
काठमाडौं ।
सरकारले वर्क फ्रम होमको अवधारणा लाई अगाडि बढाउँदै घरबाटै काम गर्न भनेको छ। अमेरिका इजरायल र इरान बिच बढ्दो तनावका कारण विश्वबजारमा इन्धन सङ्कट गहिरिनुका साथै इन्धनको मूल्यवृद्धि समेत आकाशिएको छ। यसैबीच सरकारले इन्धन खपतका लागि घरबाटै काम गर्न आग्रह गरेको हो।
मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले घरबाटै अफिसको काम गर्न आह्वान गरिन्।
केही सस्तोमा बिक्री गर्न भनेर पेट्रोल डिजेल मट्टीतेलमा लाग्दै आएको पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने र सोको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको समेत उनले जानकारी दिईन्।
मन्त्री रावलले भनिन्– ‘पेटोलियम पदार्थ खपत नियन्त्रण गर्नका लागि आइतबार सार्वजनिक बिदा, शैक्षिक संस्था वैशाख १५ बाट सुरु हुने, थोक बिक्री नियन्त्रण, उच्चपदस्थको इन्धन कोटा कटौती, गरिसकिएको छ । आवश्यक परे जोर विजोर लागु गरिने छ । सरकार जनतासँग वर्क फ्रम होम र विद्युतीय साधनहरूको प्रयोग बढाउन आग्रह गर्छ।’
सामान्य प्रशासनमन्त्री रावलका अनुसार पेट्रोलियम पदार्थमा सरकारलाई पछिल्लो १५ दिनमा मात्रै करिब रु ११ अर्ब ७२ करोड घाटा भइरहेको छ ।
इन्धन खपत घटाउन आइतबार पनि सार्वजनिक बिदा दिने, सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गर्न सकिने र इभी (विद्युतीय सवारी) तथा इथानोलको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अघि सारिएको उनले स्पष्ट पारिन्।
प्रकाशित: २४ चैत्र २०८२, मंगलवार