
काठमाडौं ।
शाओमीले आधिकारिक रूपमा एमआईयूआई बन्द गरेको छ। एमआईयूआई समयसँगै विश्वको सबैभन्दा लोकप्रिय एन्ड्रोइड इन्टरफेसहरू मध्ये एक बनेको थियो र कुनै एक चरम सीमामा मासिक सक्रिय प्रयोगकर्ताहरूको संख्या ५० करोड भन्दा बढी पुगेका थिए।
हाइपरओएस प्रस्तुत गरेपछि शाओमीले लाखौं डिभाइसहरूलाई नयाँ अपरेटिङ सिस्टममा अपडेट गरेको थियो भने अन्य धेरैलाई इण्ड अफ लाइफ (ईओएल) मा पुगेका डिभाइसहरूको सूचीमा थप गरिएको थियो।
तर २०२६ भरि रेडमी ए२ र रेडमी ए२+ डिभाइसहरूले एमआईयूआई अपडेटहरू प्राप्त गर्न जारी राखेको उल्लेख गरिएको छ। ती दुई डिभाइसहरूले मुख्य अपडेटको रूपमा एन्ड्रोइड १३ प्राप्त गर्दै सुरक्षा अपडेटहरू र साना सुधारहरू प्राप्त गर्न जारी राखेको टेलिग्राफले रिपोर्ट गरेको छ।
ती दुई डिभाइसहरूको लागि अन्तिम अपडेट डिसेम्बरमा प्रस्तुत गरिएको थियो भने आधिकारिक वेबसाइटका अनुसार, समर्थन मार्च २४, २०२६ मा समाप्त भएको उल्लेख गरिएको छ। त्यससँगै, एमआईयूआई भएका नवीनतम डिभाइसहरूले पनि कुनै पनि प्रकारको सफ्टवेयर अपडेटहरू प्राप्त गर्न बन्द गरेको रिपोर्ट गरिएको छ।
यो कदमले अब एमआईयूआईको अन्तिम अन्त्यलाई संकेत गरेको छ भने यो मूल रूपमा अन्य निर्माताहरूबाट एन्ड्रोइड फोनहरूको लागि “कस्टम आरओएम” परियोजनाको रूपमा सुरु भएको थियो।
एन्ड्रोइड २.२ फ्रोयोमा आधारित यो शाओमीको पहिलो उत्पादन एमआईयूआई अगस्ट २०१० मा प्रस्तुत गरिएको थियो। त्यसैगरी पहिलो संस्करणहरू एन्ड्रोइड फोनहरूको लागि कस्टम आरओएम (रोम) को रूपमा वितरण गरिएको थियो।
शाओमीले हाइपरओएसमा किन स्विच गर्यो?
शाओमीले अक्टोबर २०२३ मा नयाँ अपरेटिङ सिस्टम हाइपरओएसले एमआईयूआईलाई प्रतिस्थापन गर्नेछ भनि आधिकारिक रूपमा घोषणा गरेको थियो। त्यसको केही दिन पछि शाओमी १४ लाई हाइपरओएस इन्स्टल भएको पहिलो फोनको रूपमा लन्च गरिएको थियो।
२०० भन्दा बढी उत्पादन कोटीहरू (फोनदेखि होम अप्लाइन्सहरू र कारहरू) मा करोडौं डिभाइसहरू जडान गर्न गाह्रो हुँदै गइरहेको हुनाले कम्पनीले यो निर्णय गरेको बताइएको छ।
यो कदमले एकीकृत विकास र डिभाइसहरू बीचको कनेक्सन एक्सपिरियन्समा समस्याहरू सिर्जना गरेको बताइएको छ। त्यसै कारणले गर्दा शाओमीले २०१४ देखि सबै डिभाइसहरूको लागि एकीकृत प्लेटफर्म सिर्जना गर्ने उद्देश्यले नयाँ प्रणाली विकास गर्न थालेको रिपोर्ट गरिएको छ।
प्रकाशित: १४ चैत्र २०८२, शनिबार