इमेज एआई मोडेलहरूको सार्वजनिक रिलिजले मोबाइल एपहरूको वृद्धि तीव्र बनाउँदैछ: रिपोर्ट

  • Technology Khabar | २३ बैशाख २०८३, बुधबार
इमेज एआई मोडेलहरूको सार्वजनिक रिलिजले मोबाइल एपहरूको वृद्धि तीव्र बनाउँदैछ: रिपोर्ट
एआईमार्फत् बनाइएको सांकेतिक तस्बिर

काठमाडौं ।

इमेज एआई मोडेलहरूको सार्वजनिक रिलीजले मोबाइल एपहरूको वृद्धि तीव्र बनाइरहेको छ। यसले परम्परागत च्याटबोट मोडेल अपडेटभन्दा ६.५ गुणा बढी डाउनलोड ल्याइरहेको नयाँ रिपोर्टले देखाएको छ। यो रिपोर्ट एप विश्लेषण कम्पनी एपफिगर्सले सार्वजनिक गरेको हो।

टेकक्रञ्चका अनुसार यो परिवर्तन अघिल्ला समयभन्दा फरक हो, जहाँ नयाँ संवादात्मक (कनभर्सेसनल) मोडेल र भ्वाइस च्याटजस्ता फिचरहरूले बढी माग सिर्जना गर्ने गर्थे।

उदाहरणका लागि च्याटजीपीटी र जेमिनी दुवै एपहरूले आफ्ना इमेज मोडेल सार्वजनिक गरेपछि करोडौं नयाँ डाउनलोड थपेका छन्।

ईमेज एआई
तस्बिर: एपफिगर्स

गुगलको जेमिनी एपमा नानो बनाना इमेज मोडेल सार्वजनिक भएपछि २८ दिनभित्र थप २ करोड २० लाखभन्दा बढी डाउनलोड थपिएको थियो। गत वर्ष अगस्टमा जेमिनी २.५ फ्ल्याश इमेज मोडेल सार्वजनिक भएपछि एप डाउनलोड ४ गुणाभन्दा बढीले बढेको देखिएको छ।

यसैबीच च्याटजीपीटीले आफ्नो जीपीटी-४ओ इमेज मोडेल सार्वजनिक गरेपछि २८ दिनमा १ करोड २० लाखभन्दा बढी नयाँ इन्स्टल थपेको थियो। एपफिगर्सका अनुसार यो संख्या जीपीटी-४ओ, जीपीटी-४.५ र जीपीटी-५ जस्ता अन्य मोडेल अपडेटभन्दा करिब ४.५ गुणा बढी हो।

ईमेज एआई
तस्बिर: एपफिगर्स

अन्य कम्पनीहरूले पनि यस्तै प्रवृत्ति देखाएका छन्, यद्यपि सानो स्तरमा। मेटा एआई ले आफ्नो भिडियो-आधारित फिचर भाइब्स सार्वजनिक गरेपछि २०२५ सेप्टेम्बरमा २८ दिनभित्र करिब २६ लाख डाउनलोड थपिएको अनुमान गरिएको छ।

तर रिपोर्टले चेतावनी पनि दिएको छ कि डाउनलोड बढ्नु भनेकै आम्दानी बढ्नु हो भन्ने छैन।

नयाँ इमेज मोडेलहरूले प्रयोगकर्तालाई एप डाउनलोड गर्न र नयाँ फिचर प्रयोग गर्न प्रेरित गर्छन्, तर त्यसले उनीहरूलाई भुक्तानी गर्ने ग्राहकमा रूपान्तरण गर्ने ग्यारेन्टी गर्दैन। उदाहरणका लागि जेमिनीको नानो बनानाले डाउनलोड धेरै बढाए पनि २८ दिनमा करिब १ लाख ८१ हजार डलर मात्रै आम्दानी गराएको थियो। मेटा एआईको भाइब्स फिचरले पनि डाउनलोड बढायो, तर उल्लेखनीय आम्दानी ल्याउन सकेन।

यीमध्ये च्याटजीपीटी मात्रै यस्तो थियो जसले बढेको प्रयोगकर्ताको ध्यानलाई आम्दानीमा रूपान्तरण गर्न सफल भयो। ओपनएआईको जीपीटी-४ओ इमेज मोडेलले सार्वजनिक भएपछि २८ दिनमा करिब ७ करोड डलर उपभोक्ता खर्च ल्याएको अनुमान गरिएको छ। रिपोर्टमा डीपसिक पनि समावेश गरिएको थियो, तर यसले समान ढाँचा पछ्याएन।

ईमेज एआई
तस्बिर: एपफिगर्स

डीपसिक आर१ ले २०२५ जनवरीमा सार्वजनिक भएपछि २ करोड ८० लाख डाउनलोड ल्याएको थियो, तर यो सामान्य मोडेल अपडेटभन्दा फरक थियो। यो कम्पनीको ठूलो ब्रेकथ्रु क्षण थियो, जहाँ कम लागतमा एआई मोडेल प्रशिक्षण गर्ने प्रविधिका कारण यसले अचानक लोकप्रियता पाएको थियो। यस घटनाले जिज्ञासाले पनि डाउनलोड बढाउन सक्छ भन्ने देखाउँछ, यद्यपि यस अवस्थामा रुचि इमेज मोडेलसँग सम्बन्धित थिएन।

प्रकाशित: २३ बैशाख २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार