
काठमाडौं ।
सरकारले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई दिईने पुर्व प्रस्थान अभिमूखीकरण तालिम पाठ्यक्रममा आधारित श्रव्य दृश्य समाग्री निर्माण गरी डिजिटल मध्यममा उपलब्ध हुने व्यवस्था गर्ने भएको छ।
आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री दिपक कुमार साहको उपस्थितिमा बैठक बसी उक्त निर्णय गरिएको हो।
शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरु माथि छलफल गर्दै मन्त्री साहले श्रम तथा रोजगारको क्षेत्रलाई व्यवस्थित, मर्यादित एवम सुरक्षित बनाउन तथा श्रमिकको हकहीतको संरक्षण गर्न सरकारबाट स्वीकृत कार्यसूचीमा रहेका यस मन्त्रालयसँग सम्बन्धित विषयहरुमा तत्काल कार्ययोजना तयार गरी कार्यान्वयन गर्न निर्देशन दिएका छन्।
जसअनुसार मन्त्रालयले श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै श्रम स्वीकृति प्रदान हुने व्यवस्था गर्ने कार्य प्रारम्भ गरेको जनाएको छ।
यसैगरी पुर्व प्रस्थान अभिमूखीकरण तालिम पाठ्यक्रममा आधारित श्रव्य दृश्य समाग्री निर्माण गरी डिजिटल माध्यममा उपलब्ध हुने व्यवस्था गर्ने निर्णय गरेको छ भने पुर्व प्रस्थान अभिमूखीकरण तालिम (Pre Departure Orientation Training, PDOT) लाई पूर्णरुपमा अनलाईन प्रणालीमा आधारित बनाउने भएको छ।
यस्तै श्रमाधान योजनालाई आन्तरिकीकरण गर्दै श्रमाधान कल सेन्टरलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाउने निर्णय समेत गरेको उल्लेख छ।
मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको सुरक्षा, न्यून्तम ज्यालाको सुनिश्चितता, कार्यस्थल सुरक्षा, कर्यवातावरण र स्वास्थ्य सुरक्षाको अवस्था अध्ययन गरी वैदेशिक रोजगारीको न्यून्तम मापदण्ड तयार गर्ने, रोजगारी सिर्जनाका लागि सहयोग पुग्ने गरी सीप विकास तालिम प्रदान गरी रोजगारमा आवद्ध गर्ने अवसर सिर्जना गर्ने, सबै प्रदेशमा निजी क्षेत्रसँगको सहकार्यमा सीप मेला संचालन गर्न तयारी गर्ने, आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने, सेवा प्रवाहलाई सेवाग्राही मैत्री बनाउने, वैदेशिक रोजगारीका नाममा हुने गरेका ठगी नियन्त्रण गर्ने, सेवा प्रवाहलाई सूचनाप्रविधिमा आवद्ध गरी सेवाको लागत र समय घटाउनुपर्ने लागयतका विषयमा निर्देशन दिँदै तत्काल देहाएका विषयमा कार्यान्वयन कार्ययोजना बनाई कार्यान्यवन गर्न आवश्यक प्रकृया अगाडि बढाइएको जनाएको छ।
प्रकाशित: १५ चैत्र २०८२, आईतवार