
काठमाडौं ।
नेपाल टेलिकमले फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै फिफा वर्ल्डकप २०२६ टिभी प्याकेज उपलब्ध गराएको र यस सम्बन्धी कुनै समस्या वा गुनासो भएमा चौबिसै घण्टा सोधपुछ तथा ग्राहक सेवाका लागि सम्पर्क नम्बरको व्यवस्था गरेको छ।
प्याकेज खरिदको क्रममा कुनै समस्या भएमा वा यस सम्बन्धी कुनै गुनासो भएमा १९८ नम्बरमा सम्पर्क गर्न सकिने उल्लेख छ। त्यसैगरी प्याकेज खरिदसँग सम्बन्धित गुनासो सम्बोधनको लागि वैकल्पिक नम्बरको रुपमा ०१५९७००१९ मा समेत सम्पर्क गर्न सकिनेछ। यसरी प्राप्त गुनासोहरुलाई प्राथमिकतामा राखी सम्बोधन गर्ने व्यवस्था मिलाइएको कम्पनीका प्रवक्ता कमल लामिछानेले जानकारी दिए।
‘फिफा वर्ल्डकप २०२६ टिभी प्याकेजʼ अन्तर्गत सम्पूर्ण एनटीटीभीका ग्राहकहरूले ९९९ रुपैयाँमा सो प्याकेज खरिद गरी विश्वकपका रोमाञ्चक खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्।
वार्षिक १०० एमबीपीएस वा सोभन्दा बढी गतिको इन्टरनेट विथ प्रिमियम आईपीटीभी प्याकेज नयाँ जडान गर्ने, नवीकरण गर्ने वा १०० एमबीपीएस भन्दा मुनिको प्याकेजबाट १०० एमबीपीएस वा सोभन्दा माथिको प्याकेजमा अपग्रेड हुने ग्राहकहरूले ‘फिफा वर्ल्डकप २०२६ टिभी प्याकेजʼ बोनसको रूपमा निःशुल्क प्राप्त गर्न सक्नेछन्।
उक्त बोनस प्याकेज प्राप्त गर्न ग्राहकले आफ्नो मोबाइलबाट *१४१६# र त्यसपछि ४ डायल गरी प्राप्त निर्देशन अनुसार सेटटप बक्सको म्याक एड्रेस (MAC Address) उपलब्ध गराउनु पर्छ।
त्यसैगरी एनटीटीभीका ग्राहकहरूले आफ्नो टेलिभिजन सेट मार्फत हिमालय स्पोर्ट्स च्यानल छनोट गर्नासाथ स्क्रिनमा एउटा छुट्टै इन्ट्री स्क्रिन प्राप्त हुनेछ। उक्त स्क्रिनमा नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर राख्नासाथ एउटा ओटीपी प्राप्त हुनेछ। सो ओटीपी टीभी स्क्रिनमा इन्टर गरेपछि ग्राहकको मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टा भई प्याकेज तुरुन्त सुचारु हुनेछ। साथै, नजिकको नेपाल टेलिकमको ग्राहक सेवा केन्द्रबाट पनि उक्त प्याकेज सक्रिय गर्न सकिने जनाएको छ।
प्रकाशित: ३० जेष्ठ २०८३, शनिबार