सामसङ ग्यालेक्सी बड्स४ र बड्स४ प्रो सार्वजनिक: के के छन् विशेषता?

  • Technology Khabar | १४ फाल्गुन २०८२, बिहीबार
सामसङ ग्यालेक्सी बड्स४ र बड्स४ प्रो सार्वजनिक: के के छन् विशेषता?
तस्बिर: जीएसएएरिना

काठमाडौं ।

सामसङले नयाँ सामसङग्यालेक्सी एस२६ सिरिज सार्वजनिक गर्दै गर्दा अर्को पुस्ताका सामसङ ग्यालेक्सी बड्स४ र सामसङ ग्यालेक्सी बड्स४ प्रो पनि सार्वजनिक गरेको छ।

कम्पनीले आफ्ना प्रयोगकर्तामाझ सर्वेक्षण गर्दा ५८ प्रतिशत प्रयोगकर्ताले दैनिक रूपमा बड्स प्रयोग गर्ने र ध्वनि गुणस्तर नै सबैभन्दा ठूलो प्राथमिकता हुने पाइएको जनाएको छ।

धेरैजसोले एउटै हेडफोन सबै कामका लागि प्रयोग गर्ने भएकाले बड्स आरामदायी र सजिलै बोक्न मिल्ने हुनुपर्नेमा पनि जोड दिइएको छ।

जीएसएमएरिनाका अनुसार यी प्राथमिकतालाई ध्यानमा राख्दै नयाँ ग्यालेक्सी बड्स४ र बड्स४ प्रो को डिजाइन तयार गरिएको हो। बाहिरी भागबाट सुरु गर्दा, कम्पनीले केसलाई पुनःडिजाइन गरेको छ जसमा बड्सलाई सिधा (फ्ल्याट) राख्न मिल्ने बनाइएको छ, जसले निकाल्न र राख्न सजिलो बनाउँछ। पारदर्शी माथिल्लो भाग भने यथावत् राखिएको छ।

पहिलेका त्रिकोणाकार स्टेमको सट्टा यसपटक समथर (फ्ल्याट) स्टेम प्रयोग गरिएको छ, जुन ब्रस्ड मेटलबाट बनाइएको छ। टच सेन्सेटिभ भागलाई छामेर सजिलै चिन्ने गरी नक्काशी गरिएको छ। स्टेमले पिन्च र स्वाइप जेस्चरलाई समर्थन गर्छ।

ध्वनि गुणस्तरलाई प्राथमिकता दिँदै ग्यालेक्सी बड्स४ प्रो मा सुधारिएको टू-वे स्पिकर सिस्टम राखिएको छ जसमा ठूलो वूफर र ट्वीटर समावेश छन्। नयाँ स्पिकर बड्स३ प्रो भन्दा झन्डै २० प्रतिशत ठूलो रहेको कम्पनीले जनाएको छ। संगीत सुन्दा यी बड्सले २४-बिट ९६ किलोहर्ज हाई-फाई ध्वनि प्ले गर्न सक्छन्।

साधारण ग्यालेक्सी बड्स४ मा ओपन डिजाइन अपनाइएको छ, जसले लामो समय लगाउँदा बढी आरामदायी बनाउने अपेक्षा गरिएको छ। तर ओपन डिजाइनमा एक्टिभ न्वाइज क्यान्सेलेसन (एएनसी) अपेक्षाकृत कमजोर हुन सक्छ।

दुवै मोडेलमा इन्हान्स्ड एडाप्टिभ एएनसी दिइएको छ जसले केही ध्वनि घटाउने र केही बढाउने काम गर्छ। उदाहरणका लागि इन्जिनको आवाज घटाइन्छ भने साइरनको आवाज बढाइन्छ। साथै सुपर क्लियर कल फिचरमार्फत १६ किलोहर्ज अडियो उपलब्ध हुन्छ र शक्तिशाली न्वाइज रिडक्सनसहित स्पष्ट कल सुनिश्चित गरिन्छ।

ग्यालेक्सी बड्स४ कालो र सेतो रंगमा उपलब्ध हुनेछ भने बड्स४ प्रो मा अनलाइन विशेष रूपमा पिंक गोल्ड विकल्प पनि हुनेछ।

प्रकाशित: १४ फाल्गुन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार