अब अनलाइन रेडियो चलाउन इजाजत लिनुपर्ने, आईपीटीभी सेवा पनि लाइसेन्सको दायरामा

  • Technology Khabar | ३ असार २०८३, बुधबार
अब अनलाइन रेडियो चलाउन इजाजत लिनुपर्ने, आईपीटीभी सेवा पनि लाइसेन्सको दायरामा
सांकेतिक तस्बिर। म्याग्निफिक डटकमबाट।

काठमाडौं ।

अबदेखि अनलाइन रेडियो चलाउन पनि इजाजत लिनुपर्ने भएको छ। यसबाहेक अनलाइनमार्फत् विदेशी कार्यक्रमको प्रसारण अधिकार (फ्रेन्चाइज) वा प्रत्यक्ष प्रसारणको स्वीकृति तथा सशुल्क च्यानलको सिग्नल वितरणका लागि आईपीटीभी सञ्चालकहरुले समेत इजाजत लिनुपर्ने व्यवस्था गरिएको छ।

सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा तेह्रौं संशोधन गर्दै अनलाइनमार्फत् विदेशी कार्यक्रमको प्रसारण अधिकार (फ्रेन्चाइज) वा प्रत्यक्ष प्रसारणको स्वीकृतिका लागि ५ हजार रुपैयाँ तथा सशुल्क च्यानलको सिग्नल वितरणका लागि प्रति च्यानल ५० हजार रुपैयाँ तिरेर लाइसेन्स लिनुपर्ने प्रावधान राखेको हो।

राजपत्रमा प्रकाशित यो संशोधनमा मुख्यरूपमा डाउनलिङ्क, सिग्नल वितरण, ओटीटी प्लेटफर्म र इन्टरनेट प्रोटोकल अर्थात् आईपीटीभीसम्बन्धी अनुमति तथा शुल्क स्पष्ट पारिएको छ।

यसअघि एफएम रेडियो सञ्चालकहरु र कुनै कुनै स्वतन्त्र प्रसारकले आफ्ना वेबसाइटका माध्यमबाट यस्ता रेडियो प्रसारण गर्दै आएका थिए जसका लागि कुनै छुट्टै अनुमति वा दस्तुरको व्यवस्था थिएन।

अनलाइन रेडियो के हो?

अनलाइन रेडियो भनेको इन्टरनेटमार्फत प्रसारण हुने रेडियो सेवा हो। यसलाई वेब रेडियो, इन्टरनेट रेडियो वा डिजिटल रेडियो पनि भनिन्छ।

परम्परागत एफएम रेडियोमा रेडियो स्टेशनले एफएङ्ग फ्रिक्वेन्सी प्रयोग गर्छ र श्रोतालाई रेडियो सेट चाहिन्छ। तर अनलाइन रेडियोमा भने अडियो इन्टरनेटमार्फत स्ट्रिमिङ हुन्छ। यो मोबाइल एप, वेबसाइट वा स्मार्ट स्पिकरबाट सुन्न सकिन्छ। कुनै एफएम वा एएम फ्रिक्वेन्सी आवश्यक पर्दैन।

उदाहरणका लागि बीबीसी नेपाली सेवा एएम, एफएम आदिका माध्यमबाट रेडियो सेटमार्फत् सुनेमा त्यो रेडियो हुन्छ भने त्यही सामग्री बीबीसी डटकमले आफ्नो वेबसाइटमा राखेर प्रसारण गरे अनलाइन रेडियो हुन जान्छ जसलाई इन्टरनेटमार्फत् सुन्न सकिन्छ।

आईपीटीभी केहो?

आईपीटीभी भनेको इन्टरनेट प्रोटोकल प्रयोग गरेर टेलिभिजन सेवा वितरण गर्ने प्रणाली हो, तर यो सामान्यतया कुनै निश्चित इन्टरनेट सेवा प्रदायक (आईएसपी) को आफ्नै नेटवर्कभित्र सञ्चालन हुन्छ। उदाहरणका लागि नेपाल टेलिकमको एनटीटीभी, सुबिसुको क्लियरटीभी, भायनेटको भायटीभी तथा वरर्ललिङ्कले वितरण गर्ने नेटटीभी।

ओटीटी के हो?

ओटीटी (ओभर द टप) भनेको कुनै पनि इन्टरनेट जडानमाथि चल्ने भिडियो/टिभी सेवा हो। यसलाई आईएसपीको आफ्नै नेटवर्क आवश्यक पर्दैन। जुनसुकै इन्टरनेट कनेक्शन भए पनि हुन्छ। उदाहरणका लागि नेटफ्लिक्स, प्राइम भिडियो तथा डिज्नी आदि।

यसअघि आईपीटीभी सञ्चालकहरुले विभिन्न माध्यमबाट सिग्नल डाउनलिङ्क गरेर प्रसारण गर्दै आएका थिए जसका बारे केबल टेलिभिजन सञ्चालकहरुले बेलाबखत प्रश्न उठाउँदै आएका थिए। एउटै कामका लागि केबल टेलिभिजनहरुले मोटो रकम धरौटी राखेर लाइसेन्स लिनुपर्ने तर आईपीटीभी सञ्चालकहरुले भने आईएसपीकै लाइसेन्सका आधारमा लगभग उस्तै शुल्क लिएर टेलिभिजन च्यानलहरु ग्राहकलाई बिक्री गर्दै आएका थिए।

यसअघि विदेशी कार्यक्रमहरु विनास्विकृति आफूखुशी सम्झौता गरेर प्रसारण हुँदै आएका थिए भने अनलाइनमार्फत् रेडियो सञ्चालन गर्न पनि राज्यबाट कुनै किसिमको इजाजत आवश्यक थिएन।

प्रकाशित: ३ असार २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार