क्यान महासंघ अध्यक्ष सुनैना घिमिरे पाण्डेले लिखत किर्ते गरेर संचय कोषको टेन्डर हात पारेको आरोपसहित ललितपुर प्रहरीमा जाहेरी

  • Technology Khabar | २६ चैत्र २०८२, बिहीबार
क्यान महासंघ अध्यक्ष सुनैना घिमिरे पाण्डेले लिखत किर्ते गरेर संचय कोषको टेन्डर हात पारेको आरोपसहित ललितपुर प्रहरीमा जाहेरी
फाइल तस्बिर

काठमाडौं ।

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ) का अध्यक्ष सुनैना घिमिरे पाण्डेको विरुद्धमा सरकारी काजजात किर्ते गरेको आरोपमा जाहेरी दरखास्त परेको छ।

जनरल टेक्नोलोजी प्रा.लि तथा सो को प्रबन्ध सञ्चालक/निर्देशक तथा महासंघकी अध्यक्ष घिमिरेलाई सरकारी लिखत किर्ते गरि सरकारी टेण्डर हात पारेको सम्बन्धमा मुलुकी अपराध संहिता २०७४ को दफा २७६, २७७, २७८ अन्तर्गतको लिखत कसुरमा कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी परिसर जाउलाखेल, ललितपुरमा आज दरखास्त परेको हो।

क्यान महासंघको अध्यक्ष घिमिरेको विरुद्धमा महासंघका महासचिव चन्द्र विलास भुर्तेलले सरकारी कागज लिखत कसुरको छानविन गरी आवश्यक कार्यवाही गरिपाउँ भन्ने विषयमा जाहेरी दर्ता गरेका हुन्।

दर्ता नम्बर ७७९ रहेको र टेक्नोलोजीखबरले पाएको उजुरी पत्रमा कर्मचारी सञ्चय कोषको बोलपत्र नं. EPF/KS/GOOD/NCB/2080-81/DMS/01 को टेण्डर प्रकृ‌यामा भएको अनियमितता बारेमा उल्लेख गर्दै घिमिरेले सरकारी लिखत किर्ते गरि टेण्डर हात पारेको हुँदा मुलुकी अपराध संहिता २०७४ को दफा २७६, २७७, २७८ अन्तर्गतको लिखत कसुर भएको हुनाले उनलाई हदैसम्म‌को कार्यवाही गरिपाउन माग गरिएको छ।

उक्त निवेदनका साथमा निजसँग सम्बन्धित तथा कर्मचारी सञ्चय कोषमा पेश गरिएका आवश्यक कागजातहरू समेत संलग्न गरिएको उजुरीकर्ता भुर्तेलले टेक्नोलोजीखबरलाई जानकारी दिए।

क्यान महासंघ अध्यक्ष घिमिरेले आजै उच्च अदालत पाटनले रोक्न आदेश दिएको नेपाल उद्योग बाणिज्य महासंघको चुनावमासमेत उम्मेदवारी घोषणा गरेकी छन्। उनी महासंघहरुको तर्फबाट चुनावमा होमिएकी हुन्।

घिमिरेले महासंघको चुनावमा नरेशलाल श्रेष्ठको प्यानलबाट उम्मेद्वारी दिएकी छिन्।

प्रकाशित: २६ चैत्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार