भिसाले आफ्नो भुक्तानी सञ्जाललाई च्याटजीपीटीसँग जोड्यो, एआई एजेन्टहरूमार्फत् सुविधा लिन सकिने

  • Technology Khabar | ३० जेष्ठ २०८३, शनिबार
भिसाले आफ्नो भुक्तानी सञ्जाललाई च्याटजीपीटीसँग जोड्यो, एआई एजेन्टहरूमार्फत् सुविधा लिन सकिने

काठमाडौं ।

भुक्तानी सेवा प्रदायक भिसाले आफ्नो भुक्तानी सञ्जाललाई च्याटजीपीटीसँग जोडेको घोषणा गरेको छ। यससँगै एआई एजेन्टहरूले प्रयोगकर्ताको तर्फबाट सामान खोज्न, किनमेल गर्न र भुक्तानी पूरा गर्न सक्ने भएका छन्।

बुधबार गरिएको घोषणाअनुसार, अब एआई एजेन्टहरूले केवल उत्पादन सिफारिस मात्र गर्ने छैनन्, भिसा स्वीकार गर्ने कुनै पनि व्यापारीकहाँ प्रयोगकर्ताको तर्फबाट खरिद प्रक्रिया पूरा गर्न सक्नेछन्। यसअघि यस्ता सुविधा सीमित व्यापारी वा साना समूहमा मात्र उपलब्ध थिए।

यो ओपनएआईको ई–कमर्स क्षेत्रमा पहिलो प्रयास भने होइन। कम्पनीले गत वर्ष ‘इन्स्ट्यान्ट चेकआउट’ सुविधा सार्वजनिक गरेको थियो, जसले डिजिटल व्यक्तिगत किनमेल सहायकझैँ काम गर्दै इन्टरनेटमा वस्तु खोज्न सक्थ्यो। तर त्रुटि धेरै हुने र व्यापारीहरूबाट लिइने शुल्क महँगो भएकाले यो सुविधा व्यापक रूपमा प्रयोग हुन सकेन। ओपनएआई ले मार्चमा उक्त सेवा बन्द गरेको थियो।

भिसा र ओपनएआईको नयाँ सहकार्यअन्तर्गत प्रयोगकर्ताले आफ्नो भिसा कार्ड च्याटजीपीटी सँग लिंक गर्न सक्नेछन्। यसले एआई एजेन्टमार्फत सुरु गरिएका कारोबारहरू व्यापारीहरूले सजिलै स्वीकार गर्न सक्ने बनाउनेछ।

ओपनएआईले च्याटजीपीटी मार्फत एआई एजेन्टलाई अन्तरक्रिया गर्न, निर्णय लिन र खरिद प्रक्रिया सुरु गर्न आवश्यक प्रविधि उपलब्ध गराउनेछ भने चीनबाहिरको विश्वकै सबैभन्दा ठूलो भुक्तानी सञ्जाल भिसा ले भुक्तानी स्वीकृति र ठगी निगरानीको जिम्मा लिनेछ।

एपीन्यूजका अनुसार भिसाका प्रमुख उत्पादन तथा रणनीति अधिकृत ज्याक फोरस्टेलले एआई एजेन्टहरू अर्थतन्त्रका सक्रिय सहभागी बन्दै जाँदा कारोबारलाई विश्वसनीय, सुरक्षित र सहज बनाउनेमा भिसा केन्द्रित रहेको बताए।

स्यान फ्रान्सिस्कोमा आयोजित कार्यक्रममा फोरेस्टेलले प्रयोगकर्ताले १५० डलरभन्दा कम मूल्यको वायरलेस हेडफोन खोज्न च्याटजीपीटी लाई निर्देशन दिएमा च्याटबोटले उपयुक्त उत्पादन फेला पारेर प्रयोगकर्ताको तर्फबाट खरिद गर्न सक्ने उदाहरण प्रस्तुत गरे।

उनका अनुसार एआईले उत्पादन खोजिदिने काममा धेरै प्रयोगकर्ता सहज भइसकेका छन्, तर सिफारिसबाट सीधै खरिद गर्ने अधिकार दिनका लागि अझ बढी विश्वास आवश्यक हुन्छ।

भिसा र ओपनएआई ले सहकार्यको आर्थिक विवरण तथा व्यापारी वा ग्राहकले तिर्नुपर्ने शुल्कबारे जानकारी सार्वजनिक गरेका छैनन्। यसअघि इन्स्ट्यान्ट चेकआउटले कारोबार रकमको ४ प्रतिशत शुल्क व्यापारीबाट लिने गरेको थियो, जसलाई धेरै व्यापारीले महँगो मानेका थिए।

उपभोक्ताको तर्फबाट एआई एजेन्टले खरिद गर्ने व्यवस्थाले बैंक तथा खुद्रा व्यापारीमा विभिन्न चिन्ता पनि बढाएको छ। ग्राहकले आवश्यकता भन्दा बढी खर्च गर्न सक्ने, गलत वस्तु खरिद हुन सक्ने वा ग्राहकले आफूले अनुमति नदिएको दाबी गर्न सक्ने जोखिम रहेको छ।

भिसाका अनुसार उपभोक्ता सुरक्षा र ठगी न्यूनीकरणका लागि खर्च सीमा, अनिवार्य स्वीकृति चरण तथा स्वीकृत व्यापारीको सूचीजस्ता सुरक्षा व्यवस्था लागू गरिनेछ।

फोरेस्टेलले विवाद समाधानमा पनि भिसा ले हाल प्रयोग गर्दै आएको आधारभूत नियम नै लागू गर्ने बताए। उनका अनुसार खरिद गर्ने उद्देश्य वास्तवमै उपभोक्ताको थियो कि थिएन र व्यापारीले कारोबार सही ढंगले प्रक्रिया गर्‍यो कि गरेन भन्ने विषयलाई आधार बनाइनेछ।

खुद्रा व्यापारीहरूले यसअघि पनि एआई आधारित किनमेल सहायकहरू प्रयोगमा ल्याएका थिए। प्रारम्भिक उदाहरणमध्ये एक अमेजन एलेक्सा हो, तर यसले केवल अमेजनभित्र मात्रै किनमेल गर्न सक्थ्यो। ओपनएआईको इन्स्ट्यान्ट चेकआउट पनि सीमित व्यापारीमा मात्र उपलब्ध थियो।

भिसा को प्रमुख प्रतिस्पर्धी मास्टरकार्डले पनि आफ्नो भुक्तानी सञ्जालमा एआई आधारित किनमेल सुविधा विस्तार गरिरहेको छ।

मास्टरकार्डले एआई एजेन्टलाई व्यवसायको तर्फबाट सेवा खरिद गर्न सक्ने क्षमता दिने योजना सार्वजनिक गरेको छ। उदाहरणका लागि, कुनै कफी पसलले विज्ञापन अभियान सञ्चालन गर्न एआई एजेन्टलाई वेब तथा विज्ञापन सेवा खरिद गर्ने अनुमति दिन सक्नेछ।

फोरेस्टेलका अनुसार मानिसहरूले एआई एजेन्टमार्फत स्वतन्त्र रूपमा किनमेल गर्न पूर्ण विश्वास गर्न अझै समय लाग्नेछ।

प्रारम्भिक चरणमा अधिकांश कारोबारमा एआई एजेन्टले खरिद अघि उपभोक्तालाई सूचना पठाएर स्वीकृति लिने अपेक्षा गरिएको छ। उनले समयसँगै प्रयोगकर्ताले बारम्बार स्वीकृति दिँदै जाँदा एआई एजेन्टलाई स्वतन्त्र रूपमा खरिद गर्न अनुमति दिन सक्ने बताए।

प्रकाशित: ३० जेष्ठ २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार