भोडाफोनद्वारा बेलायतमा नयाँ ५जी आधारित फिक्स्ड वायरलेस एक्सेस होम ब्रोडब्यान्ड सेवा सुरु

  • Technology Khabar | ३१ बैशाख २०८३, बिहीबार
भोडाफोनद्वारा बेलायतमा नयाँ ५जी आधारित फिक्स्ड वायरलेस एक्सेस होम ब्रोडब्यान्ड सेवा सुरु

काठमाडौं ।

भोडाफोनले बेलायतमा फुल फाइबर सेवा उपलब्ध नभएका ग्राहकलाई लक्षित गर्दै नयाँ ५जी आधारित फिक्स्ड वायरलेस एक्सेस (एफडब्लुए) होम ब्रोडब्यान्ड सेवा सुरु गरेको छ।

मोबाइल अपरेटरले सोमबार ‘५जी ब्रोडब्यान्ड’ सार्वजनिक गर्दै यसले थप ३७ लाख बेलायती घर तथा भवनमा फुल फाइबरजस्तै गति उपलब्ध गराउने दाबी गरेको छ। कम्पनीका अनुसार यसअघि नै यसको फुल फाइबर सेवा २ करोड ३२ लाख घरसम्म पुगेको छ, जसले यसलाई बजारकै सबैभन्दा ठूलो फाइबर प्रदायक बनाएको छ।

यो सेवाको अधिकतम गति १५० एमबीपीएस रहनेछ भने केही स्थानमा ५० एमबीपीएस मात्र उपलब्ध हुनेछ। कम्पनीले यसलाई फुल फाइबरजस्तै भने पनि वास्तविक गति भने स्थानअनुसार फरक हुनेछ। तर पूर्ण फाइबर नभएका धेरै स्थिर ब्रोडब्यान्ड सेवाभन्दा यो छिटो हुने बताइएको छ।

टेलिकम्स डटकमका अनुसार यसको मूल्य पनि प्रतिस्पर्धात्मक राखिएको छ। उपकरणका लागि अग्रिम शुल्क लाग्ने छैन। २४ महिनाको सम्झौतामा ५० एमबीपीएस प्याकेजको मूल्य प्रतिमहिना २१ पाउन्डबाट सुरु हुनेछ भने ३० दिनको रोलिङ सम्झौताका लागि ३० पाउन्ड तिर्नुपर्नेछ।

भोडाफोनथ्रीका उपभोक्ता निर्देशक रब विन्टर्श्लाडेनले “अहिलेसम्म लाखौं घरधुरीले भरपर्दो नभएको र प्रायः ७४ एमबीपीएस मात्र पुग्ने सुस्त ब्रोडब्यान्डका लागि धेरै रकम तिरिरहेका छन्,” भन्दै “भोडाफोन ५जी ब्रोडब्यान्डमार्फत हामीले ती घरलाई कुनै जडान झन्झट, पर्खाइ वा हैरानीबिनाको छिटो विकल्प दिएका छौं” भने।

कम्पनीले इन्जिनियरको आवश्यकता नपर्ने इनडोर हबसहित ‘आउट अफ द बक्स’ सेटअप दिने जनाएको छ। आवश्यक परे बलियो सिग्नलका लागि बाहिरी हब पनि उपलब्ध गराइनेछ, जसलाई प्रयोगकर्ताले आफैं जडान गर्न सक्नेछन्। कम्पनीले भोलिपल्टै डेलिभरी सुविधा पनि दिने बताएको छ।

विन्टरशलाडेनले “जहाँ फुल फाइबर उपलब्ध छ त्यहाँ फुल फाइबर, नभएको ठाउँमा शक्तिशाली ५जी ब्रोडब्यान्ड र सजिलो तथा लचिलो इन्टरनेट चाहनेका लागि राम्रो विकल्प दिनु नै यो सेवाको उद्देश्य हो” भने।

तर वास्तविकता भने फरक छ। भोडाफोन ब्रान्डको फाइबर सेवा उपलब्ध भएका क्षेत्रमा बस्ने ग्राहकले ५जी ब्रोडब्यान्ड लिन पाउने छैनन्। यो सेवा केवल फाइबर कभरेज नभएका ग्राहकका लागि मात्र उपलब्ध हुनेछ।

यद्यपि बेलायतका धेरै बासिन्दाका लागि ५जी ब्रोडब्यान्ड उपयोगी हुन सक्ने देखिन्छ। तर यसले कम्पनीले सेवा “फुल फाइबर नपुगेका घर, भाडामा बस्ने, विद्यार्थी र लचिलो इन्टरनेट चाहनेहरूका लागि बनाइएको” भन्ने दाबी पूर्ण रूपमा सही नभएको संकेत गर्छ।

यसले गत वर्षको मर्जर सम्झौताअनुसार सन् २०३० सम्म बेलायतका ८२ प्रतिशत घरमा एफडब्लुए आधारित होम ब्रोडब्यान्ड उपलब्ध गराउने भोडाफोनथ्रीको प्रतिबद्धतामाथि पनि प्रश्न उठाएको छ, यद्यपि कम्पनीले त्यतिबेला ५जी नै हुने स्पष्ट पारेको थिएन।

सोमबारको घोषणामा कम्पनीले त्यो प्रतिबद्धता दोहोर्‍याएन। तर मर्जर स्वीकृत गराउन सहयोग गरेको ११ अर्ब पाउन्डको नेटवर्क लगानी कार्यक्रमबारे भने फेरि उल्लेख गर्‍यो।

कम्पनीका अनुसार उक्त लगानीले भोडाफोनथ्रीको ५जी कभरेज र क्षमता विस्तार गर्नेछ, जसले भविष्यमा अझ धेरै ग्राहकलाई ५जी होम ब्रोडब्यान्ड उपलब्ध गराउन मद्दत गर्न सक्छ।

प्रकाशित: ३१ बैशाख २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार