ब्लु ओरिजिनको नयाँ मेगा-रकेट ‘न्यू ग्लेन’ ले फेरि उडान अनुमति पायो

  • Technology Khabar | १० जेष्ठ २०८३, आईतवार
ब्लु ओरिजिनको नयाँ मेगा-रकेट ‘न्यू ग्लेन’ ले फेरि उडान अनुमति पायो

काठमाडौं ।

जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनको नयाँ मेगा-रकेट ‘न्यू ग्लेन’ अब फेरि उडान गर्न अनुमति पाएको छ। कम्पनीले शुक्रबार संघीय उड्डयन प्रशासन (एफएए) ले अप्रिलमा भएको दुर्घटनापछि रकेटलाई पुनः उडान गर्न स्वीकृति दिएको जनाएको हो। उक्त उडानमा माथिल्लो चरणले व्यावसायिक पेलोड कक्षामा पठाउन असफल भएको थियो।

टेकक्रञ्चका अनुसार ब्लु ओरिजिनले धेरै विवरण नदिए पनि एक्समा गरेको पोस्टमा न्यू ग्लेनको माथिल्लो चरणमा “असामान्य तापीय अवस्था” देखिएको र त्यसका कारण तीनमध्ये एक रकेट इन्जिनले अपेक्षाभन्दा कम थ्रस्ट उत्पादन गरेको जनाएको छ।

त्यसका कारण ब्लु ओरिजिनले कक्षामा पठाउनुपर्ने  एएसटी स्पेसमोबाइलको उपग्रह पृथ्वीको वायुमण्डलमा जलेर नष्ट भएको थियो। एएसटी स्पेसमोबाइलले हराएको उपग्रहको लागत बीमाबाट कभर भएको जनाएको थियो। जेफ बेजोसको कम्पनीले एफएएलाई प्रतिवेदन बुझाएको र “सुधारात्मक उपाय” अपनाएको बताए पनि ती उपायबारे विवरण दिएको छैन।

यो दुर्घटना न्यू ग्लेनको तेस्रो उडानका क्रममा भएको थियो, यद्यपि अन्य सबै प्रक्रिया सफल भएका थिए। कम्पनीले पहिलो पटक न्यू ग्लेनको बुस्टर चरण पुनः प्रयोग गर्न सफल भएको थियो र समुद्रमा रहेको ड्रोन जहाजमा दोस्रो पटक अवतरण गराएको थियो।

यो स्वीकृतिसँगै ब्लु ओरिजिनले यस वर्ष न्यू ग्लेनका लागि तय गरेको आक्रामक तालिका पुनः अघि बढाउन सक्ने भएको छ। कम्पनीले २०२६ को अन्त्यसम्म यो रकेट १२ पटकसम्म प्रक्षेपण गर्ने योजना रहेको बताएको छ, तर एक महिनाको उडान रोकले त्यस योजनामा कति असर पारेको छ भन्ने स्पष्ट छैन।

प्रकाशित: १० जेष्ठ २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार