बालेन शाह नेतृत्वको सरकारमा डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्दै

  • Technology Khabar | १३ चैत्र २०८२, शुक्रबार
बालेन शाह नेतृत्वको सरकारमा डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्दै

काठमाडौं ।

बालेन शाहको नेतृत्वमा बन्ने सरकारमा डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्ने भएका छन्। उनी नुवाकोट १ बाट निर्वाचित सांसद हुन्।

डा. तिमिल्सिनाले रास्वपाको केन्द्रीय अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा कार्यरत रहँदै पार्टीभित्र निरन्तर उत्कृष्ट, जिम्मेवार र प्रभावकारी भूमिका निर्वाह गर्दै आएका छन्।

उनले अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट राजनीति, भूराजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि हासिल गरेका छन्। नेपालमा भारत, चीन र अमेरिकाको हस्तक्षेप र त्यसले नेपालको राजनीति र शान्तिप्रक्रियामा पारेको प्रभावबारे उनले आफ्नो विद्यावारिधीमा अनुसन्धान गरेका हुन्।

यसका साथै उनले युनिभर्सिटी अफ क्वीन्सल्याण्डबाट अन्तर्राष्ट्रिय अध्ययनमा स्नातकोत्तर तथा त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजीमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन्। उनका अध्ययन, अनुसन्धान र लेखनहरू राजनीति, शासन प्रणाली, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा केन्द्रित रहेका छन्।

डा. तिमिल्सिनाले एक दशक रेडियो सगरमाथामा कार्य गर्दै सार्वजनिक बहस र समसामयिक विषयमा जनचेतना अभिवृद्धि गर्ने काम गरेका थिए।

विदेशमा अध्ययन पूरा गरेर नेपाल फर्किएपछि उनले सन् २०२३ मा एशियन इन्स्टिच्युट फर एड्भान्स्ड रिसर्च स्थापना गरी अनुसन्धान र नीतिगत छलफलमार्फत देशको बौद्धिक र नीतिगत क्षेत्रमा योगदान दिँदै आएका छन्।

उनले निर्वाचनमा नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतलाई पराजित गरेका थिए।

प्रकाशित: १३ चैत्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार