
काठमाडौं ।
५० वर्षभन्दा बढी समयपछि पहिलोपटक पृथ्वीबाट अन्तरिक्ष यात्रीहरू चन्द्रमातर्फ प्रक्षेपण भएका छन्।
नासाको सबैभन्दा शक्तिशाली रकेट स्पेस लन्च सिस्टमले हिजो (अप्रिल १) फ्लोरिडाको स्पेस कोस्टमा साँझको आकाश उज्यालो पार्दै चार अन्तरिक्ष यात्रीलाई चन्द्रमाको वरिपरि १० दिनको यात्रामा पठाउन सफल प्रक्षेपण गरेको हो।
ऐतिहासिक आर्टेमिस टू मिसन नासाको केनेडी स्पेस सेन्टरबाट साँझ ६:३५ बजे (पूर्वी समय) प्रक्षेपण गरिएको हो, जसले १९७२ मा अपोलो १७ पछि पहिलो पटक अन्तरिक्ष यात्रीलाई चन्द्रमातर्फ पठाउने यात्रा सुरु गरेको छ।
ओरायन अन्तरिक्षयानमा सवार चार जना आर्टेमिस टू का अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको नजिकबाट घुम्ने (फ्लाइबाइ) गर्नेछन्। उनीहरूले चन्द्रमामा अवतरण गर्ने वा कक्षमा घुम्ने छैनन्, तर यो मिसनले पृथ्वीको नजिकको कक्षभन्दा बाहिर मानवको पहुँच विस्तार गर्ने नासाको प्रयासमा महत्वपूर्ण मोड ल्याएको छ।
“र, प्रक्षेपण सफल! आर्टेमिस २ का टोली अब चन्द्रमातर्फ जाँदैछन्,” नासाका प्रवक्ता डेरोल नेलले प्रक्षेपण प्रसारणका क्रममा भने। “मानव जातिको अर्को ठूलो यात्रा सुरु भएको छ।”
स्पेस डटकमका अनुसार ओरायनको टोलीमा नासाका अन्तरिक्ष यात्री रिड वाइजम्यान (कमाण्डर), भिक्टर ग्लोभर (पाइलट), क्रिस्टिना कोच (मिसन विशेषज्ञ) र क्यानडाका अन्तरिक्ष यात्री जेरमी ह्यान्सेन (मिसन विशेषज्ञ) रहेका छन्। नासाका तीनै जना अन्तरिक्ष यात्री अनुभवी हुन् र उनीहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा लामो समय बिताएका छन्। ह्यान्सेन भने पहिलोपटक अन्तरिक्षमा जाँदैछन् र गहिरो अन्तरिक्षमा जाने पहिलो क्यानडेली बन्नेछन्।

“हामीसँग नासा र क्यानडियन स्पेस एजेन्सीबाट उत्कृष्ट टोली छ,” वाइजम्यानले प्रक्षेपणअघि भनेका थिए। “हामी धैर्यतापूर्वक अघि बढ्नेछौं र एकअर्कामा पूर्ण विश्वास राख्छौं।”
यो मिसन धेरै हिसाबले पहिलो हो। पहिलो पटक स्पेस लन्च सिस्टम र ओरायनले अन्तरिक्ष यात्री बोकेको हो। २१औँ शताब्दीमा पहिलोपटक अन्तरिक्ष यात्री चन्द्रमातर्फ पठाइएको हो।
आर्टेमिस टूले पहिलो महिला, पहिलो अश्वेत अन्तरिक्ष यात्री र पहिलो गैर-अमेरिकीलाई चन्द्रमातर्फ लैजाँदैछ। साथै, ओरायनले पहिलोपटक चन्द्रमाको वरिपरि प्रयोग हुने शौचालय पनि बोकेको छ।
क्रिस्टिना कोचले भनिन्, “यी सबै ‘पहिलो’ उपलब्धि महत्त्वपूर्ण भए पनि, यो कुनै एक व्यक्तिको मात्र सफलता होइन। यो यस्तो समय हो जहाँ सपना देख्ने सबैलाई समान अवसर मिलिरहेको छ।”
आर्टेमिस टूले पृथ्वीबाट अहिलेसम्मकै सबैभन्दा टाढा पुग्ने कीर्तिमान पनि बनाउनेछ। चन्द्रमाको टाढाको भाग हुँदै जाँदा अन्तरिक्ष यात्रीहरू पृथ्वीबाट ४०६,८४१ किलोमिटर टाढा पुग्नेछन्, जुन १९७० मा अपोलो १३ का अन्तरिक्ष यात्रीहरूले बनाएको रेकर्डभन्दा करिब ६,४०० किलोमिटर बढी हो। तर नासाका लागि यो दूरीभन्दा पनि यात्राका क्रममा गरिने अध्ययन बढी महत्वपूर्ण छ।
“हरेक मिसनले नयाँ कुरा सिक्नुपर्छ,” आर्टेमिस टूका फ्लाइट निर्देशक एमिली नेल्सनले भनिन्। “टाढा पुग्नु रमाइलो तथ्य हो, तर हामीले यस यात्रामा अझ धेरै महत्त्वपूर्ण कुरा सिक्नेछौं।”

आर्टेमिस टूको स्पेस लन्च सिस्टम केनेडी स्पेस सेन्टरको लन्च कम्प्लेक्स ३९बीबाट प्रक्षेपण भएको हो। प्रक्षेपण हेर्न ४ लाखभन्दा बढी मानिस फ्लोरिडाको स्पेस कोस्ट पुगेको अनुमान गरिएको छ।
प्रक्षेपणपछि करिब दुई मिनेटमा रकेटका दुई शक्तिशाली बुस्टर छुट्टिएका थिए र त्यसपछि मुख्य इन्जिनहरूले ओरायनलाई अन्तरिक्षतर्फ अघि बढाएका थिए। करिब आठ मिनेटमा रकेट कक्षमा पुगेको थियो। यो मिसन १९६८ को अपोलो ८ जस्तै चन्द्रमाको वरिपरि घुमेर फर्किने ‘फ्री-रिटर्न’ मार्गमा आधारित छ।
नासाले आर्टेमिस कार्यक्रममार्फत चन्द्रमामा पुनः मानव पठाउने दीर्घकालीन योजना अघि बढाएको छ। नासाका प्रशासक जारेड आइज्याकम्यानले हालै योजना परिमार्जन गर्दै २०२८ सम्म अन्तरिक्ष यात्रीलाई चन्द्रमामा अवतरण गराउने र २०३२ सम्म चन्द्र आधार निर्माण गर्ने लक्ष्य राखेको बताएका छन्।

यस योजनाको उद्देश्य ढिलाइ र समस्याले प्रभावित कार्यक्रमलाई तीव्र बनाउनु मात्र नभई अमेरिकाको अन्तरिक्ष क्षेत्रमा श्रेष्ठता देखाउनु पनि हो। चीनले २०३० सम्म आफ्ना अन्तरिक्ष यात्रीलाई चन्द्रमामा पठाउने लक्ष्य राखेको छ।
“हामी राष्ट्रपति ट्रम्पको कार्यकाल सकिनुअघि अमेरिकीहरूलाई चन्द्रमामा फर्काउनेछौं,” इसाकम्यानले मार्च २४ मा भने। “हाम्रो प्रतिस्पर्धीले २०३० अघि लक्ष्य राखेको छ। सफल र असफलबीचको अन्तर वर्षमा होइन, महिनामा मापन हुनेछ।”
नासाले २०२७ मा आर्टेमिस ३ मिसन सञ्चालन गर्ने योजना बनाएको छ, जसमा चन्द्र अवतरण यानसँग अन्तरिक्षमै भेट र जडान गर्ने अभ्यास गरिनेछ। स्पेसएक्सले स्टारशिप चन्द्र अवतरण यान बनाउँदैछ भने ब्लु ओरिजिनले ब्लु मुन डिजाइन गरिरहेको छ। २०२८ बाट आर्टेमिस ४ र ५ मार्फत चन्द्र अवतरण सुरु हुने र त्यसपछि नियमित उडानहरू जारी रहने योजना छ।
यदि ओरायनका प्रारम्भिक परीक्षण सफल भए भने, अर्को महत्वपूर्ण चरण ट्रान्स-लुनार इन्जेक्सन (टीएलआई) हुनेछ, जसले अन्तरिक्ष यात्रीलाई चन्द्रमातर्फ अन्तिम मार्गमा पठाउनेछ। ५४ वर्षपछि पहिलोपटक नासाले अन्तरिक्ष यात्रीलाई चन्द्रमातर्फ जान ‘अनुमति’ दिनेछ। अन्तरिक्ष यात्रीहरूका अनुसार चन्द्रमासम्मको यात्रा अझ टाढा, जस्तै मंगल ग्रहसम्म पुग्ने आधार हो।
“चन्द्रमा मंगलसम्म पुग्ने एउटा आधार हो, जहाँ विगतको जीवनको प्रमाण भेटिने सम्भावना बढी छ,” कोचले भनिन्। “चन्द्रमामा जाँदा धेरै वैज्ञानिक रहस्य खुल्न थाल्छन्, र यही नै त्यहाँ जानुको महत्वपूर्ण कारण हो।”
प्रकाशित: १९ चैत्र २०८२, बिहीबार