
काठमाडौं ।
अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले वास्तविक साइबर आक्रमणको अभ्यास र अनुसन्धानका लागि अलाबामाको हन्ट्सभिलस्थित आफ्नो क्याम्पसमा सानो सहरको प्रतिरूप निर्माण गरेको खुलासा गरेको छ।
२२ हजार वर्गफुट क्षेत्रफलमा फैलिएको यो संरचनालाई ‘काइनेटिक साइबर रेञ्ज’ नाम दिइएको छ। यसलाई कानून कार्यान्वयन निकायका अधिकारीहरूलाई कक्षाकोठाबाहिर सुरक्षित वातावरणमा व्यावहारिक साइबर सुरक्षा तालिम दिन निर्माण गरिएको हो।
एफबीआईका अनुसार यस केन्द्रमा पूर्ण रूपमा सुसज्जित घरहरू, होटल, पेट्रोल पम्प, किराना पसल, अदालत, अस्पताल तथा विद्युत् कम्पनीका संरचना निर्माण गरिएका छन्। सडक र ट्राफिक बत्तीसमेत रहेको यो क्षेत्रलाई वास्तविक अमेरिकी समुदायजस्तै बनाइएको छ।
फेब्रुअरी २०२५ मा सञ्चालनमा आएको यो केन्द्रमा हालसम्म एफबीआई कर्मचारी तथा अन्य संघीय र स्थानीय निकायका साझेदारसहित १,४०० भन्दा बढी प्रशिक्षार्थीले तालिम लिइसकेका छन्।
सहरका सबै संरचनामा वास्तविक समुदाय वा व्यवसायमा प्रयोग हुने उपकरण तथा प्रणाली जडान गरिएका छन्। ती प्रणालीहरूले वास्तविक वातावरणझैँ काम गर्छन्, तर अभ्यासका क्रममा गरिने साइबर आक्रमणहरू बाहिरी नेटवर्कमा फैलिन नदिने व्यवस्था गरिएको छ।
यस केन्द्रमा २०० भन्दा बढी भौतिक सर्भर रहेको डेटा सेन्टर पनि छ, जसमा केही सर्भरले विण्डोज र केहीले लिनक्स सञ्चालन प्रणाली प्रयोग गर्छन्। FBI का अनुसार यसले अनुसन्धानकर्ताहरूलाई साइबर आक्रमणपछि सामना गर्नुपर्ने वास्तविक कर्पोरेट वातावरणको अनुभव दिलाउँछ।
काइनेटिक साइबर रेञ्जमा र्यान्समवेयर आक्रमण र त्यसका वास्तविक प्रभावहरूको पनि अभ्यास गराइन्छ। उदाहरणका लागि अस्पतालका प्रणाली बन्द हुँदा उत्पन्न हुन सक्ने जोखिम तथा त्यस्तो अवस्थामा अनुसन्धानकर्ताले लिनुपर्ने निर्णयहरूको अनुकरण गर्न सकिन्छ।
यस केन्द्रले अमेरिकी अनुसन्धानकर्ताहरूलाई डिजिटल फरेन्सिकसम्बन्धी तालिम पनि प्रदान गर्छ। डिजिटल फरेन्सिकका माध्यमबाट अनुसन्धानकर्ताहरूले इन्क्रिप्टेड उपकरणहरूको सुरक्षा प्रणाली पार गरेर अनुसन्धानका लागि आवश्यक डेटा निकाल्ने अभ्यास गर्छन्।
यस्ता उपकरणहरू भने विवादास्पद मानिन्छन्, किनकि तिनले प्रायः सार्वजनिक नगरिएका सफ्टवेयर कमजोरीहरूको प्रयोग गरेर सुरक्षा प्रणालीलाई बाइपास गर्छन्। ती कमजोरीहरू एप्पल जा गुगलजस्ता उपकरण निर्माता कम्पनीहरूलाई जानकारी नगराइने भएकाले प्रयोगकर्ताको सुरक्षासम्बन्धी बहस पनि हुने गरेको छ।
एफबीआईको सन् २०२५ को इन्टरनेट अपराध प्रतिवेदनअनुसार अमेरिकामा साइबर अपराधबाट भएको क्षति २०.९ अर्ब डलर पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २६ प्रतिशत बढी हो।
एक करोडभन्दा बढी उजुरीको विश्लेषणमा आधारित उक्त प्रतिवेदनले र्यान्समवेयरलाई महत्वपूर्ण पूर्वाधारमाथिको सबैभन्दा ठूलो साइबर जोखिमका रूपमा उल्लेख गरेको छ।
प्रकाशित: ३१ जेष्ठ २०८३, आईतवार