको सिफारिसमा मात्र बिक्री–वितरण गरिने औषधिको भ्रामक विज्ञापन प्रकाशन वा प्रसारण भएको पाइएमा तत्काल उजुरी गर्न पनि आग्रह गरेको छ।

यस्ता विज्ञापन तत्काल हटाउन तथा भविष्यमा पुनः त्यस्ता कार्य नगर्न/नगराउन सम्बन्धित पक्षलाई अनुरोध गर्दै बोर्डले उल्लंघन भए विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा २५ बमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

प्रकाशित: ९ असार २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×