
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको रिक्त कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ।
मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै इच्छुक तथा योग्य व्यक्तिहरूबाट उक्त पदका लागि दरखास्त माग गरेको हो।
सूचनाअनुसार आवेदन पेस गर्ने अन्तिम मिति २०८३ साल जेठ ५ गते कार्यालय समयसम्म तोकिएको छ।
मन्त्रालयले आवश्यक न्यूनतम योग्यता, दरखास्त फाराम तथा संलग्न गर्नुपर्ने कागजातसम्बन्धी विस्तृत विवरण आफ्नो आधिकारिक वेबसाइटमा उपलब्ध गराएको जनाएको छ।
सूचनाअनुसार कम्तीमा तीस वर्ष उमेर पूरा भएको र साठी वर्ष उमेर ननाघेको नेपाली नागरिक हुनुपर्नेछ भने मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ्ग, इलेक्ट्रिकल इन्जिनियरिङ्ग, इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग, मेकानिकल इन्जिनियरिङ्ग, सूचना प्रविधि वा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने छ।
यसैगरी कानून बमोजिम दर्ता भएको सरकारी, निजी, गैरसरकारी निकायको व्यवस्थापकीय तहमा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेको तथा भविष्यमा सरकारी सेवा वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व रहेको संस्थाको सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त नभएको योग्यता तोकिएको छ।
यसका साथै भ्रष्टाचार, जबरजस्ती करणी, लैङ्गिक हिंसा, मानव बेचबिखन तथा ओसार पसार, लागू औषध, सम्पत्ति शुद्धीकरण, राहदानी दूरुपयोग, अपहरण, सङ्गठित अपराध वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको, कुनै विदेशी राष्ट्रको स्थायी आवसीय अनुमतिपत्र वा नागरिकता नलिएको तथा प्रचलित कानून बमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको न्यूनतम योग्यता तोकिएको छ।
सूरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदको लागि दरखास्त आह्वान सम्बन्धी सूचना।_eu9njwxप्रकाशित: २६ बैशाख २०८३, शनिबार