
काठमाडौं ।
इन्टरनेट सेवा प्रदायक कम्पनी टि.पि. लिंक नेटवर्क प्रालिको अनुमति पत्र खारेज भएको छ। पोखरामा आधारित रहेर इन्टरनेट सेवा दिँदै आएको टिपि लिंक नेटवर्क प्रालिको अनुमति पत्र खारेज भएको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।
टि.पि. लिंक नेटवर्क प्रा.लि. (T.P. Link Network Pvt. Ltd.)को अनुमति पत्र स्वतः खारेज भएको सूचना नियामक निकायले आजै प्रकाशित गरेको छ।
उक्त कम्पनीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट प्रतिनिधि सभा सदस्य (सांसद) झवि लाल डुम्रेकोसमेत लगानी रहेको छ।
२०७३ जेठ ७ गते कास्कीमा आधारित रहँदै इन्टर्नेट (इमेल सहित) सेवाको अनुमतिपत्र लिएको टिपि लिङ्क नेटवर्कले त्यसबेला पोखरा, पाल्पा, स्याङ्जा, पर्वत, तनहुँसहित दाङको तुल्सीपुरसम्म सेवा दिएको थियो।
उक्त कम्पनीले जेठ ६ गतेसम्मको आफ्नो अनुमति पत्र रहेको अवधिभित्र नवीकरण गरिसक्नुपर्नेमा कम्पनीले अनुमति पत्र नवीकरणको लागि आवेदननै नगरेपछि नियामकले स्वतः रद्द गरेको हो।
सांसद डुम्रेले आफ्नो फेसबुक प्रोफाइलमा समेत उक्त कम्पनीको सीईओ अर्थात प्रमुख कार्यकारी अधिकृतको रुपमा हालसम्म कार्यरत रहेको उल्लेख गरेका छन्।
टिपी लिङ्क नेटवर्कका प्रमुख संचालकमा दामोदर डुम्रे छन भने सीईओमा सांसद डुम्रे कार्यरत रहेको देखिन्छ। दामोदर र झवि लाल दाजुभाई हुन्।
नियामककाअनुसार कम्पनीले नियमितरुपमानै गत वर्षसम्म प्रकृया पुरा गरिरहेको र आवश्यक दस्तुरहरु सबै बुझाउँदै आएको थियो।
कम्पनीसँग गत वर्षदेखिको मात्र बाँकी बक्यौता रहेको प्राधिकरण स्रोतको भनाई छ। उक्त सरकारी बक्यौता अनुमति पत्र खारेज भएपनि तिर्नुपर्ने हुन्छ र सो बेहोरासहितको जानकारी प्राधिकरणले सूचनामार्फत दिएको छ।
यस विषयमा सोध्दा सांसद डुम्रेले आफूलाई जानकारी रहेको र अनुमति पत्र नवीकरणका लागि सबै प्रकृया पुरा गरेपनि एक दिनले ढिला हुँदा समस्या भएको बताए।
“मैले अहिले (कम्पनी) हेर्दिन। सबै प्रकृया पुर्याएर निवेदन दिएको तर एक दिन ढिलो भएको हुँदा नवीकरण नभएको हो,” सांसद डुम्रेले टेक्नोलोजीखबरसँग भने, “इन्टरनेट सेवाको अनुमति पत्र नलिएपनि कम्पनी संचालनमानै रहेको र अन्य व्यवसाय गरिरहेको छ।”
उनकाअनुसार हाल इन्टरनेट सेवाको व्यवसाय त्यति धेरै नभएको हुँदा अनुमतिपत्रनै रद्द हुँदा खासै फरक पर्नेछैन र कम्पनीले अन्य व्यवसाय गरिरहने योजना छ।
उनकाअनुसार जेठ ६ गतेभित्र नवीकरणको निवेदन दिनुपर्नेमा जेठ ७ गते नवीकरणका लागि नियामक दूरसञ्चार प्राधिकरणमा निवेदन दिईएको थियो।
यस्तो छ नियामकले जारी गरेको सार्वजनिक सूचना-
“नेपाल दूरसञ्चार प्राधिकरणले श्री टि.पि. लिंक नेटवर्क प्रा.लि. (T.P. Link Network Pvt. Ltd.), पोखरा | उपमहानगरपालिका-८, कास्कीलाई मिति २०७३।०२।०७ मा प्रदान गरिएको इन्टर्नेट (इमेल सहित) सेवाको अनुमतिपत्र ( अनुमतिपत्र नं. फि. ज. १ – ८४) नवीकरणका लागि तोकिएको समयावधिभित्र नियमानुसार निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम मिति २०८३|०२|०७ देखि स्वतः रद्द भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै यस प्रा. लि. ले नियमानुसार तिर्न/बुझाउनुपर्ने रकमका सम्बन्धमा यो सूचना जारी भएको मितिले ३० दिनभित्र यस कार्यालयमा सम्पर्क गर्न समेत सूचित गरिएको छ। अन्यथा प्रचलित कानून अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ।”
प्रकाशित: २० जेष्ठ २०८३, बुधबार