

काठमाडौं ।
कृत्रिम बुद्धिमत्ता (एआई) बजारप्रतिको अत्यधिक उत्साहलाई पुष्टि गर्ने थप तथ्य विश्लेषक संस्था गार्टनर र डेल’ओरोले सार्वजनिक गरेका छन्।
डेल’ओरोले यस वर्षको दोस्रो अर्धवार्षिक अवधिमा डाटा सेन्टरमा हुने पूँजीगत खर्च (क्यापेक्स) तीव्र रूपमा बढ्ने र सन् २०२६ मा कुल खर्च १ ट्रिलियन अमेरिकी डलर नाघ्ने आफ्नो पूर्वानुमान दोहोर्याएको छ।
डेल’ओरोका वरिष्ठ अनुसन्धान निर्देशक बारोन फङका अनुसार मेमोरी र स्टोरेजको मूल्यवृद्धिले सर्भर प्रणालीको लागत उल्लेख्य रूपमा बढाएको छ र यस वर्ष पनि क्यापेक्स वृद्धिको प्रमुख कारण रहनेछ।
साथै, एआई पूर्वाधारको विस्तार तीव्र गतिमा भइरहेको छ भने हाइपरस्केलर कम्पनीहरूले सार्वजनिक क्लाउडको वृद्धि, एजेन्टिक एआई कार्यभार र एआईसँग सम्बन्धित बढ्दो स्टोरेज आवश्यकतालाई समर्थन गर्न सामान्य प्रयोजनका पूर्वाधार पनि विस्तार गरिरहेका छन्।
डेल’ओरोका अनुसार सन् २०२६ को पहिलो त्रैमासमा अमेरिकाका चार प्रमुख क्लाउड सेवा प्रदायक अमेजन, गुगल, मेटा र माइक्रोसफ्टको डेटा सेन्टर खर्च अघिल्लो वर्षको तुलनामा ७८ प्रतिशतले बढेको टेलिकम्स डटकमले उल्लेख गरेको छ।
फङले सन् २०२६ को पहिलो अर्धवार्षिक अवधिमा खर्चको वृद्धि अत्यन्त बलियो रहे पनि एनभिडियाको रुबिन प्रणालीको विस्तार र हाइपरस्केलर कम्पनीका कस्टम एक्सेलेरेटर प्लेटफर्महरूको नवीकरणका कारण दोस्रो अर्धवार्षिक अवधिमा अझ तीव्र वृद्धि हुने अपेक्षा गरिएको बताए।
उनका अनुसार हाइपरस्केलर कम्पनीबाहेक केही उद्योग क्षेत्र र सार्वभौम क्लाउड सेवा प्रदायकहरूले पनि एआई पूर्वाधारको प्रयोग बढाइरहेका छन्। तर लगानीबाट प्राप्त हुने प्रतिफलको अनिश्चितता र पूर्वाधारको तयारीको अभावले वृद्धि सीमित बनाइरहेको छ।
उनले निकट भविष्यमा माग बलियो रहे पनि यस वर्षको अन्त्यतिर सम्भावित मूल्यवृद्धिको अनुमानका कारण केही खर्च अगाडि सारिएको हुनसक्ने बताए।
यी टिप्पणीहरूले एआईसँग सम्बन्धित केही आधारभूत चुनौती पनि देखाउँछन्। हालसम्म एआई प्रयोगबाट प्राप्त हुने लाभ स्पष्ट रूपमा मापन गर्न कठिन छ भने एआई कम्पनीहरूले असीमित प्रयोगको मूल्य मोडेलबाट प्रयोगमा आधारित शुल्क प्रणालीतर्फ सरेका कारण मागमा असर पर्न सक्ने देखिएको छ।
यता गार्टनरले डाटा सेन्टरहरूले खपत गरिरहेको ठूलो मात्राको विद्युत् ऊर्जाबारे पनि प्रकाश पारेको छ।
गार्टनरका अनुसार सन् २०२६ मा विश्वभरका डेटा सेन्टरहरूको विद्युत् खपत ४४७ टेरावाट-घण्टाबाट बढेर ५६५ टेरावाट-घण्टा पुग्नेछ, जुन अघिल्लो वर्षको तुलनामा २६ प्रतिशत बढी हो।
तुलनाका लागि बेलायतको कुल विद्युत् खपत सन् २०२४ मा ३१९ टेरावाट-घण्टा रहेको थियो।
गार्टनरका अनुसार यसको मुख्य कारण पनि एआई नै हो। एआईका लागि अनुकूलित सर्भरहरूको विद्युत् खपत यस वर्ष ८४.२ प्रतिशतले बढ्ने र विश्वका डेटा सेन्टरहरूको कुल विद्युत् खपतको ३१ प्रतिशत हिस्सा यिनैले ओगट्ने अनुमान गरिएको छ।
गार्टनरकी निर्देशक विश्लेषक लिङ्लान वाङका अनुसार अत्यधिक कम्प्युटिङ शक्ति आवश्यक पर्ने एआई कार्यभारका कारण डेटा सेन्टरहरूको विद्युत् माग अभूतपूर्व रूपमा बढिरहेको छ। अहिले एआई विस्तारको मुख्य अवरोध नै विद्युत् उपलब्धता बनेको भन्दै उनले विश्वव्यापी एआई प्रतिस्पर्धामा डेटा सेन्टरको ऊर्जा सुरक्षा नयाँ प्रतिस्पर्धाको क्षेत्र बनेको बताइन्।
यसैबीच, अमेरिकी उपभोक्तामाझ गरिएको गार्टनरको अर्को सर्वेक्षणले ४९ प्रतिशत उत्तरदाताले जेनेरेटिभ एआईका कारण सामग्रीको गुणस्तर खस्किएको विश्वास गरेको देखाएको छ। मिलेनियल र जेन–जी पुस्तामा यो प्रतिशत ५७ पुगेको छ।
गार्टनरकी उपाध्यक्ष विश्लेषक केट मुहलका अनुसार एआईले उपभोक्ताले देख्ने सामग्रीको मात्रा बढाएको भए पनि त्यसको मूल्य वा गुणस्तर अनिवार्य रूपमा बढाएको छैन। उनले अझ सन्देहपूर्ण बन्दै गएको सूचना वातावरणमा ब्रान्डहरू अझ परिचित, विश्वसनीय र आफ्नो सन्देश प्रस्तुत गर्ने सन्दर्भप्रति सचेत हुनुपर्ने बताइन्।
यसरी हेर्दा एआईले प्रयोगकर्ता कम्पनीहरूलाई स्पष्ट रूपमा परिभाषित लाभ दिन सकेको छैन, आम उपभोक्ताले एआईद्वारा सिर्जित सामग्रीलाई सकारात्मक रूपमा लिएका छैनन् र एआईले डाटा सेन्टर उद्योगसँग मिलेर विश्वको पाँचौं ठूलो अर्थतन्त्रले खपत गर्नेभन्दा बढी विद्युत् ऊर्जा प्रयोग गर्ने दिशातर्फ अघि बढिरहेको छ।
यद्यपि, प्रविधि उद्योगले यस वर्ष एआई पूर्वाधारमा १ ट्रिलियन डलर खर्च गर्ने तयारी गरिरहेको छ। त्यसैले एआईमा भइरहेको यो विशाल लगानी र त्यसबाट प्राप्त परिणामबीचको सम्बन्धबारे प्रश्न उठ्न थालेको छ।
प्रकाशित: ३० जेष्ठ २०८३, शनिबार