काठमाडौं ।
फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा टिएम१ विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ।
एम ए डब्लु वृद्धि कमर्सियल भेइकल्स् प्राइभेट लिमिटेडअन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले विद्युतीय सवारीसाधन विस्तार गर्ने उद्देश्यसहित उक्त सवारीसाधन हस्तान्तरण गरेको हो।
‘टुगेदर टुवार्ड्स ग्रिनर फ्युचर’ नारासहित आयोजित हस्तान्तरण कार्यक्रमले दुवै संस्थाको वातावरणमैत्री यातायात प्रणालीको विकास र दिगो व्यावसायिक अभ्यासप्रतिको साझा प्रतिबद्धतालाई दर्शाएको छ। कम्पनीका अनुसार फोटोन टिएम१ विद्युतीय सवारीसाधन वातावरणमैत्री प्रविधि, सञ्चालन खर्चमा बचत र भरपर्दो कार्यक्षमताका कारण व्यावसायिक ढुवानीका लागि उपयोगी रहेको छ।
एम ए डब्लु वृद्धि कमर्सियल भेइकल्स् प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बरालले भाटभटेनी सुपरमार्केटसँगको सहकार्यले नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने बताए। उनले भने, ‘भाटभटेनीजस्तो लाखौँ नेपालीको विश्वास जित्न सफल संस्थासँग सहकार्य गर्न पाउँदा हामी खुसी छौँ। १४ वटा फोटोन टिएम१ विद्युतीय सवारीसाधनको हस्तान्तरण व्यवसायिक उपलब्धि मात्र नभई दिगो यातायातप्रतिको बढ्दो विश्वासको उदाहरण पनि हो।’
त्यसैगरी, कार्यक्रममा बोल्दै भाटभटेनी सुपरमार्केटका निर्देशक पहलमान गुरुङले वातावरणमैत्री व्यवसाय सञ्चालनलाई संस्थाले प्राथमिकतामा राख्दै आएको बताए। उनले फोटोन मोटर्ससँगको सहकार्यले दिगो ढुवानी प्रणाली विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यस्ता पहलले नेपालका अन्य व्यवसायलाई पनि विद्युतीय सवारीसाधनको प्रयोग गर्न प्रोत्साहित गर्ने जानकारी दिए।
प्रकाशित: १६ कार्तिक २०८३, सोमबार