ठगी नियन्त्रण गर्न डिजिटलाइजेसन प्रक्रिया सुरु : श्रममन्त्री यादव

  • Technology Khabar | २४ बैशाख २०८३, बिहीबार
ठगी नियन्त्रण गर्न डिजिटलाइजेसन प्रक्रिया सुरु : श्रममन्त्री यादव

काठमाडौं ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगारबाट हुने ठगी नियन्त्रण गर्न डिजिटलाइजेसन प्रक्रिया सुरु गरेको बताएका छन्।

यसैअन्तर्गत आफू मन्त्री भएयता २५ दिनभित्रमा वैदेशिक रोजगार विभागमा परेका ४० हजार मुद्दामध्ये, १३ हजार मुद्दालाई डिजिटलाइजेसन गर्ने तयारी गरेको उनले बताए।  जसमध्ये,  आठ हजार मुद्दा डिजिटलाइजेसन भइसकेको मन्त्री यादवले जानकारी दिए।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा मन्त्री यादवले उक्त जानकारी दिएका हुन्।  उनका अनुसार १३ हजार मुद्दा कारबाही प्रक्रियामा छ।

यसैका लागि मन्त्रालयले १० जना अनुसन्धान अधिकृतको माग गरेको छ।   “आठ हजार मुद्दा डिजिटलाइज गरिसकेका छौं”, उनले भने, “अरु हुँदैछ।  सत्ताइस हजार मुद्दामध्ये, केही मुद्दा जेनजी आन्दोलनमा जलेको अवस्थामा छन्। ”

मन्त्री यादवले विमानस्थलको आगमन र प्रस्थान विन्दुमा आएकामध्ये, ४३४ जनालाई वैदेशिक रोजगार जाँदा भोग्नुपरेका समस्या विषयमा १७ वटा प्रश्न सोधेर वस्तुस्थितिका जानकारी लिने कार्य  पनि मन्त्रालयले गरिसकेको बताए।

जसमध्ये, धेरैले उत्तर दिन चाहेको र उत्तर दिएकामध्ये, ३८ प्रतिशत व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएको भेटिएको उनको भनाइ छ।

उनले अब मन्त्रालयले सबै स्थानीय तहमै श्रम स्वीकृति दिने व्यवस्था गर्न लागेको जानकारी दिए। आगामी साताभित्रै यो व्यवस्था लागू हुने उनको भनाइ थियो।

त्यस्तै वैदेशिक रोजगारसँग सम्बन्धित समस्या हेल्लो सरकारबाट र ह्वाट्सएपबाट आएको गुनासोका आधारमा मन्त्रालयले २५ दिनभित्र १७८ जनालाई उद्धार गरेको उनले बताए।  उनले भने, “पच्चीस दिनमा नौ जना ठगी गर्नेलाई कारबाही गरेका छौँ, वैदेशिक रोजगारमा ठगी गर्नेको ‘कनेक्सन’ नै भेटाउन चुनौती छ। ”

बैठकमा समितिका सभापति रहबर अन्सारीले वैदेशिक रोजगारको समस्या आजको भोलि नै शून्य गराउन सकिने अवस्था नरहेको बताउदै यसको सुधार गर्न कानुनी सुधारमा जोड दिए।

बैठकमा सांसदहरु बुद्धिप्रसाद पन्त, प्रकाशसिंह कार्की, प्रकाश पाठक, रन्जु दर्शना, टेकबहादुर शाक्य, प्रभा कार्की लगायतले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने, स्वदेशमै श्रमिकलाई सम्मानपूर्वक काम गर्ने वातावरण सिर्जना गर्ने, श्रमिक र उद्यमीबीचको सन्तुलन बनाउन नीतिगत योजना ल्याउनेलगायत विषयमा आफ्ना सुझाव राखेका थिए।-रासस

प्रकाशित: २४ बैशाख २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार