एक सय घरधुरीमध्ये ८५ घरमा स्मार्टफोन, डिजिटल पहुँचमा प्रादेशिक असमानता भने अझै कायमै: यूनिसेफ

  • Technology Khabar | १० जेष्ठ २०८३, आईतवार
एक सय घरधुरीमध्ये ८५ घरमा स्मार्टफोन, डिजिटल पहुँचमा प्रादेशिक असमानता भने अझै कायमै: यूनिसेफ

काठमाडौं ।

नेपालमा डिजिटल पहुँच विस्तार हुँदै गएसँगै अधिकांश घरधुरीमा स्मार्टफोनको पहुँच पुगेको देखिएको छ। हालै यूनिसेफले सार्वजनिक गरेको ‘इम्याजिनिङ नेपाल एज द कन्ट्री अफ १०० पिपल’ शीर्षकको तथ्यांकअनुसार प्रत्येक १०० घरधुरीमध्ये ८५ घरमा स्मार्टफोन रहेको पाइएको छ।

यसले नागरिकलाई भरपर्दो सूचना प्राप्त गर्न, डिजिटल माध्यममार्फत विभिन्न सेवामा जोडिन तथा आफ्ना विचार र चासो अभिव्यक्त गर्न सहज बनाएको छ।

स्मार्टफोनको पहुँचले विशेषगरी सूचना आदानप्रदानलाई थप प्रभावकारी बनाएको छ। स्वास्थ्य संकट, महामारी वा प्राकृतिक विपद्का बेला मोबाइल कनेक्टिभिटी अझ महत्वपूर्ण हुने भन्दै सम्बन्धित पक्षले समयमै सूचना प्रवाह, आवश्यक सहयोगको खोजी तथा समन्वयमा यसले उल्लेखनीय भूमिका खेल्ने बताएका छन्।

डिजिटल पहुँच विस्तारसँगै समुदायमा सूचना अन्तर कम हुँदै जाने, नागरिकको सहभागिता बढ्ने र उत्तरदायित्वसमेत बलियो बन्ने अपेक्षा गरिएको छ।

यद्यपि, स्मार्टफोनको पहुँच देशभर समान भने देखिएको छैन। प्रदेशअनुसार घरधुरीमा स्मार्टफोनको उपलब्धतामा उल्लेख्य भिन्नता देखिएको तथ्यांकले जनाएको छ। कर्णाली प्रदेशमा १०० घरधुरीमध्ये ७७ घरमा स्मार्टफोन रहेको छ भने सुदूरपश्चिममा यो संख्या ७८ रहेको छ। त्यसैगरी बागमती प्रदेशमा ८८ तथा गण्डकी प्रदेशमा ८९ घरधुरीमा स्मार्टफोन रहेको तथ्यांकले देखाएको छ।

प्रदेशगत रूपमा देखिएको यो अन्तरले नेपालमा डिजिटल पहुँच विस्तार भए पनि सबै क्षेत्रमा समान अवसर पुग्न अझै चुनौती रहेको संकेत गरेको छ। दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकसम्म सूचना र डिजिटल सेवा समान रूपमा पुर्‍याउन थप लगानी, पूर्वाधार विस्तार र डिजिटल साक्षरतामा ध्यान दिन आवश्यक रहेको सरोकारवालाले बताएका छन्।

विशेषज्ञहरूका अनुसार अहिलेको तथ्यांकले नेपालमा डिजिटल रूपान्तरणको सकारात्मक संकेत दिएको भए पनि सबै प्रदेशका नागरिकलाई समान पहुँच सुनिश्चित गर्न दीर्घकालीन नीति र प्रभावकारी कार्यान्वयन आवश्यक पर्ने देखिएको छ।

प्रकाशित: १० जेष्ठ २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार