आर्टेमिस ३ को प्रक्षेपण सन् २०२७ अन्त्यतिर सारियो: के नासाले फेरि मानिसलाई चन्द्रमामा अवतरण गराउन सक्ला?

  • Technology Khabar | २१ बैशाख २०८३, सोमबार
आर्टेमिस ३ को प्रक्षेपण सन् २०२७ अन्त्यतिर सारियो: के नासाले फेरि मानिसलाई चन्द्रमामा अवतरण गराउन सक्ला?
फाइल तस्बिर

काठमाडौं ।

आर्टेमिस ३ लाई सन् २०२७ को अन्त्यतिर सारिएको छ। अब ‘के नासा ले २०२८ मै फेरि मानिसलाई चन्द्रमामा अवतरण गराउन सक्छ?’ भन्ने प्रश्न उठेको छ।

अप्रिलको सुरुमा चार अन्तरिक्ष यात्रीको टोलीले १० दिने मिशनमा चन्द्रमाको परिक्रमा गरेर पृथ्वी फर्किएपछि आर्टेमिस २ ले विश्वको ध्यान तान्यो। यो आर्टेमिस प्रोग्राम अन्तर्गत पहिलो मानवयुक्त उडानका साथै आधा शताब्दीभन्दा बढीपछि पहिलो चन्द्र मिशन पनि थियो।

मिशनअघि ज्यारेड इसाकम्यानले आर्टेमिस कार्यक्रमको पुनर्संरचना घोषणा गर्दै आगामी दशकमा चन्द्रमामा स्थायी मानव आधार स्थापना गर्ने लक्ष्य प्रस्तुत गरेका थिए। उनले स्पेस लञ्च सिस्टम (एसएलएस) को प्रक्षेपण आवृत्ति बढाएर मिशनबीचको अन्तर केही वर्षबाट घटाएर करिब १० महिनामा ल्याउने योजना पनि बताए।

स्पेस डटकमका अनुसार तर आर्टेमिस ३ मा परिवर्तन गरिएको छ। सुरुमा यो पहिलो मानव अवतरण मिशन हुने भनिएको भए पनि अब यसलाई पृथ्वीको कक्षामा ओरायन र निजी कम्पनीहरूले बनाएका लुनार ल्यान्डरबीच मिलान र डकिङ परीक्षण गर्ने मिशनका रूपमा पुनःडिजाइन गरिएको छ।

नासाले स्पेसएक्स र ब्लु ओरिजिनसँग मिलेर लुनार ल्यान्डर बनाउँदैछ, जसले भविष्यमा अन्तरिक्ष यात्रीलाई चन्द्र सतहमा पुर्‍याउने लक्ष्य राखेको छ। यी ल्यान्डरहरू—स्टारशिप र ब्लुमून लाई २०२८ मा आर्टेमिस ४ र आर्टेमिस ५ मा प्रयोग गर्ने योजना छ।

तर त्यसभन्दा अघि यी ल्यान्डरहरूले ओरायनसँग सफल डकिङ, अन्तरिक्षमै इन्धन भर्ने र चन्द्रमामा अवतरण तथा फर्कने परीक्षणहरू पूरा गर्नुपर्छ। यी सबै कामहरू अहिले पनि प्रारम्भिक चरणमै छन्।

विशेषगरी स्टारशिप र ब्लु मून दुवैले क्रायोजेनिक इन्धन प्रयोग गर्छन्, जसलाई लामो समय सुरक्षित राख्न कठिन हुन्छ। साथै अन्तरिक्षमै इन्धन स्थानान्तरण गर्ने प्रविधि अझै परीक्षणमै छैन।

नासा ले मानव पठाउनु अघि दुवै कम्पनीबाट बिना चालक सफल चन्द्र अवतरण र पुनःउडान प्रदर्शन पनि चाहेको छ। तर हाल दुवै कम्पनी आफ्ना डिजाइन परीक्षणकै प्रारम्भिकदेखि मध्य चरणमा छन्।

स्पेसएक्सले स्टारशिपको नयाँ संस्करण (भी३) परीक्षणको तयारी गरिरहेको छ जसमा नयाँ र्याप्टर ३ इन्जिन प्रयोग हुनेछ। अर्कोतर्फ ब्लु ओरिजिनको ब्लु मून अझै अन्तरिक्षमा उडेको छैन र यसको परीक्षण भइरहेको छ। यसको प्रक्षेपण न्यू ग्लेनमार्फत हुने योजना छ, तर हालैको प्राविधिक समस्याले समयतालिकामा असर पार्न सक्छ।

अर्को ठूलो चुनौती भनेको लाइफ सपोर्ट प्रणाली हो। अहिलेका दुवै ल्यान्डर मानव बस्न मिल्ने गरी तयार छैनन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२९ अघि मानवलाई चन्द्रमामा फर्काउने सम्भावना बारे “हामीसँग मौका छ” भनेका छन्। त्यसमा इसाकम्यानले पनि समर्थन जनाउँदै २०२७ मा आर्टेमिस ३प्रक्षेपण र २०२८ मा दुई सम्भावित अवसरमा चन्द्र अवतरण गर्ने योजना रहेको बताएका छन्।

तर प्राविधिक चुनौती, परीक्षणको आवश्यकता र समयसीमालाई हेर्दा २०२८ मै मानव अवतरण सम्भव हुन्छ कि हुँदैन भन्ने अझै अनिश्चित देखिने स्पेस डटकमले उल्लेख गरेको छ।

प्रकाशित: २१ बैशाख २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार