अब सरकारी वेबसाइट स्क्रिन रिडरले पनि पढ्न सक्ने

  • Technology Khabar | २९ बैशाख २०८३, मंगलवार
अब सरकारी वेबसाइट स्क्रिन रिडरले पनि पढ्न सक्ने
च्याटजीपीटीमार्फत बनाइएको सांकेतिक तस्बिर

काठमाडौं ।

नेपालका ३०० भन्दा बढी वेबसाइटहरू प्राविधिक रूपमा अपाङ्गतामैत्री बनेसँगै, वेबसाइटमा राखिने सामग्रीहरूलाई समेत पहुँचयोग्य बनाउने उद्देश्यले सरकारी सूचना अधिकारीहरूका लागि दोस्रो चरणको “डिजिटल एक्सेसिबिलिटी” कार्यशाला काठमाडौंमा सम्पन्न भएको छ।

ओपन इन्टरनेट नेपालको पहल तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सूचना प्रविधि विभागको सहकार्यमा आयोजित उक्त तालिममा नागरिकको प्रत्यक्ष सरोकार रहने विभिन्न सरकारी निकायका सूचना अधिकारीहरू सहभागी भएका थिए।

कार्यशालामा वेबसाइटमा अपाङ्गतामैत्री कन्टेन्ट सूचना, डकुमेन्ट, फोटो तथा डिजिटल सामग्री कसरी तयार गर्ने र अपलोड गर्ने, साथै समावेशी सूचना प्रवाह किन आवश्यक छ भन्ने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

यसअघि ओपन इन्टरनेट नेपालले सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली जीआईडब्लूएमएस अन्तर्गत रहेका सरकारी वेबसाइटहरूको पहुँचयोग्यताको परीक्षण गरेको थियो।

उक्त अध्ययन तथा सिफारिसका आधारमा वेबसाइटहरूको पहुँचयोग्यता सुधार गर्न ओपन इन्टरनेट नेपाल द्वारा प्राविधिक गाइडलाइन तथा सहयोग उपलब्ध गराइएको थियो। सोही पहलको परिणामस्वरूप ३०० भन्दा बढी सरकारी वेबसाइटहरू हाल किबोर्ड र स्क्रिन रिडरको सहायताले प्रयोग गर्न सकिने भएका छन्।

सूचना प्रविधि विभागले सञ्चालन गरिरहेको जीआईडब्लूएमएस प्रणालीलाई नै पहुँचयोग्य बनाउने पहलले एकैपटक सयौँ सरकारी वेबसाइटहरूलाई प्राथमिक रूपमा अपाङ्गतामैत्री बनाएको हो। तर, सफ्टवेयर वा प्रणाली मात्र पहुँचयोग्य भएर पर्याप्त नहुने र त्यसमार्फत प्रवाह गरिने कन्टेन्ट समेत समावेशी तथा पहुँचयोग्य हुनुपर्ने आवश्यकता महसुस गर्दै दुई चरणको तालिम आयोजना गरिएको थियो।

पहिलो चरणमा मन्त्रालयका सूचना प्रविधि अधिकारीहरूलाई प्रशिक्षण दिइएको थियो भने दोस्रो चरणमा विभाग तथा नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने निकायका सूचना अधिकारीहरूलाई सहभागी गराइएको थियो।

कार्यक्रममा डिजिटल एक्सेसिबिलिटी विज्ञ सागर प्रसाईं तथा दृष्टिविहीन भएर पनि प्रविधिमा उत्कृष्ट दखल राख्ने आर्या निरौलाले स्रोत व्यक्तिको रूपमा प्रशिक्षण दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले तालिममा सिकेका विषयहरूलाई तत्काल कार्यान्वयनमा लैजान सूचना अधिकारीहरूलाई आग्रह गर्दै समावेशी सूचना प्रवाहलाई सरकारी सेवाको अभिन्न अङ्ग बनाउनुपर्ने उल्लेख गर्दै निर्देशन समेत दिएकी थिइन्।

त्यसैगरी ओपन इन्टरनेट नेपाल (इन्टरनेट सोसाइटी नेपाल च्याप्टर) का अध्यक्ष आशीर्वाद त्रिपाठीले दीर्घकालीन वकालत तथा सहकार्यको परिणामस्वरूप सरकारी वेबसाइटहरूलाई पहुँचयोग्य बनाउने प्रयासले सार्थकता पाएको बताए।

उनले इन्टरनेटलाई खुला, समावेशी, सुरक्षित र विश्वासयोग्य बनाउन संस्था निरन्तर प्रतिबद्ध रहने उल्लेख गर्दै सहयोग गर्ने सम्पूर्ण निकायप्रति धन्यवाद व्यक्त गरे।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्का, सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साह, उपमहानिर्देशक सुभाष ढकाल, निर्देशक चुडामणि ढुङ्गाना, यूनेस्कोकाठमाडौंका प्रतिनिधिहरू तथा अपाङ्गताको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: २९ बैशाख २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...