
काठमाडौं ।
नासाको क्युरियोसिटी रोभर हालै मंगल ग्रहको चट्टान ड्रिल गर्ने क्रममा समस्यामा परेको थियो। अप्रिल २९ मा क्युरियोसिटीका क्यामेराले खिचेको दृश्यमा नमुना संकलन गर्ने प्रयासपछि एउटा चट्टान ड्रिल बिटमा अड्किएको देखिएको थियो।
“अटाकामा” नाम दिइएको उक्त चट्टान करिब १.५ फिट चौडा र झन्डै ३० पाउन्ड तौलको रहेको नासाले जनाएको छ। रोभरले मंगल ग्रहमा १४ वर्षदेखि अन्वेषण गरिरहे पनि यस्तो घटना पहिलोपटक भएको हो। चट्टान छुटाउन ड्रिललाई कम्पन गराइए पनि सुरुमा सफल हुन सकेन।
नासाले ब्लग पोस्टमा लेखेको छ, “जब रोभरले आफ्नो हात फिर्ता तान्यो, सम्पूर्ण चट्टान जमिनबाट उठेर ड्रिल बिट वरिपरि रहेको स्थिर स्लिभमा झुन्डिएको थियो। यसअघि ड्रिलिङ गर्दा चट्टानका माथिल्ला तह फुट्ने वा छुट्टिने गरेका थिए, तर कुनै चट्टान ड्रिल स्लिभमै अड्किएको भने पहिलोपटक हो।”
इन्ग्याजेटका अनुसार केही दिनको थप प्रयासपछि टोलीले ड्रिललाई बढी झुकाएर, घुमाएर, कम्पन गराएर र ड्रिल बिट घुमाउँदै चट्टान छुटाउन सफल भयो। मे १ मा खिचिएका तस्वीरमा चट्टान क्युरियोसिटी बाट छुट्टिएर टुक्रिएको देखिन्छ।
क्युरियोसिटी रोभरले मंगल ग्रहको सतहबाट दर्जनौं नमुना ड्रिलमार्फत संकलन गरिसकेको छ। ड्रिलपछि रोभरले चट्टानको धुलोलाई संकलन गरी आफ्नो स्याम्पल एनालाइसिस एट मार्स र केमिस्ट्री एण्ड मिनरोलोजी उपकरणमार्फत त्यसको संरचना विश्लेषण गर्छ। अब समस्या समाधान भएपछि रोभर फेरि आफ्नो काममा फर्किएको छ।
प्रकाशित: २८ बैशाख २०८३, सोमबार