क्यान महासंघ अध्यक्ष सुनैना घिमिरेले पदबाट दिइन् राजीनामा, किर्तेको उजुरी अगाडि नबढाउने भद्र सहमति गरेको खुलासा

  • Technology Khabar | २१ बैशाख २०८३, सोमबार
क्यान महासंघ अध्यक्ष सुनैना घिमिरेले पदबाट दिइन् राजीनामा, किर्तेको उजुरी अगाडि नबढाउने भद्र सहमति गरेको खुलासा

काठमाडौं ।

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का अध्यक्ष सुनैना घिमिरे पाण्डेले पदबाट राजीनामा दिएकी छन्। अध्यक्ष भएसँगै विवादमा पर्दै आएकी उनले पछिल्लो समय किर्तेको विषयमा परेको उजुरीका कारण राजीनामा दिएको स्रोतहरुले बताएका छन्।

उनले केहिदिन अघि क्यान महासंघका संस्थापक अध्यक्ष डा. विमल शर्मालाई राजीनामा पत्र बुझाएको महासंघसम्बद्ध ३ फरक-फरक स्रोतहरुले परिचय नखुलाउने शर्तमा जानकारी दिएका छन्।

नेपाल उद्योग बाणिज्य महासंघको कार्यसमिति सदस्य पदमा उम्मेद्वारी दिएकी घिमिरेले आफ्नो उम्मेद्वारीनै धरासायी हुने अवस्था आएपछि क्यान महासंघको अध्यक्ष पदबाट राजीनामा दिएको पहिलो स्रोतले जानकारी दियो।

घिमिरेले महासंघको चुनावमा नरेशलाल श्रेष्ठको प्यानलबाट उम्मेद्वारी दिएकी छिन्।

“ललितपुर प्रहरीमा उनी विरुद्ध किर्तेको उजुरी परेसँगै पदबाट हट्न चर्को दबाब परेको थियो। यसले उनको एफएनसीसीआईको उम्मेद्वारीमा समेत असर पर्ने भएपछि गोप्यरुपमा केहि समयअघि राजीनामा बुझाएकी हुन्,” पहिलो स्रोतले टेक्नोलोजीखबरलाई भन्यो।

उक्त स्रोतले यो विषयको जानकारी सिमित व्यक्तिहरु वा समूहलाई मात्र भएको दाबीसमेत गरेको छ।

उनको विरुद्धमा सरकारी कागजात लिखत किर्ते गरेको भन्दै जिल्ला प्रहरी परिसर जाउलाखेल, ललितपुरमा उजुरी परेको थियो। जनरल टेक्नोलोजी प्रा.लि तथा सो को प्रबन्ध सञ्चालक/निर्देशक तथा महासंघकी अध्यक्ष घिमिरेलाई सरकारी लिखत किर्ते गरि सरकारी टेण्डर हात पारेको सम्बन्धमा मुलुकी अपराध संहिता २०७४ को दफा २७६, २७७, २७८ अन्तर्गतको लिखत कसुरमा कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी परिसर जाउलाखेल, ललितपुरमा २०८२ चैत २६ गते दरखास्त परेको थियो।

त्यसबेला, क्यान महासंघ अध्यक्ष घिमिरेको विरुद्धमा महासंघकै महासचिव चन्द्र विलास भुर्तेलले सरकारी कागज लिखत कसुरको छानविन गरी आवश्यक कार्यवाही गरिपाउँ भन्ने विषयसहित जाहेरी दर्ता गरेका थिए।

दर्ता नम्बर ७७९ रहेको र टेक्नोलोजीखबरले पाएको सो उजुरी पत्रमा कर्मचारी सञ्चय कोषको बोलपत्र नं. EPF/KS/GOOD/NCB/2080-81/DMS/01 को टेण्डर प्रकृ‌यामा भएको अनियमितता बारेमा उल्लेख गर्दै घिमिरेले सरकारी लिखत किर्ते गरि टेण्डर हात पारेको हुँदा मुलुकी अपराध संहिता २०७४ को दफा २७६, २७७, २७८ अन्तर्गतको लिखत कसुर भएको हुनाले उनलाई हदैसम्म‌को कार्यवाही गरिपाउन माग गरिएको छ।

सम्बन्धित समाचार-

क्यान महासंघ अध्यक्ष सुनैना घिमिरे पाण्डेले लिखत किर्ते गरेर संचय कोषको टेन्डर हात पारेको आरोपसहित ललितपुर प्रहरीमा जाहेरी

यसका साथै सोही विषयमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो।

प्रहरीमा गरिएको लिखत किर्तेको उक्त उजुरी फिर्ता लिने र घिमिरेले पदबाट राजीनामा दिने गरि सहमति गरिएको दोस्रो स्रोतले जानकारी दिएको छ।

“उनले उजुरी फिर्ता लिने भए अध्यक्ष पदबाट राजीनामा दिन तयार रहेको भनेपछि भद्र सहमति गरिएको हो। उनले राजीनामा पत्र बुझाईसकेकी छन् र मुद्दा फिर्ता लिने सहमति गरिएको छ,” दोस्रो स्रोतले दाबी गर्यो।3

उक्त स्रोतले राजीनामा दिएसँगै उनलाई एफएनसीसीआई चुनावमा पनि सहयोग गर्न सहमत भएको बताएको छ।

घिमिरेलाई किर्ते उजुरी परेपछि, सो बारेमा बुझ्न बयानका लागि भन्दै जिल्ला प्रहरी परिसर जाउलाखेल, ललितपुरले यसअघि एफएनसीसीआईको चुनाव तोकिएको दिनमानै कार्यालयमै बोलाएको थियो। उनलाई त्यस बारेमा घण्टौंसम्म सोधपुछ र केरकार गरिएको जानकार स्रोतले भनेको छ।

तर त्यसपछि उक्त मुद्दामा थप छानबिन गर्ने भन्दै उनलाई घर पठाईएको थियो।

उनले एफएनसीसीआई निर्वाचनमा हार/जित जे भएपनि क्यान महासंघ छोड्न सहमत भएसँगै राजीनामा दिएको र त्यसैका आधारमा उजुरी फिर्ता लिने सहमति भएको तेस्रो स्रोतले बताएको छ।

उनले क्यानको नेतृत्व छोड्ने र उजुरी फिर्ता लिने सहमति भएको हो। उनी एफएनसीसीआईमा हारे पनि वा जिते पनि त्यसले कुनै फरक हुनेछैन्, तेस्रो स्रोतले जिकिर गर्यो, “उनले सहमति भंग गरिन भने त्यसले अर्कै रुप लिनेछ।”

तेस्रो स्रोतले भने उजुरी फिर्ता गर्ने र हालका लागि थप प्रकृया अगाडि नबढाउने सहमति मात्र भएको दाबी गर्यो।

अध्यक्ष घिमिरेले कर्मचारी सञ्चय कोषको बोलपत्रमा सहभागी भएर टेन्डर जित्नको लागि कर चुक्ता प्रमाणपत्र किर्ते गरेको आरोप रहेको छ। उनको कम्पनीले उक्त टेन्डर हात पारेको थियो। सोही विषयमा किर्ते कागजातहरु प्रमाणसहित प्रहरी परिसर र अख्तियारमा उजुरी परेको थियो।

अध्यक्ष पाण्डेले दिएको राजीनामा हाल स्वीकृत नभएको र सो राजीनामा क्यान महासंघको प्रेसिडेन्सियल काउन्सिलले मात्र स्वीकृत गर्ने वा नगर्ने भन्ने प्रावधान रहेको बताईएको छ।

स्रोतहरुकाअनुसार, यसको लागि केहि दिनपछि बस्ने क्यान महासंघको प्रेसिडेन्सियल काउन्सिलले औपचारिक निर्णय र घोषणा गर्नेछ।

प्रकाशित: २१ बैशाख २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

ADB pledges 70 bln USD to boost energy, digital connectivity in Asia-Pacific

  • Technology Khabar
  • २१ बैशाख २०८३, सोमबार