
काठमाडौं ।
ब्लू ओरिजिनले आफ्नो पहिलो चन्द्र अवतरण यानलाई आगामी चन्द्र अभियानका लागि तयार गर्न अमेरिकाभरका नासा केन्द्रहरूमा परीक्षण गरिरहेको छ।
“एण्ड्युरेन्स” नाम दिइएको उक्त यान ब्लू ओरिजिनको मानवविहीन ब्लू मून एमके१ परीक्षण ल्यान्डर हो, जसले भविष्यमा अन्तरिक्षयात्रीलाई चन्द्रमाको सतहसम्म लैजान सक्ने उन्नत एमके२ संस्करणका लागि आधार तयार गर्ने उद्देश्य राखेको छ।
लाइभसाइन्सका अनुसार ब्लू मून निजी क्षेत्रबाट विकास भइरहेका दुई चन्द्र ल्यान्डरमध्ये एक हो, जसलाई नासाले आफ्नो आर्टेमिस प्रोग्राम अन्तर्गत सहयोगका लागि छनोट गरेको छ। अर्को ल्यान्डर स्पेसएक्स को हो। दुवै यानले नासाको समयसीमा पूरा गर्न विभिन्न परीक्षण र योग्यता प्रक्रियाहरू पार गर्नुपर्नेछ।
नासा ले सन् २०२७ को अन्त्यतिर आर्टेमिस ३ प्रक्षेपण गर्ने लक्ष्य राखेको छ। उक्त अभियानमा चार अन्तरिक्षयात्रीलाई ओरायन क्याप्सुलमार्फत पृथ्वीको कक्षामा पठाइनेछ। त्यसक्रममा उनीहरूले ब्लू मून वा स्टारशिप वा दुवैसँग भेटघाट र डकिङ अभ्यास गर्नेछन्। नासाले प्रक्षेपणको समयमा जुन ल्यान्डर तयार हुन्छ त्यसैसँग उडान गर्न सकिने संकेत दिएको छ।
“एण्ड्युरेन्स” ले हालै नासा जोनसन स्पेस सेन्टरमा भ्याकुम च्याम्बर परीक्षण पूरा गरेको थियो र गत महिना फ्लोरिडास्थित केनेडी स्पेस सेन्टर नजिकै रहेको ब्लू ओरिजिनको केन्द्रमा पठाइएको थियो। अहिले उक्त ल्यान्डरलाई उडानअघि सञ्चार प्रणालीमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले कम्पनीको “लुनर प्लानेट १” भित्र रेडियो फ्रिक्वेन्सी अनुकूलता परीक्षणका लागि तयार पारिँदैछ।
नासा ले सन् २०२८ मा आर्टेमिस ४ अन्तर्गत पहिलो चन्द्र अवतरण गर्ने लक्ष्य राखेको छ। तर त्यसअघि स्टारशिप वा ब्लू मूनलाई अन्तरिक्षयात्रीलाई चन्द्र सतहमा पुर्याउन प्रमाणित गर्नुअघि विभिन्न परीक्षण पूरा गर्नुपर्नेछ। त्यसमा मानवविहीन चन्द्र अवतरण पनि समावेश छ जुन ब्लू ओरिजिनले यसै वर्ष “एण्ड्युरेन्स” मार्फत गर्ने आशा गरेको छ।
सफल अवतरणका लागि यानले स्वचालित नेभिगेसन, क्रायोजेनिक इन्धन स्थानान्तरण र दीर्घकालीन भण्डारण क्षमतासमेत प्रदर्शन गर्नुपर्नेछ। साथै चन्द्र कक्षामा पुनः फर्किन सक्ने क्षमता पनि प्रमाणित गर्नुपर्नेछ।
“एण्ड्युरेन्स” को अवतरण अभियानअन्तर्गत नासाको कमर्सियल लुनर पेलोड सर्भिसेज कार्यक्रमका लागि दुई वैज्ञानिक प्रदर्शन पेलोड पनि समावेश हुनेछन्। यो कार्यक्रम निजी क्षेत्रसँगको सहकार्यमा चन्द्रमामा उपकरण पठाएर भविष्यमा दीर्घकालीन मानव बसोबासका लागि आवश्यक प्रविधि विकास गर्ने उद्देश्यमा केन्द्रित छ।
“एण्ड्युरेन्स” सन् २०२६ को अन्त्यअघि अन्तरिक्षमा पुग्न सफल हुन्छ वा हुँदैन भन्ने कुरा आगामी परीक्षण र ब्लू ओरिजिनले सामना गर्न सक्ने प्राविधिक समस्यामा निर्भर रहनेछ। साथै एमके१ का बाँकी प्रक्षेपणपूर्व परीक्षणसँगै यसको प्रक्षेपणका लागि प्रयोग हुने न्यू ग्लेन रकेट हाल दोस्रो चरणको असफलतामाथि भइरहेको एफएए अनुसन्धानका कारण ग्राउन्डेड अवस्थामा छ।
विकास समयरेखामा स्टारशिप केही अगाडि देखिएको छ, जसले हालसम्म ११ वटा परीक्षण उडान गरिसकेको छ र १२औं उडान छिट्टै हुने अपेक्षा गरिएको छ। तर उक्त यानले अझै पृथ्वीको पूर्ण कक्षा परिक्रमा गरेको छैन र यसले पनि ब्लू मून जस्तै सबै परीक्षण र योग्यता प्रक्रिया पूरा गर्नुपर्नेछ।
नासाले आर्टेमिस ३ का लागि कुन स्तरसम्म विकास भएको अवस्थामा ल्यान्डरलाई योग्य मान्ने हो भन्ने अझ स्पष्ट छैन। उदाहरणका लागि, अन्तरिक्षयात्रीहरू पृथ्वीको कक्षामै ल्यान्डरभित्र प्रवेश गर्नेछन् वा होइनन्, ओरायनले यानसँग डकिङ गर्नेछ वा केवल नजिकबाट सञ्चालन अभ्यास मात्र गर्नेछ भन्नेबारे नासाले अहिलेसम्म घोषणा गरेको छैन।
प्रकाशित: २९ बैशाख २०८३, मंगलवार