यसरी बाहिरियो इलन मस्कले ट्विटर किन्ने सम्झौताबाट पछि हट्ने प्रयास गर्दा लगानीकर्तालाई गलत जानकारी दिएको तथ्य

  • Technology Khabar | ८ चैत्र २०८२, आईतवार
यसरी बाहिरियो इलन मस्कले ट्विटर किन्ने सम्झौताबाट पछि हट्ने प्रयास गर्दा लगानीकर्तालाई गलत जानकारी दिएको तथ्य

काठमाडौं ।

एलन मस्कले ट्विटर किन्ने सम्झौताबाट पछि हट्ने प्रयास गर्दा लगानीकर्तालाई गलत जानकारी दिएको भन्दै क्यालिफोर्नियाको एक नागरिक ज्यूरीले शुक्रबार फैसला गरेको छ।

ज्यूरीले २०२२ मा ४४ अर्ब डलरमा ट्विटर किन्न गरेको सम्झौताबाट पछि हट्ने प्रयास गर्दा मस्कले जानाजानी ट्विटरका लगानीकर्तालाई भ्रममा पारेको ठहर गरेको हो।

टेकक्रञ्चका अनुसार त्यस समयमा मस्कले ट्विटरमा धेरै बोट (नक्कली खाता) भएको बताएका थिए, जसका कारण उनले पछि सम्झौता तोड्ने प्रयास गरेका थिए। (पछि ट्विटरले सम्झौता पूरा गराउन मस्कविरुद्ध मुद्दा दायर गरेको थियो।)

“स्प्याम/नक्कली खाताहरू वास्तवमै प्रयोगकर्ताको ५ प्रतिशतभन्दा कम छन् भन्ने गणनालाई पुष्टि गर्ने विवरण नआएसम्म ट्विटर सम्झौता अस्थायी रूपमा रोकिनेछ,” मस्कले पछि आफूले एक्स नाम दिएको प्लेटफर्ममा लेखेका थिए।

मस्कले यो पोस्ट गरेपछि केही दिनमै ट्विटरको शेयर मूल्य ८ प्रतिशतले घटेको थियो। लगानीकर्ता ग्युजे पाम्पेनाले मे १३ (ट्वीट गरिएको दिन) देखि अक्टोबर ४ (सम्झौता पूरा भएको दिन) बीचमा शेयर बेचेका अन्य पूर्व ट्विटर लगानीकर्ताको तर्फबाट मस्कविरुद्ध मुद्दा दायर गरेका थिए।

पाम्पेनाको मुद्दामा मस्कले ट्विटरबारे आफ्नो चिन्ता व्यक्त गर्दै प्लेटफर्मको स्थिरताबारे अनिश्चितता सिर्जना गर्न र कृत्रिम रूपमा शेयर मूल्य घटाउन जानाजानी पोस्ट गरेको आरोप लगाइएको थियो, जसका कारण उक्त अवधिमा शेयर बेच्ने लगानीकर्ताले घाटा बेहोरेका थिए।

मस्कका वकिलहरूले भने उनले एपमा रहेका बोटहरूको संख्याबारे वास्तविक चिन्ता व्यक्त गरेको दावी गरेका थिए। तर ज्यूरीले मुद्दा दायर गर्ने पक्षको तर्कलाई बढी विश्वसनीय मानेको छ।

मस्कले पूर्व ट्विटर सेयरधनीलाई कति रकम तिर्नुपर्ने हो भन्ने अझै स्पष्ट छैन, तर पाम्पेनाका वकिलका अनुसार क्षतिपूर्ति २.६ अर्ब डलरसम्म पुग्न सक्छ। तर इलन मस्कका लागि यो ठूलो झट्का नहुन सक्छ, किनकि ब्लुमबर्गका अनुसार उनको कुल सम्पत्ति ६६० अर्ब डलरभन्दा बढी छ।

यो मस्कका लागि ट्वीटसम्बन्धी मुद्दामा अदालत पुग्ने पहिलो घटना भने होइन। २०१८ मा उनले टेस्लालाई प्रति शेयर ४२० डलरमा निजी बनाउने योजना रहेको भन्दै वित्तीय स्रोत सुनिश्चित भएको ट्वीट गरेका थिए।

त्यसको अर्थ उनले सार्वजनिक लगानीकर्ताको शेयर किनेर कम्पनीलाई स्टक एक्सचेन्जबाट हटाउने योजना बनाएका थिए। तर अमेरिकी नियामक सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिशनले ती पोस्टहरू भ्रमपूर्ण भएको आरोप लगाउँदै मस्कविरुद्ध सेक्युरिटिज ठगीको मुद्दा दायर गरेको थियो।

पछि मस्कले अदालतमा आफूले ठट्टा गरेको नभई वास्तवमै प्रति शेयर ४२० डलरमा टेस्लालाई निजी बनाउने विश्वास गरेको बताएका थिए, जुन त्यतिबेला टेस्लाको शेयर मूल्यभन्दा निकै उच्च थियो।

प्रकाशित: ८ चैत्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार