विश्व उद्यमशीलता दिवसका अवसरमा ओपन हाउस तथा उद्यमशीलता हाटबजार आयोजना

  • Technology Khabar | ८ भाद्र २०८३, सोमबार
विश्व उद्यमशीलता दिवसका अवसरमा ओपन हाउस तथा उद्यमशीलता हाटबजार आयोजना

काठमाडौं ।

विश्व उद्यमशीलता दिवसका अवसरमा युथ इनोभेसन ल्याबले युवा उद्यमी, प्रविधिमा रुचि राख्ने युवा, विद्यार्थी, नवप्रवर्तक तथा सामाजिक समस्या समाधानमा सक्रिय व्यक्तिहरूलाई जोड्ने उद्देश्यले ओपन हाउस तथा उद्यमशीलता हाटबजार आयोजना गरेको छ।

औपचारिक प्रदर्शनीभन्दा फरक, प्रत्यक्ष संवाद र अनुभवमा केन्द्रित कार्यक्रमका रूपमा आयोजना गरिएको ओपन हाउसमा करिब एक सय
आगन्तुकले युवा उद्यमीका उत्पादन, युथ इनोभेसन ल्याबले विकास गरेका प्रविधि तथा नवप्रवर्तन, डिजिटल तथा भौगोलिक सूचना प्रणालीसम्बन्धी काम र युवाका लागि उपलब्ध विभिन्न अवसरबारे प्रत्यक्ष जानकारी लिएका थिए।

युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले युवाका लागि अवसरको अभावबारे मात्रै कुरा गर्नु पर्याप्त नभएको उल्लेख गर्दै उपलब्ध स्रोत, प्रविधि र सीप प्रयोग गरी नयाँ सम्भावना निर्माण गर्ने वातावरण आवश्यक रहेको बताए।

उनले भने, ‘युवालाई अवसर भएन भनेर मात्र हुँदैन। हामीले अवसर र सम्भावना कसरी सिर्जना गर्न सकिन्छ भन्ने विश्वास र क्षमता पनि विकास गर्नुपर्छ। उद्यमशीलता, प्रविधि र नवप्रवर्तनलाई एउटै ठाउँमा ल्याएर युवालाई आफ्नै सम्भावना देखाउन र नयाँ कुरा प्रयोग गर्न प्रोत्साहित गर्नु यो कार्यक्रमको उद्देश्य हो।’

कार्यक्रम निर्देशक गोमा कार्कीले कार्यक्रममा बोल्दै संस्थाको उद्देश्य ठूलो भीड जम्मा गर्नु मात्र नभइ यहाँ आएका प्रत्येक सहभागीले स्टलमा उद्यमीसँग कुरा गर्न, प्रविधि नजिकबाट हेर्न, सेन्सर र डिजिटल समाधानबारे बुझ्न तथा आफू सहभागी हुन सक्ने अवसरबारे प्रत्यक्ष जानकारी लिन पाएको गहिरो अन्तरक्रिया नै ओपन हाउसको महत्त्वपूर्ण पक्ष रहेको बताइन्।

कार्यक्रममा कफी, हस्तकला, खाद्य तथा रेस्टुरेन्ट सेवा, हर्बल तथा स्थानीय उत्पादनलगायत क्षेत्रमा कार्यरत युवा उद्यमीले स्टल सञ्चालन गरेका थिए।

प्रकाशित: ८ भाद्र २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...