काठमाडौं ।
फोर्डले नयाँ पुस्ताका कनेक्टेड कार सार्वजनिक गर्ने तयारी गरिरहेका बेला कम्पनीले ग्राहकको सवारीसाधनबाट संकलन हुने सूचना कसरी प्रयोग र सुरक्षित गर्छ भन्नेबारे सार्वजनिक प्रतिबद्धता जनाएको छ।
कम्पनीले सोमबार ‘प्राइभेसी प्रमिस’ अर्थात् गोपनीयतासम्बन्धी प्रतिबद्धता सार्वजनिक गरेको हो। यसलाई ग्राहकको सवारीसाधनसम्बन्धी डाटा सुरक्षित राख्ने र आफूले कुन सूचना साझा गर्ने भन्ने निर्णय गर्ने अधिकार ग्राहकलाई दिने स्पष्ट प्रतिबद्धताका रूपमा प्रस्तुत गरिएको छ।
टेकक्रञ्चका अनुसार फोर्डले ग्राहकलाई आफ्नो डाटा कसरी, कहाँ र किन प्रयोग गरिन्छ भन्नेबारे जानकारी दिन एउटा वेबसाइट पनि सार्वजनिक गरेको छ। उक्त वेबसाइटमार्फत ग्राहकले डाटा साझेदारीसम्बन्धी आफ्नो सेटिङ कसरी परिवर्तन गर्ने भन्ने जानकारीसमेत पाउन सक्नेछन्।
डाटा नियन्त्रण गर्ने यी सुविधा धेरै वर्षदेखि उपलब्ध भए पनि फोर्डले ग्राहकसँग यसबारे अझ स्पष्ट रूपमा जानकारी साझा गर्न चाहेको छ। विशेषगरी कम्पनीको आगामी ‘युनिभर्सल इलेक्ट्रिक भेहिकल’ प्लेटफर्ममा आधारित थप कनेक्टेड सवारीसाधन सार्वजनिक गर्नुअघि यस्तो पहल गरिएको हो।
फोर्डकी प्रमुख गोपनीयता अधिकारी क्रिस्टिन जोन्सले टेकक्रन्चसँगको अन्तर्वार्तामा भनिन्, “हामीले आफ्ना ग्राहकलाई डाटा प्रयोगसम्बन्धी हाम्रा अभ्यासबारे स्पष्ट जानकारी दिनु अत्यन्त महत्त्वपूर्ण छ भन्ने मलाई व्यक्तिगत रूपमा लाग्छ। त्यसका साथै हामीले यस विषयमा उनीहरूसँग प्रतिबद्धता पनि जनाउनुपर्छ। ग्राहकले आफ्नो डाटा कसरी साझा गरिरहेका छन् भन्नेबारे जानकारी दिनु पनि यो एउटा राम्रो अवसर हो।”
सवारी निर्माता कम्पनीहरूले आफ्ना कारलाई थप कनेक्टेड बनाउँदै लगेका बेला फोर्डले गोपनीयतासम्बन्धी यो नयाँ पहल अघि सारेको हो। केही सर्वेक्षणले अमेरिकी ग्राहकहरू रिमोट स्टार्ट, नेभिगेसन र चालक सहायता सफ्टवेयरजस्ता कनेक्टिभिटीमा आधारित सुविधा चाहने देखाएका छन्। तर आफ्नो सवारीसाधनले कस्तो डाटा संकलन गर्छ भन्ने कुरा पूर्ण रूपमा बुझ्ने ग्राहकको संख्या १४ प्रतिशत मात्रै रहेको छ।
ग्राहकमा डाटा संकलन र साझेदारीबारे पर्याप्त जानकारी नहुँदा केही कम्पनीलाई उनीहरूको डाटा तेस्रो पक्षलाई बिक्री गर्ने अवसर मिलेको छ। यही अभ्यासका कारण जनरल मोटर्स (जीएम) अमेरिकी संघीय व्यापार आयोग (एफटीसी) को कारबाहीमा परेको थियो। गत साता कम्पनीले ३६ राज्यसँगको मुद्दा मिलाउन २२ करोड अमेरिकी डलर तिर्ने सहमति पनि गरेको थियो।
ग्राहकमा डाटा संकलन र साझेदारीबारे जानकारीको कमीले अन्य कम्पनीलाई आफूहरू ग्राहकको डाटा सुरक्षित राख्न बढी जिम्मेवार रहेको दाबी गर्ने अवसरसमेत दिएको छ। जेफ बेजोसको समर्थन रहेको विद्युतीय सवारी स्टार्टअप स्लेट अटोले पनि यसैलाई आफ्नो विशेषताका रूपमा प्रस्तुत गर्दै आएको छ। कम्पनीले यस वर्षको अन्त्यतिर आफ्नो सामान्य डिजाइनको पिकअप ट्रक सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
जोन्सले भनिन्, “हामीले एक हजार उपभोक्तामा सर्वेक्षण गरेका थियौँ। तीमध्ये ९१ प्रतिशतले डाटा गोपनीयता आफ्नो निर्णयका लागि महत्त्वपूर्ण विषय भएको बताएका थिए। वास्तविकतामा उनीहरू हरेक दिन यस विषयमा चासो दिइरहेका हुँदैनन्। तर आफूहरूकै नियन्त्रणमा डाटा रहेको र आवश्यक सूचना प्राप्त गर्न सक्ने अवस्था होस् भन्ने उनीहरू चाहन्छन्।”
उनले थपिन्, “हाम्रा प्रतिस्पर्धीले के गरिरहेका छन् वा पछिल्लो समय समाचारमा आएका विषयबारे म टिप्पणी गर्न चाहन्नँ। तर मानिसहरू कम्पनीहरूले आफ्नो डाटा जिम्मेवारीपूर्वक सुरक्षित राख्छन् भन्नेमा विश्वास गर्न सकिरहेका छैनन्। त्यसैले हामी ग्राहकसँग विश्वासको सम्बन्ध निर्माण गर्न चाहन्छौँ।”
कानुनी, वित्तीय र स्वास्थ्य सेवा क्षेत्रमा करिब दुई दशकसम्म गोपनीयतासम्बन्धी काम गरेपछि सन् २०२४ मा फोर्डमा आबद्ध भएकी जोन्सका अनुसार ग्राहकसँग डाटा साझेदारीबारे सञ्चार गर्ने तरिका सुधार्ने प्रयास कम्पनीले लामो समयदेखि गर्दै आएको छ।
उनले भनिन्, “स्पष्ट रूपमा भन्नुपर्दा, म फोर्डमा आबद्ध भएदेखि नै यो एउटा निरन्तर प्रक्रियाका रूपमा अघि बढिरहेको छ।”
प्रकाशित: १७ कार्तिक २०८३, मंगलवार