बिचुटेन डाटा भल्टले नेपालमा टियर–४ डाटा सेन्टर बनाउने घोषणा

  • Technology Khabar | २६ बैशाख २०८३, शनिबार
बिचुटेन डाटा भल्टले नेपालमा टियर–४ डाटा सेन्टर बनाउने घोषणा
एआईको सहयोगमा तयार पारिएको डाटा सेन्टरको सांकेतिक तस्बिर।

काठमाडौं ।

गुगलसँगको अन्तर्राष्ट्रिय साझेदारीसहित चोभारमा टियर–४ डाटा सेन्टर बन्ने भएको छ। यसका लागि हालै निजी लगानीकर्ता र विश्वस्तरीय प्रविधि कम्पनीहरूले काठमाडौं र वीरगञ्जमा टियर–४ हाइपरस्केल डाटा सेन्टर निर्माणका लागि सहकार्य गरिरहेका छन्।

बिचुटेन डाटा भल्ट नामक कम्पनीले नेपालमा टियर–४ हाइपरस्केल डाटा सेन्टर निर्माण गर्ने योजना सार्वजनिक गरेको हो। कम्पनीले यो महत्वाकांक्षी परियोजनामार्फत नेपाललाई दक्षिण एसियामा भरपर्दो डिजिटल हबका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।

डाटा सेन्टर काठमाडौंको चोभार र वीरगञ्ज गरी दुई स्थानमा निर्माण गरिनेछ। प्रारम्भिक चरणमा २४० किलोवाट क्षमताबाट सुरु गरिने यो परियोजनालाई सन् २०३० सम्म ५ मेगावाट क्षमतासम्म विस्तार गर्ने योजना छ।

कम्पनीका अनुसार टियर–४ स्तरको यो डाटा सेन्टरले ९९.९९५ प्रतिशत अपटाइम सुनिश्चित गर्नेछ। यसले बैंकिङ, दूरसञ्चार तथा सरकारी डिजिटल सेवाजस्ता महत्वपूर्ण क्षेत्रका लागि अत्यन्त भरपर्दो सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।

परियोजनामा नवीन अग्रवाल, मीन अग्रवाल (फेयर ग्रुप), अनुज कियाल (कियाल ग्रुप), विशाल कुमार जाटिया र शरद गोयललगायत नेपाली उद्यमीहरूको सहभागिता रहेको छ।

बिचुटेन डाटा भल्टले गुगल क्लाउड, एएमडी, माइक्रोन र भीभीडीएनजस्ता विश्वस्तरीय प्रविधि कम्पनीसँग रणनीतिक साझेदारी पनि गरेको छ। यी सहकार्यहरूले नेपालमा उन्नत कम्प्युटिङ, क्लाउड पूर्वाधार तथा अत्याधुनिक प्रविधि भित्र्याउने अपेक्षा गरिएको छ।

कम्पनीको दीर्घकालीन योजनामा स्थानीय डाटा सार्वभौमिकता सुनिश्चित गर्ने, विदेशी सर्भरमाथिको निर्भरता घटाउने तथा राष्ट्रिय साइबर सुरक्षा पूर्वाधारलाई मजबुत बनाउने लक्ष्य समावेश छ।

यसका साथै, भविष्यमा नेपालमै सर्भर, ल्यापटप, ट्याब्लेट र क्यामरा उत्पादन गर्ने सम्भावनाबारे पनि अध्ययन गरिने कम्पनीले जनाएको छ। यसले नेपालको प्रविधि क्षेत्रलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

डाटा सेन्टर पूर्ण रूपमा जलविद्युत् ऊर्जाबाट सञ्चालन गरिनेछ। यसले परियोजनालाई वातावरणमैत्री र ऊर्जा–दक्ष बनाउने बताइएको छ।

प्रकाशित: २६ बैशाख २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...