विज्ञान, प्रविधि तथा नवप्रवर्तन नियमावली, २०८३ को मस्यौदामा भोलिसम्म सुझाव पठाउन मन्त्री पुनको आह्वान

  • Technology Khabar | ७ भाद्र २०८३, आईतवार

काठमाडौं ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी नियमावलीको मस्यौदामा देश तथा विदेशमा रहेका नेपालीबाट सुझाव मागेका छन्।

गत साउन २५ गते वेबसाइटमा राखिएको नियमावलीको ड्राफ्टमा विभिन्न व्यक्तिले दिएका सुझाव समेत समेटेर त्यसलाई सुझाव दिनेको नामसहित फरक रंगमा समावेश गरी  सामाजिक सञ्जाल एक्समा सार्वजनिक गर्दै मन्त्री पुनले नेपालमा विज्ञान तथा प्रविधिको विकासलाई तीव्र बनाउन चाहने सबैलाई मस्यौदा अध्ययन गरी आफ्ना सुझाव पठाउन आग्रह गरेका हुन्।

उनले मस्यौदा लुकाएर नियमावली बनाइएको भन्ने अवस्था नआओस् भन्दै प्रक्रिया पारदर्शी बनाउने उद्देश्यले ड्राफ्ट सार्वजनिक गरिएको बताएका छन्। मस्यौदामा आवश्यक र उपयोगी सुझाव समेटिने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन्।

पुनले नेपालभरिका साथै विश्वभर रहेका नेपालीलाई मस्यौदा पढेर लिखित सुझाव दिन आग्रह गरेका छन्। उनका अनुसार सुझाव भोलिसम्म [email protected] मा इमेलमार्फत पठाउन सकिनेछ।

नयाँ मन्त्रालयको कार्यक्षेत्रमा विज्ञान तथा प्रविधिसम्बन्धी नीति, कानुन तथा मापदण्ड निर्माणसँगै वैज्ञानिक अध्ययन–अनुसन्धान, खोज, आविष्कार, प्रविधि विकास तथा नवप्रवर्तन प्रवर्द्धनलगायतका विषय समेटिएका छन्।

मन्त्री पुनले यसअघि पनि विज्ञान तथा प्रविधिको क्षेत्रमा नेपालले क्रमिक सुधारभन्दा तीव्र छलाङ आवश्यक रहेको बताउँदै अनुसन्धान र नवप्रवर्तनमा लगानी तथा विज्ञ जनशक्तिको उपयोगमा जोड दिँदै आएका छन्।

३४ पृष्ठ, १३ परिच्छेद र ११ अनुसूची भएको उक्त विधेयकमाथि सुझाव दिन मन्त्रालयले ७ दिनको समय दिएकोमा मन्त्री पुनका अनुसार भोलि अर्थात् भदौ ८ गतेसम्म सुझाव पठाउन सकिनेछ।

प्रकाशित: ७ भाद्र २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार