
काठमाडौं ।
कम्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)की अध्यक्ष सुनैना घिमिरे पाण्डेले राजीनामा दिएसँगै वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले कार्यवाहक अध्यक्षको रुपमा काम गर्ने भएका छन्।
सुनैनाले व्यक्तिगत कारण देखाउँदै र नेपाल उद्योग बाणिज्य महासंघमा गएसँगै आफ्नो पदबाट राजीनामा दिएको जानकारी केहि दिनअघि बसेको कार्यसमिति बैठकमा सुनाईएको थियो।
तर पछिल्लो समय उनको किर्ते कागजातमार्फत टेन्डर हात पारेको विषय बाहिरिएपछि र महासंघको निर्वाचनमा होमिएसँगै सहमतिको नाममा राजीनामा गरेकी थिइन्। उनी महासंघको निर्वाचनमा निर्वाचित भएकी छन्।
अध्यक्ष भएसँगै विवादमा पर्दै आएकी उनले पछिल्लो समय किर्तेको विषयमा परेको उजुरीका कारण राजीनामा दिएको विभिन्न स्रोतहरुले टेक्नोलोजीखबरलाई त्यस समयमा बताएका थिए।
उनले त्यसबेला क्यान महासंघका संस्थापक अध्यक्ष डा. विमल शर्मालाई राजीनामा पत्र बुझाएको महासंघसम्बद्ध ३ फरक-फरक स्रोतहरुले परिचय नखुलाउने शर्तमा जानकारी दिएका थिए।
सम्बन्धित समाचार-
उनको बहिर्गमन पश्चात् वरिष्ठ उपाध्यक्ष अधिकारीले आधिकारिक रूपमा कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका क्यान महासंघका एक पदाधिकारीले जानकारी दिए।
“विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः कार्यबाहक अध्यक्ष हुने व्यवस्था रहेको हुँदा अधिकारीले महाधिवेशनबाट अर्को अध्यक्ष नआएसम्म जिम्मेवारी लिनेछन्,” उनले भने।
नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सर्वोच्च छाता संगठन पछिल्लो समय चरम विवादमा र विभिन्न गुट/उपगुटमा विभाजित भएको छ। जसलाई हाल राजीनामा दिएकी घिमिरेले चरमोत्कर्षमा पुर्याएकी थिईन्।
अब कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका अधिकारीले कार्यवाहक अध्यक्षको रूपमा क्यान महासंघलाई केवल नीतिगत पैरवी गर्ने संस्थामा मात्र सीमित नराखी एक बलियो कार्यान्वयन संयन्त्रको रूपमा अगाडि बढाउन दृढ रहेको बताएका छन्।
उनी साइबर सुरक्षा परामर्शदाता कम्पनी वान कभर प्रालिका सीईओ, टेकपाइला इनोभेसन्सका एसोसिएट डाइरेक्टर पनि हुन्। यसैगरी नेपाल चेम्बर अफ कमर्शको आईटी समितिमा साइबर सुरक्षा सल्लाहकारको रूपमा पनि आबद्ध छन्।
प्रकाशित: १० जेष्ठ २०८३, आईतवार