
काठमाडौं ।
नासाले चन्द्रमामा अवतरण गतिविधि बढाउने र २०२८ सम्म परमाणु ऊर्जाबाट चल्ने अन्तरग्रहय अन्तरिक्षयान प्रक्षेपण गर्ने “लगभग असम्भव” योजना सार्वजनिक गरेको छ।
नयाँ आर्टेमिस प्रोग्रम परिवर्तनअन्तर्गत नासाको गेटवे नामक चन्द्र कक्षामा घुम्ने अन्तरिक्ष स्टेशन अर्को वर्ष प्रक्षेपण नहुने भएको छ, र यसको सट्टा करिब २० अर्ब डलर लागतको चन्द्र आधार निर्माणमा ध्यान केन्द्रित गरिनेछ।
नासा प्रशासक ज्यारेड इसाकम्यानले एक वक्तव्यमा भनेका छन्, “नासा फेरि एकपटक लगभग असम्भव लक्ष्य हासिल गर्न प्रतिबद्ध छ—राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल समाप्त हुनु अघि चन्द्रमामा फर्किने, चन्द्र आधार निर्माण गर्ने र अन्तरिक्षमा अमेरिकी नेतृत्व कायम राख्ने।”
इसाकम्यानले मंगलबार आयोजित “इग्निशन” नामक कार्यक्रममार्फत चन्द्र आधार मूनबेसको योजना सार्वजनिक गरेका हुन्। सोही कार्यक्रममा उनले “स्पेस रियाक्टर-१ फ्रीडम” नाम दिइएको विश्वकै पहिलो परमाणु ऊर्जाबाट चल्ने अन्तरग्रहीय अन्तरिक्षयान विकास गर्ने योजना पनि घोषणा गरे जसलाई नासा ले २०२८ मै मंगल ग्रहतर्फ पठाउने लक्ष्य राखेको छ।
यस घोषणासँगै नासा ले २०२८ मै दुई मानवसहितका चन्द्र अवतरण मिशन र नयाँ प्रकारको अन्तरिक्षयान प्रक्षेपण गर्ने लक्ष्य राखेको छ।
तर यस्तो समयतालिका निकै महत्वाकांक्षी मानिएको छ, किनभने यसअघि पनि चन्द्र कार्यक्रम ढिलाइ हुँदै आएको छ। सन् २०१९ मा नासा ले आर्टेमिस थ्री मार्फत २०२४ मा चन्द्र अवतरण गर्ने लक्ष्य राखेको थियो, तर २०२६ सम्म आइपुग्दा पनि पहिलो मानवसहितको चन्द्र परिक्रमा मिशन आर्टेमिस टू अझै प्रक्षेपण हुन सकेको छैन।
इसाकम्यान ले ढिलाइ र बढ्दो लागतका कारण अर्बौं डलर खर्चिएको भन्दै नासा छिटो अघि बढ्न खोजिरहेको बताए। उनले अमेरिका अन्तरिक्ष प्रतिस्पर्धामा पछाडि नपरोस् भन्ने चाहना पनि दोहोर्याए।
चीनले पनि २०३० अघि आफ्ना अन्तरिक्ष यात्रीलाई चन्द्रमामा पठाउने योजना बनाइरहेको छ र दुवै देशले चन्द्रमाको दक्षिण ध्रुव क्षेत्रलाई लक्ष्य बनाएका छन्।
इसाकम्यानका अनुसार नासाले रकेट संरचना मानकीकरण गर्ने, उद्योगसँग सहकार्य बढाउने र चन्द्र अभियानका लागि प्रक्षेपणहरू बढाउने योजना बनाएको छ।
लाइभसाइन्सका अनुसार इग्निशन कार्यक्रमभन्दा एक महिना अघि नासा ले आर्टेमिस कार्यक्रम पुनःसंरचना गर्ने घोषणा गरेको थियो। यसअनुसार आर्टेमिस थ्रीलाई २०२७ मा पृथ्वीको कक्षामा ओरायन क्याप्सुल र ल्यान्डरबीच डकिङ परीक्षणका लागि प्रयोग गरिनेछ।
आर्टेमिस IV र आर्टेमिस V ले २०२८ मा अन्तरिक्ष यात्रीलाई चन्द्र सतहमा लैजाने लक्ष्य राखेका छन्, जसमा आर्टेमिस V ले स्थायी चन्द्र आधारको आधार तयार गर्ने अपेक्षा गरिएको छ।
चन्द्र आधार तीन चरणमा निर्माण गरिनेछ—पहिलो चरणमा डिजाइन र प्रयोग, दोस्रो चरणमा आंशिक पूर्वाधार, र अन्तिम चरणमा स्थायी आधार स्थापना गरिनेछ।
नासा ले भविष्यमा प्रत्येक ६ महिनामा मानवसहित चन्द्र अभियान सञ्चालन गर्ने लक्ष्य पनि राखेको छ, जसका लागि पुनःप्रयोगयोग्य र व्यावसायिक प्रविधि प्रयोग गरिनेछ।
तर चन्द्र सतह गतिविधि बढाउने क्रममा गेटवे अन्तरिक्ष स्टेशनको योजना अनिश्चितकालका लागि स्थगित गरिएको छ। यस परियोजनामा युरोप, क्यानडा, जापान र संयुक्त अरब इमिरेट्सका अन्तरिक्ष निकायहरूको पनि सहयोग रहँदै आएको थियो।
चन्द्रमा नासा का लागि मंगल ग्रह र त्यसपछिका गहिरो अन्तरिक्ष अन्वेषणको आधारका रूपमा हेरिएको छ। नयाँ “स्पेस रियाक्टर-१ फ्रीडम” अन्तरिक्षयानले मंगल अभियानमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ, जसले मंगल सतह अन्वेषणका लागि साना हेलिकप्टरहरू पठाउने योजना पनि समावेश गरेको छ।
प्रकाशित: १३ चैत्र २०८२, शुक्रबार