
काठमाडौं ।
एआई चिप निर्माता एनभिडियाले चिनियाँ ग्राहकहरूलाई आफ्नो नयाँ ‘भेरा’ सेन्ट्रल प्रोसेसिङ युनिट (सीपीयू) अगस्टदेखि उपलब्ध हुन सक्ने जानकारी दिँदै अर्डर लिन सुरु गरेको तीन स्रोतले बताएका छन्।
यस कदमले विश्वकै सबैभन्दा मूल्यवान कम्पनीमध्ये एक एनभिडियाले चीनमा घट्दो व्यापार पुनर्जीवित गर्न नयाँ उत्पादनमा तीव्र रूपमा ध्यान केन्द्रित गरिरहेको देखाउँछ। कम्पनीको दोस्रो सबैभन्दा शक्तिशाली एआई चिप एच२०० को चीनतर्फको आपूर्ति महिनौँदेखि रोकिएको छ।
एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले गत अक्टोबरमा अमेरिकी निर्यात नियन्त्रण र चीनको प्रविधिमा आत्मनिर्भरता बढाउने नीतिका कारण चीनमा कम्पनीको बजार हिस्सा लगभग शून्यमा झरेको बताएका थिए।
भेराको आगमनसँगै एनभिडिया अब सीपीयू बजारमा पनि इन्टेल र एएमडी सँग प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएको छ। यी दुवै कम्पनी एआई डाटा सेन्टरका लागि सर्भर सीपीयूको आपूर्ति बढाउन प्रतिस्पर्धामा छन्।
स्रोतहरूका अनुसार केही चिनियाँ ग्राहकहरूले भेरा चिपप्रति चासो देखाएका छन्। भेरा एनभिडियाको पहिलो स्वतन्त्र सीपीयू हो, जसलाई ‘एजेण्टिक एआई’ अर्थात् स्वचालित रूपमा कार्य गर्ने एआई प्रणालीका लागि डिजाइन गरिएको हो।
रोयटर्सका अनुसार पूर्ण उत्पादनमा प्रवेश गरिसकेको भेरा चिप एआई एजेन्टहरूले प्रयोग गर्ने पृष्ठभूमि कम्प्युटिङ कार्यका लागि बनाइएको हो। एनभिडियाले यसले प्रतिस्पर्धी कम्पनीका समान प्रोसेसरको तुलनामा १.८ गुणासम्म छिटो काम गर्ने दावी गरेको छ।
मार्चमा भेरा सार्वजनिक गर्दै हुआङले यसलाई कम्पनीको अर्को बहु-अर्ब डलरको व्यवसाय बन्ने अपेक्षा व्यक्त गरेका थिए। त्यतिबेला एनभिडियाले अलिबाबा ग्रुप र बाइटडान्स लगायतका प्रमुख क्लाउड कम्पनीहरू भेरा तैनाथ गर्न सहकार्य गरिरहेको जनाएको थियो, तर अर्डर प्रक्रिया सुरु भएकोबारे भने खुलाएको थिएन।
स्रोतका अनुसार एक प्रमुख चिनियाँ क्लाउड कम्पनीले दुईवटा भेरा सीपीयू जडित ३०० भन्दा बढी सर्भर अर्डर गर्ने योजना बनाएको छ। ती प्रणालीहरू सुरुमा परीक्षणका लागि प्रयोग गरिनेछन् र त्यसको नतिजाका आधारमा थप अर्डर गर्ने वा नगर्ने निर्णय गरिनेछ।
प्रारम्भिक चासो ठूलो स्तरको प्रयोगमा रूपान्तरण हुन्छ कि हुँदैन भन्ने चाहिँ अझै स्पष्ट छैन। सफ्टवेयर प्रणाली, अनुकूलता र स्वदेशी एआई चिपमा आधारित कार्यभार स्थानान्तरणका चुनौतीहरू यसका प्रमुख कारण हुन सक्छन्।
अनुसन्धान संस्था सेमिअनालाइसिसका अनुसार एउटा भेरा प्रोसेसरको मूल्य थोक छुटअघिको अवस्थामा २० हजार अमेरिकी डलरभन्दा धेरै पर्नेछ। २५६ चिप भएको पूर्ण र्याकको लागत मेमोरी चिपको संरचनाअनुसार करिब एक करोड अमेरिकी डलरसम्म पुग्न सक्छ।
एनभिडियाले चालु आर्थिक वर्षको अन्त्य अर्थात् आगामी जनवरीसम्म भेरा बिक्रीबाट २० अर्ब अमेरिकी डलर आम्दानी हुने अपेक्षा गरेको छ।
भेराप्रति चीनको चासो त्यस्तो समयमा देखिएको हो, जब विश्वव्यापी एआई प्रतिस्पर्धा मोडेल प्रशिक्षणबाट ‘इन्फरेन्स कम्प्युटिङ’ अर्थात् प्रयोगकर्ताका प्रश्नको उत्तर दिने प्रक्रियातर्फ केन्द्रित भइरहेको छ। यस क्षेत्रमा ग्राफिक्स प्रोसेसर (जीपीयू) ले सीपीयू तथा विशेष उद्देश्यका चिपसँग बढी प्रतिस्पर्धा सामना गरिरहेका छन्।
यस परिवर्तनले विश्वव्यापी सीपीयू अभाव पनि सिर्जना गरेको छ। फेब्रुअरीमा इन्टेलले चिनियाँ ग्राहकहरूलाई सर्भर सीपीयूको आपूर्ति समय छ महिनासम्म लाग्न सक्ने जानकारी दिएको थियो। एएमडीले पनि गत महिना विश्वव्यापी सीपीयू बजारमा माग आपूर्तिभन्दा धेरै रहेको जनाएको थियो।
आर्म प्रविधिमा आधारित भेराले एनभिडियालाई x86 आर्किटेक्चरमा आधारित प्रोसेसर बजारमा लामो समयदेखि प्रभुत्व जमाइरहेका इन्टेल र एएमडीसँग प्रत्यक्ष प्रतिस्पर्धामा ल्याएको छ।
चीनमा सीपीयू बिक्री गर्नु जीपीयू बिक्रीभन्दा अपेक्षाकृत सहज हुन सक्छ, किनभने जीपीयूहरू अमेरिकी निर्यात नियन्त्रणको कडा दायरामा पर्छन्। अमेरिकी सरकारले करिब १० चिनियाँ कम्पनीलाई एच२०० जीपीयू खरिदको अनुमति दिए पनि हालसम्म कुनै पनि आपूर्ति भएको छैन। स्वदेशी आपूर्तिकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले चिनियाँ अधिकारीहरूले आवश्यक स्वीकृति दिएका छैनन्।
स्रोतका अनुसार चिनियाँ ग्राहकहरूले प्रारम्भिक चरणमा भेरा चिपहरू आफ्ना विदेशी डेटा सेन्टरहरूमा मात्र परीक्षणका लागि प्रयोग गर्ने योजना बनाएका छन्।
प्रकाशित: ३१ जेष्ठ २०८३, आईतवार