
काठमाडौं ।
भोडाफोनले जीलीसँगको सवारीसाधन प्रविधि सहकार्य विस्तार गरेको छ।
भोडाफोन बिजनेस र जीली अटो समूहअन्तर्गतको अनुसन्धान तथा विकास (आरएन्डडी) इकाइ जीली टेक्नोलोजी यूरोप (जीटीईयू) ले सवारीसाधन प्रविधिसम्बन्धी थप समाधान समेट्ने गरी आफ्नो साझेदारी विस्तार गरेका छन्।
अब यस सहकार्यमा भोडाफोन बिजनेसका ‘इन्टरनेट इन द कार’, निजी नेटवर्क र ‘क्लाउड कनेक्ट’ सेवाहरू पनि समावेश भएका छन्।
टेलिकम्स डटकमका अनुसार ‘इन्टरनेट इन द कार’ सेवाले सवारीसाधनको परीक्षण तथा ओभर-द-एयर सफ्टवेयर अपडेटजस्ता सुविधा प्रदान गर्छ भने ‘क्लाउड कनेक्ट’ ले सवारीसाधन र क्लाउड प्रणालीबीच सुरक्षित डेटा आदानप्रदान गर्न मद्दत गर्छ। यी सेवा सम्झौतामा समावेश भएपछि गिलीले सवारीसाधनको कार्यसम्पादन निगरानी गर्न र चालकको अनुभव सुधार गर्न सहयोग पुग्ने बताइएको छ।
भोडाफोनले जर्मनी र स्विडेनस्थित गिली टेक्नोलोजी युरोपका सञ्चालन तथा युरोपभर रहेका बिक्री टोलीलाई पनि कनेक्टिभिटी सेवा उपलब्ध गराउनेछ।
जीटीईयू सवारीसाधनको संरचना, डिजिटल प्लेटफर्म र बुद्धिमान प्रणाली विकासमा संलग्न छ। यसले एकीकृत इन-कार इन्टरनेट तथा डिजिटल सेवाहरू, जस्तै विद्युतीय सवारीसाधन (ईभी) का लागि गतिशील चार्जिङ योजना र थ्रीडी लेन मार्गनिर्देशन सेवा विकास गर्छ। कम्पनीका अनुसार यसका लागि सवारीसाधनलाई नवीनतम सफ्टवेयर, डेटा र कनेक्टेड सेवाले सुसज्जित बनाउनु आवश्यक छ।
भोडाफोन बिजनेसका सवारीसाधन सेवाले जीटीईयूलाई आफ्ना सवारीसाधन अपडेट गर्न पनि सहयोग गर्छ। उदाहरणका रूपमा ‘जिक्र नेभिगेसन’ सेवा उल्लेख गरिएको छ, जसले सवारीसाधनभित्रैबाट ग्राहक प्रतिक्रिया संकलन गर्न सक्षम बनाउँछ। यसले विकास चक्र छोट्याउन तथा समस्या पहिचान र समाधान गर्न सहयोग पुर्याउने बताइएको छ।
जीली टेक्नोलोजी यूरोपका प्रमुख कार्यकारी अधिकृत जियोभानी लाँफ्रान्चीले भने, “हामी साधारण यातायात समाधानभन्दा धेरै अगाडि बढिसकेका छौं। आज सवारीसाधनलाई सफ्टवेयरमार्फत निरन्तर सुधार गर्न सकिन्छ र डाटा तथा कनेक्टिभिटीले समयसँगै अझ उत्तरदायी र व्यक्तिगत प्रयोगकर्ता अनुभव प्रदान गर्छ।”
भोडाफोन बिजनेसका उत्पादन तथा अन्तर्राष्ट्रिय व्यवसाय निर्देशक फनान हेनरिक्सले विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा डिजिटल कनेक्टिभिटीमार्फत सुरक्षा, कार्यक्षमता र प्रयोगकर्ता अनुभव सुधार गर्ने अवसर उल्लेखनीय रहेको बताए। उनले जीलीको यूरोपभरको सवारीसाधन बिक्री विस्तार र सञ्चालनलाई सुरक्षित बहु-सेवा डिजिटल पूर्वाधारमार्फत सहयोग गरिरहेको बताए।
कम्पनीका अनुसार सन् २०३० सम्म बिक्री हुने नयाँ यात्रुवाहक सवारीसाधनमध्ये ९८ प्रतिशतभन्दा बढी कनेक्टेड हुने अपेक्षा गरिएको छ। गत महिना भोडाफोन बिजनेसले आफ्नो नयाँ फाइभजी प्लस लोकल स्लाइसिङ सेवा सार्वजनिक गरेको थियो, जसले ५ वर्ग किलोमिटरसम्मको क्षेत्रमा समर्पित नेटवर्क स्लाइस उपलब्ध गराउन सक्छ। यो सेवा रंगशाला, लजिस्टिक्स हब, विश्वविद्यालय परिसर तथा निर्माणस्थलजस्ता क्षेत्रलाई लक्षित गरिएको छ।
कम्पनीले आफू बेलायतमा व्यावसायिक रूपमा उद्यम ग्राहकलाई फाइभजी नेटवर्क स्लाइसिङ सेवा उपलब्ध गराउने पहिलो कम्पनी भएको दाबी गरेको छ। साथै, भीडभाड भएका क्षेत्रमा व्यवसायिक ग्राहकलाई थप भरपर्दो मोबाइल कनेक्टिभिटी प्रदान गर्ने उद्देश्यसहित ‘नेटवर्क बुस्ट’ सेवा पनि सुरु गरेको छ।
प्रकाशित: २१ जेष्ठ २०८३, बिहीबार