२०८२ चैत्र मसान्तसम्म मोबाइल ब्रोडब्याण्ड चलाउने २ करोड ७४ लाख हाराहारी, फोरजीका बढेसँगै थ्रीजीका घट्दो क्रममा

  • Technology Khabar | २२ बैशाख २०८३, मंगलवार
२०८२ चैत्र मसान्तसम्म मोबाइल ब्रोडब्याण्ड चलाउने २ करोड ७४ लाख हाराहारी, फोरजीका बढेसँगै थ्रीजीका घट्दो क्रममा

काठमाडौं ।

नेपालमा चैत्र मसान्तसम्म मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको संख्या २ करोड ७३ लाख ७१ हजार ९७२ पुगेको छ।

यो सङ्ख्या चालु आर्थिक वर्षको सो अवधिसम्म थ्रीजी र फोरजी सेवा लिनेहरु मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ताको समग्र आँकडा हो।

हालै नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८२ चैत्र मसान्तसम्मको तथ्यांक अनुसार मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रयोगकर्ताहरुको संख्या अघिल्लो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा १३ लाख ८६ हजार ६७० ले बढेको हो। यो सङ्ख्या गत आर्थिक वर्षको चैत्र मसान्तसम्म २ करोड ५९ लाख ८५ हजार ३०२ रहेको थियो।

२०८२ चैत्र महिनासम्मको समग्र २ करोड ७३ लाख ७१ हजार ९७२ ग्राहकमध्ये नेपाल टेलिकमका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या १ करोड ५२ लाख ५७ हजार ३७२ रहेको छ।

यो सङ्ख्यामा टुजीका प्रयोगकर्ता शून्य छ भने थ्रीजीका ६ लाख ८३ हजार १६३ तथा फोरजीका १ करोड ४४ लाख ८४ हजार २०१ समावेश छन्।

तथ्यांकअनुसार एनसेलका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ता  १ करोड, २१ लाख, १४ हजार ६०० रहेका छन्। यीमध्ये थ्रीजीका प्रयोगकर्ता ९० हजार ६१ र फोरजी १ करोड २० लाख २४ हजार ५३९ रहेका छन्।

फोरजी

टेलिकम र एनसेल दुवैले थपे 

२०८१ चैत्र मसान्तको तुलनामा २०८२ चैत्र मसान्तसम्म नेपाल टेलिकमले फोरजी सेवा लिने ग्राहक उल्लेख्य थपेको छ।

फोरजीका हकमा १ वर्षमा नेपाल टेलिकमले १० लाख ७० हजार १९० ग्राहक थपेको छ। २०८१ चैत्र मसान्तसम्म नेपाल टेलिकमका फोरजी ग्राहक १ करोड ३५ लाख ४ हजार १९ थिए भने २०८२ चैत्रमा आइपुग्दा यो सङ्ख्या १ करोड ४५ लाख ७४ हजार २०९ पुगेको छ।

एनसेलले पनि एक वर्षमा ३ लाख ४९ हजार ३०२ ग्राहक थपेको प्रतिवेदनले देखाएको छ। २०८१ चैत्र मसान्तसम्म एनसेलका फोरजी ग्राहक १ करोड १६ लाख ७५ हजार ५०७ थिए भने २०८२ चैत्रमा आइपुग्दा बढेर यो सङ्ख्या १ करोड २० लाख २४ हजार ५३९ पुगेको छ।

थ्रीजी

टेलिकमले थप्यो, एनसेलले उल्लेख्य गुमायो

२०८२ चैत्र महिनासम्ममा नेपाल टेलिकमले आफ्ना थ्रीजी प्रयोगकर्ताको सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३ हजार ८२१ ले थपेको छ। हाल नेपाल टेलिकमका थ्रीजी प्रयोगकर्ता ६ लाख ८३ हजार १६३ रहेका छन्। यो आँकडा २०८१ चैत्र मसान्तसम्म ६ लाख ७९ हजार ३४२ रहेको थियो।

एनसेलले पनि ३६ हजार ३७३ ग्राहक गुमाउँदै समग्रमा आफ्ना थ्रीजी प्रयोगकर्ताको सङ्ख्या ९० हजार ६१ मा झारेको छ। यो आँकडा २०८१ चैत्र मसान्तसम्म १ लाख २६ हजार ४३४ रहेको थियो।

समग्रमा हेर्दा एक वर्षमा मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ता केही बढेका छन्। तीमध्ये नेपाल टेलिकमले  थ्रीजी र फोरजी दुवैमा थपेको छ भने एनसेलले थ्रीजीमा उल्लेख्य गुमाए पनि फोरजीमा प्रयोगकर्ता उल्लेख्य थपेको प्रतिवेदनले देखाएको छ।

प्रकाशित: २२ बैशाख २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार