
काठमाडौं ।
राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पदबाट राजीनामा दिएका छन्। उनले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनासमक्ष राजीनामा दिएका हुन्।
देशको परिवर्तित राजनीतिक परिवेशलाई आत्मसात् गर्दै नवगठित सरकारलाई कार्य गर्न सहज होस् भन्ने उद्देश्यले आफूले नैतिकताका आधारमा राजीनामा दिएको कार्यकारी अध्यक्ष झाद्वारा पेस गरिएको राजीनामा पत्रमा उल्लेख छ।
“देशको परिवर्तित राजनीतिक परिवेशलाई मैले आत्मसात् गरेको छु। नवगठित सरकारले आफ्नो अनुकूलताका आधारमा कार्यसञ्चालन गर्नुपर्दछ भन्ने मान्यता राख्दै नैतिकताका दृष्टिले मार्गप्रशस्त गर्नु उचित हुने ठानी आजैका मितिदेखि लागू हुनेगरी पदबाट राजीनामा गर्दछु”, पत्रमा भनिएको छ ।
नयाँ सरकार गठन भएसँगै नीतिगत रूपमा अघि बढ्न बाटो खुला गर्न आफूले राजीनामा दिएको उनले जानकारी दिए।
विसं २०७९ असार ६ गते तत्कालीन सरकारले मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार झालाई चार वर्षका लागि कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो । रासस
प्रकाशित: १६ चैत्र २०८२, सोमबार