
काठमाडौं ।
अमेजनको डाटा सेन्टर इकाइ अमेजन डाटा सर्भिसेजले जर्ज वाशिङ्टन विश्वविद्यालयको भर्जिनियास्थित साइन्स एन्ड टेक्नोलोजी क्याम्पस ४२७ मिलियन डलरमा खरिद गर्ने भएको छ। विश्वविद्यालयले सोमबार उक्त जानकारी दिएको हो। यो खरिद कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधार विस्तारको तीव्र योजनाअन्तर्गत गरिएको हो।
क्याम्पसको विद्यार्थी पत्रिकाका अनुसार, सम्झौताले भर्जिनियाको एशबर्न क्षेत्रमा डाटा वा सूचना प्रविधि केन्द्र निर्माण गर्न अमेजनलाई अनुमति दिएको छ। अमेजनले भने यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
अमेजनले सन् २०२३ मा सन् २०४० सम्म भर्जिनियामा डाटा सेन्टर विस्तारका लागि ३५ अर्ब डलर लगानी गर्ने योजना सार्वजनिक गरेको थियो। यसअघि सन् २०१० देखि २०२० सम्म उत्तरी भर्जिनियामा डाटा सेन्टर निर्माणमा उसले ३५ अर्ब डलर खर्च गरिसकेको थियो।
रोयटर्सका अनुसार एआई सफ्टवेयर, कम्प्युटर चिप्स तथा अन्य पूर्वाधारको बढ्दो माग पूरा गर्न प्रविधि कम्पनीहरूको लगानी तीव्र रूपमा बढिरहेको छ। यस वर्ष मात्रै कम्पनीहरूले कम्तीमा ६३० अर्ब डलर लगानी प्रतिबद्धता जनाइसकेका छन्। तर केही लगानीकर्ताले एआई–केन्द्रित सम्भावित ‘बबल’ बढिरहेको चिन्ता व्यक्त गरेका छन्।
वाशिङ्टन डीसीमा मुख्यालय रहेको जर्ज वाशिङ्टन विश्वविद्यालयले उक्त सम्झौताअनुसार पाँच वर्षसम्म सो स्थलमा आफ्ना कार्यक्रम सञ्चालन गर्न पाउने विकल्प सुरक्षित राखेको जनाएको छ।
विश्वविद्यालयले यो बिक्रीलाई “दीर्घकालीन वित्तीय अवस्था सुदृढ गर्न तथा शैक्षिक उद्देश्य र समुदायमा थप लगानी गर्न तयार पारिएको व्यापक रणनीति” को हिस्सा भनेको छ। तर यसले विश्वविद्यालयमा देखिएको संरचनात्मक घाटाको मूल कारण समाधान नगरेको जनाएको छ।
गत वर्ष जीडब्लूयूले खर्च कटौतीका लागि केही कर्मचारी कटौती, यात्रा खर्च नियन्त्रण, पूँजीगत खर्च घटाउने तथा नेतृत्व टोलीको तलब अस्थायी रूपमा घटाउने जस्ता कदम चालेको थियो। वित्तीय समस्या समाधानका लागि विश्वविद्यालय अझै सानो आकारमा रूपान्तरण हुनुपर्ने सम्भावना रहेको पनि उसले उल्लेख गरेको छ।
प्रकाशित: १९ फाल्गुन २०८२, मंगलवार