‘कृषि अनुसन्धानलाई नवप्रवर्तन र उद्योगसँग जोड्नुपर्छ’

  • Technology Khabar | २५ बैशाख २०८३, शुक्रबार
‘कृषि अनुसन्धानलाई नवप्रवर्तन र उद्योगसँग जोड्नुपर्छ’

काठमाडौं ।

राष्ट्रिय योजना आयोगका सदस्य डा.देवेन्द्र गौचनले जैविक विविधता, जल, जमिन र जङ्गललाई उपयोग गर्दै कृषि अनुसन्धानलाई नवप्रवर्तन र उद्योगसँग जोड्नुपर्ने बताएका छन्।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को ‘३५ औँ वार्षिकोत्सव समारोहमा आज आयोजित कार्यक्रममा उनले कृषि अनुसन्धानका संरचनाहरूलाई स्थानीय तहसम्म विकास गर्दै किसान, स्थानीय तह, विश्व विद्यालय, निजी तथा सार्वजनिक क्षेत्र र गैरआवासीय नेपालीहरू समेतलाई जोडेर जानुपर्ने बताए।

नेपाली समाजमा सहरीकरण र उपभोगमा आएको परिवर्तनले कृषि उत्पादनको माग बढ्दै गएको बताउँदै उनले राष्ट्रिय कृषि अनुसन्धान प्रणालीमा सार्वजनिक लगानीलाई जोड दिनुपर्ने उल्लेख गरे।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर राजेन्द्रकुमार मिश्रले नेपाल कृषि अनुसन्धान परिषद्ले ३५ वर्षको समयसम्म नेपालको कृषि क्षेत्रको विकास र अनुसन्धानमा पुर्‍याएको योगदान महत्त्वपूर्ण भएको बताए। उनले कृषि क्षेत्रको पुनःसंरचना र ऐन संशोधनको काम सरकारले अगाडि बढारहेको जानकारी गराए।

कायममुकायम कार्यकारी निर्देशक डाक्टर श्रीमत श्रेष्ठले कृषि ऐन २०४८ अनुसार स्थापित स्वायत्त संस्था यस परिषद्ले देशको खाद्य सुरक्षाका साथै आत्मनिर्भर बन्न ध्यान दिएर प्रविधि विकासमा अगाडि बढिरहेको जानकारी गराए। समग्र कृषि क्षेत्रको बजेटमध्ये छ प्रतिशत बजेट मात्रै कृषि अनुसन्धानका लागि छुट्याइएको बताउँदै उनले यो बजेट अपर्याप्त भएको बताए। नेपालमा विसं २०१० सालदेखि नै आधुनिक कृषिको विकास सुरुआत भएको भए पनि २०४८ सालपछि व्यवस्थित कृषि अनुसन्धानको काम भएको उनले बताए।

समारोहमा वैज्ञानिक, प्राविधिक, लेखा र प्रशासन समूहका कर्मचारीहरूलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो। रासस

प्रकाशित: २५ बैशाख २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...