छपाई भइरहेको स्मार्ट लाइसेन्स सुरक्षित र अन्तराष्ट्रिय मापदण्डअनुसारको भएको सञ्चार मन्त्रालयको दाबी

  • Technology Khabar | ७ बैशाख २०८३, सोमबार
छपाई भइरहेको स्मार्ट लाइसेन्स सुरक्षित र अन्तराष्ट्रिय मापदण्डअनुसारको भएको सञ्चार मन्त्रालयको दाबी

काठमाडौं ।

सुरक्षण मुद्रण केन्द्रमार्फत छपाई भइरहेको स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सुरक्षित र अन्तराष्ट्रिय मापदण्डअनुसारको भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। मन्त्रालयले विज्ञप्ती जारी गर्दै यसको प्राविधिक पक्ष र सुरक्षा सुदृढीकरणका सम्बन्धमा उल्लेख गरेको हो।

मन्त्रालयकाअनुसार, हाल छपाई भएको नयाँ स्मार्ट सवारीचालक अनुमतिपत्र पूर्ण रूपमा अन्तर्राष्ट्रिय स्तरको आईएसण ७८१० आईडी-१ (ISO 7810 ID-1) गुणस्तरमा विश्वभर प्रचलित क्रेडिट कार्डको मानक आकारमा रहेको र विकसित मुलुकहरूले आफ्ना संवेदनशील परिचयपत्र र अनुमतिपत्रहरूमा दशकौँदेखि प्रयोग गर्दै आएको प्रविधिमा आधारित रहेको छ।

यस्तै, विगतमा प्रयोग गरिएको प्रणालीमा रहेको ‘स्मार्ट चिप’ को पूर्ण उपयोगका लागि कार्ड रिडर र अनलाइन-अफलाइन प्रमाणीकरण प्रणाली जस्ता आवश्यक राष्ट्रिय पूर्वाधार व्यवस्थित हुन नसक्दा चिपको व्यावहारिक उपयोगिता न्यून रहेको र विदेशी विज्ञको सहयोगमा निर्भर हुनुपर्दा सृजित जोखिम न्यूनिकरण गर्न हाल उच्च सुरक्षासहितको कोड इन्क्रिप्टेड, लेयर्ड र कपी प्रोटेक्टेड Intelligent QR (I-QR) प्रविधि अवलम्बन गरिएको जानकारी दिएको छ।

यसले अफलाइन प्रमाणीकरणलाई संस्थागत गरी ट्राफिक प्रहरी वा अन्य नियामक निकायहरूले कुनै पनि स्थानमा इन्टरनेटको पहुँच बिना नै कार्ड स्क्यान गरी सवारीचालकको पहिचान र आधिकारिकता तत्कालै पुष्टि गर्न सक्षम बनाएको सञ्चार मन्त्रालयको दाबी छ।

“सुरक्षण मुद्रण केन्द्रबाट उत्पादित नयाँ स्मार्ट अनुमतिपत्रमा ३९ वटा भिन्न-भिन्न सुरक्षण विशेषताहरू समावेश गरिएका छन् । यसको पहिलो तहमा साधारण आँखाले देख्न सकिने मेटालिक सिल्भर इंक, मेसिनले पढ्न सक्ने जोन (Machine Readable Zone – MRZ) र फोटोसँग जोडिएका विशेष सुरक्षण ढाँचाहरू छन्, दोस्रो तहमा विशेष उपकरणको सहायताले मात्र देखिने अदृश्य युभी मसी (UV Ink) र इन्फ्रारेड – एब्जोसन जस्ता सुरक्षा प्रणाली राखिएका छन् । त्यस्तै तेस्रो वा फोरेन्सिक तहमा भने प्रयोगशालामा मात्र परीक्षण गर्न सकिने उच्चतम सुरक्षा राखिएको Digital Signature”, “Proprietary Electro-Ink” समेत समावेश गरिएको छ। एक अर्कोसँग पुर्णतः भिन्न हुने यी सवारी चालक अनुमतीपत्रहरू अहिलेसम्म जारी भएको सबैभन्दा सुरक्षित र अत्याधुनिक अनुमतिपत्र भएको समेत जानकारी गराइन्छ,” विज्ञप्तीमा भनिएको छ।

सम्पूर्ण उत्पादन प्रक्रिया ‘ईन्ड-टु-ईन्ड अफलाइन’ ढाँचामा रहेको, तथ्यांक चुहावट हुने वा अनधिकृत व्यक्तिले विवरण प्राप्त गर्ने सम्भावना पूर्णतः नरहेको, क्युआर कोडको भ्यालिडिटी कार्डको अवधिसम्म सुनिश्चित रहेको, तुलनात्मक कम खर्चिलो प्रक्रियाबाट हालको प्रविधियुक्त छपाइ हुने भएकाले नेपाल सरकारको प्राथमिकता अनुसार नागरिकको व्यक्तिगत गोपनीयता र तथ्यांक सुरक्षा गर्न सक्षम प्रणाली रहेको समेत मन्त्रालय स्पष्ट पारेको छ।

नेपाललाई सुरक्षण मुद्रण दस्तावेज उत्पादनमा आत्मनिर्भर बनाउने दिशामा नेपाल सरकारको यस पहलकदमीले विदेशी मुद्राको बहिर्गमन रोक्ने, स्वदेशमै सुरक्षित रूपमा संवेदनशील कागजातहरू मुद्रण गर्न सक्ने क्षमता विकास भएको मन्त्रालयले स्पष्ट पारेको छ। यसका साथै भविष्यमा सरकारी संयन्त्रबाटै सवारीचालक अनुमतिपत्रका अलावा हुलाक टिकट, नागरिकता प्रमाणपत्र, अन्तःशुल्क स्टिकर, लालपुर्जा, भिसा स्टिकर, विश्वविद्यालयका प्रमाणपत्रहरू लगायतका सुरक्षण मुद्रण सामग्रीहरु समेत उत्पादन हुने सुनिश्चितता बढेको मन्त्रालयको ठहर छ।

यसैगरी छपाइ र वितरणका सम्बन्धमा कुनै पनि सुझाव वा जिज्ञासा भएमा मन्त्रालय सधैं खुला रहेको र सबै प्रकारका द्विविधाहरूलाई तथ्यका आधारमा स्पष्ट पार्ने समेत भनेको छ।

प्रकाशित: ७ बैशाख २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार